संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहणको लागि हल व्यवस्थापनको भौतिक कार्य सम्पन्न गरेको हो । प्रतिनिधि सभाको सभाकक्ष समयमै निर्माण सम्पन्न हुन नसकेपछि बहुउद्देश्यीय हललाई नै अस्थायी संसदको बैठक सञ्चालनका लागि तयार गरिएको सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनकाअनुसार अधिकांश भौतिक पूर्वाधारका काम सकिएको र केही प्राविधिक पक्ष अझै बाँकी रहेको छ । सभाकक्षका सिटमा माइक्रोफोन जडानका काम भइरहेको र बुधवारसम्म पूरा हुने उनको भनाइ छ । दुई वटा सिटमा एउटा माईक्रोफोनको व्यवस्था गरिएको छ । उनले अन्य सुरक्षा व्यवस्थापनका कामहरु भने भइसकेको जानकारी दिए । उनले शपथ कार्यक्रम हुनुभन्दा केही घण्टा अघिसम्म व्यवस्थापनको कार्यहरु जारी रहने बताए।
उहाँले भने, प्रतिनिधि सभाको सभाकक्ष निर्माण सम्पन्न नभएको कारणले बहुउद्देश्यीय हलमा बैठकहरु बस्ने र सदस्यको शपथ गर्नेगरी विगत १ महिनादेखि हामीले तयारी गरिरहेका छौँ । सिटहरुको व्यवस्थापन भइसकेको छ । रोष्ट्रम, सभामुख, महासचिव, सचिवालय बस्ने ठाउँको पनि व्यवस्थापन गरिएको छ । केही कामहरु भने बाँकी छ, भौतिक पूर्वाधारका कामहरु सकिए पनि प्राविधिक पक्षहरुको केही काम भने बाँकी छ । अगाडी दुई वटा चियर बराबर एउटा माईक राखिएको छ, पछाडीतिर भने माईक व्यवस्थापनको थोरै काम बाँकी छ, त्यो भोलि बेलुकासम्म तयार हुन्छ । सुरक्षा व्यवस्थापनको काम पनि सकिएको छ, आवश्यक समन्वय भएको छ । निर्माणको काम शपथ लिनु भन्दा एक दुई घण्टा अगाडीसम्म चलिरहन्छ ।’
प्रवक्ता गिरीले हाल तयार गरिएको हलको सेटअप पूर्णरूपमा आपतकालीन प्रकृतिको भएको बताए । उनले कार्यव्यवस्था महाशाखा बहुउद्देश्यीय हलको पछाडि रहेको सानो कोठाबाट सञ्चालन हुने जानकारी दिए । कार्य परामर्श व्यवस्थापन समितिको हल पनि बहुउद्देश्यीय हलकै परिसरमा रहेको हलमा तयार पारिँदैछ । सभामुखका लागि हल पछाडितर्फ छुट्टै कोठाहरू व्यवस्थापन गरिएको उनले बताए । साथै हलको करिडोर र प्यासेजमा समेत अतिरिक्त बस्ने व्यवस्था मिलाउन लागिएको छ । उनले यहाँ व्यवस्थित सेवाहरू उपलब्ध नरहेको स्पष्ट पारे। उनकाअनुसार चैत १२ गते हुने शपथ कार्यक्रम यही हलमा आयोजना गरिनेछ । यसपटक २४ जना प्रतिनिधिसभा सदस्यले मातृभाषामा शपथ लिँदै छन् । शपथपछिको अतिरिक्त समयमा हललाई थप व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।
उनले भने, ‘यो इमर्जेन्सी सेटअपको रुपमा गरिएको हो, यहाँ व्यवस्थित रुपमा कुनैपनि सेवा उपलब्ध छैन, सामान्य इन्टरनेट सुविधा उपलब्ध छ । क्यान्टिन पनि सामान्य मात्रै उपलब्ध हुन्छ । कार्यव्यवस्था महाशाखा, शाखा हलसँगै भएको सानो कोठामा बस्छ, त्यहाँबाट कार्यसम्पादन गर्छ । कार्य परामर्श व्यवस्थापन समितिको हल पनि यही हलको पछाडि रहेको छ, त्यो सेटअप हुँदैछ । सभामुख बस्नको लागि हलको पछाडीपट्टी केही कोठाहरु व्यवस्थापन गरिएको छ । बाहिर प्यासेज, करिडोरमा पनि मेचहरु राखेर केही सेटअफ गरिँदैछ, त्यहाँपनि बस्न योग्य बनाउने तयारी छ, निर्माण कार्य भइरहेको छ । १२ गते सपथ यही हलमा हुन्छ, त्यसपछि बस्ने पहिलो बैठकसम्म केही समय खाली हुन्छ, त्यो समयमा हामी यसलाई थप व्यवस्थित बनाउँछौँ ।’
स्थायी सभाकक्ष तयार नभएसम्म प्रतिनिधि सभाका बैठकहरू यही बहुउद्देश्यीय हलबाट सञ्चालन हुनेछन् । संसद सभाकक्षको निर्माण कार्य जारी रहेपनि कहिलेसम्म तयार हुन्छ भन्नेबारे यकिन नभएको प्रवक्ता गिरीले बताए । प्रतिनिधि सभाको पहिलो अधिवेशन नै बहुउद्देश्यीय हलबाट नै हुने अवस्था रहेको संसद सचिवालयको भनाइ छ । उनले सिमित स्थानका कारण संसदको सभाकक्ष साँघुरो रहेको संसद सचिवालय बताउँछ । संसदको वेल सानो बनाइएको छ भने रोष्ट्रम, सभामुखको कुर्सी र सचिवालय बस्ने स्थान समेत साना र न्युनतम मापदण्डमा सिमित गरिएको छ । नयाँ संसद नबनेसम्म यसैमा कार्यसम्पादन गर्नुपर्ने बाध्याता रहेको उनले बताए ।
उनले भने, ‘प्रतिनिधि सभाको सभाकक्ष नबनेसम्म यही हलबाट सभा सञ्चालन हुन्छ, सभा हल कहिले बन्छ भनेर अहिले भन्न पनि सकिन्न, निर्माण कार्य जारी छ । सामान्यतया पहिलो अधिवेशन यही नै बित्ने जस्तो देखिन्छ । त्यहाँको कार्यप्रगति अनुभुत गर्ने गरेर अन्तिम पूर्णतातिर गएजस्तो छैन । पहिलो अधिवेशन यही बस्छ, यहाँको वेल अलि सानो छ, सभाकक्षको स्पेसको कारणले सानो भयो । संसदको डेकोरुमहरु पूरा गर्नलाई न्युनतम रुपमा मात्रै तयार गरिएको छ । रोष्ट्रम अलिकति उचाईमा हुनुपर्ने थियो, सभामुखको चियर पनि अलि ठुलो र व्यवस्थित नै हुन्थे तर यो पटक सानो छ । सचिवालय बस्ने साईड पनि सानो छ । यो सबै स्थानको सिमाले गर्दा भएको हो । जे जस्तो भएपनि अहिले यही हलबाट कार्यसम्पादन गर्नुपर्नेछ ।’
संसद सचिवालयले सरकारलाई संसद भवन निर्माण समयमा नै गर्नको लागि पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको उनको भनाई छ । उनले सरकारलाई निर्माणाधीन सम्पूर्ण १२ वटै भवन यथाशिघ्र सम्पन्न गरी उपलब्ध गराउन आग्रह समेत गरे । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी र तोडफोड हुँदा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बैठक सञ्चालनका लागि उपयुक्त छैन । सरकारले चैतको पहिलो साताभित्र सभाकक्ष उपलब्ध गराउने प्रतिवद्धता जनाए पनि सम्भव नभएपछि सचिवालयले बहुउद्देश्यीय हलमै संसद सञ्चालन गर्न बाध्य भएको प्रवक्ता गिरीले जानकारी दिए ।
उनले भने, ‘हामीले भदौ २३ र २४ को घटना भईसकेपछि नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाकक्षमा बैठक संचालनको लागि अब सम्भव छैन भन्ने निष्कर्षमा पुगे पछाडि नै अहिले यो बन्दै गरेको संसद भवनलाई शिघ्रता दिन वारम्वार हामीले अनुरोध गरेका थियौँ । तत्कालिन सभामुख, राष्ट्रिय सभा अध्यक्षले सम्बन्धित मन्त्रालय र नेपाल सरकारलाई पनि बारम्बार भेटेर चासो राख्नुभएको थियो । उहाँहरुले आफ्नो कार्यकक्षमा बोलाएर निर्देशन पनि दिनुभयो । सरकारले हामीलाई चैतको १ गते नभए पनि पहिलो हप्तामा प्रतिनिधिसभाको सभाकक्ष नै दिन्छु, भन्नुभयो । त्यो केही पनि सम्भव नदेखिएपछि हामी यो बहुउद्देश्यीय हललाई व्यवस्थापन गर्नतिर लागेका हौँ । हामी सरकारसंघ शिघ्र कार्यसम्पादनको लागि नियमित रुपमा समन्वय गरिरहेका छौँ । हामीलाई पनि यो हलभित्र बसेर बैठक सञ्चालन गर्दा धेरै नै जटिलता हुने महशुस गरेका छोँ । हामी अझै पनि शिघ्र रुपमा नेपाल सरकारले प्रतिनिधिसभाको सभा कक्ष मात्रै नभएर यहाँ निर्माण भईरहेको १२ वटै भवनहरु निर्माण सम्पन्न गरेर उपलब्ध गराउन अनुरोध गर्दछौ ।’
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद भवन निर्माण भइरहेको छ । २०७९ असोज १६ गते भित्र निर्माण गरिसक्ने गरी २०७६ असोज १६ मा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा तुन्दी–सेक जेभीले ठेक्का लिएको थियो । तर २०८२ फागुनसम्म आईसक्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । संसद भवन निर्माणको लागी पाँचौ पटक थपिएको म्याद पनि सकिइसकेको छ । संसद भवनको ‘रुफिङ’ को लागि छुट्टै चेनलिंक इन्जिनियरिङ कम्पनीले २०८० फागुन २७ गते ३ करोड ७९ लाख रुपैयाँमा ठेक्का लिएको थियो । यस्तै ‘इन्टेरियर’ को जिम्मा केसी–श्यामसुन्दर–बानियाँ जेभीले २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा दिएको थियो । यी सबैको ठेक्का सम्झौता सकिएको भएपनि काम पूरा हुन सकेको छैन ।