नेप्से सञ्चालक समितिको बुधबार साझ बसेको बैठकले धितोपत्र कारोबार विनियमावली संशोधनका लागि बोर्डमा पठाउने निर्णय गरेसँगै 'अफलाइन अर्डर' (आफ्टर मार्केट अर्डर–AMO) कार्यान्वयनको बाटो औपचारिक रूपमा खुलेको हो।
केही दिन अघिसम्म बोर्डले "निर्देशन दिइसकियो" भन्ने र नेप्सेले "स्पष्ट निर्देशन होइन, राय मात्र मागिएको हो" भन्दै एक–अर्कालाई आरोप लगाउँदै आएका थिए। तर, नेप्सेको बुधबार साँझको निर्णयले यो प्राविधिक र कानुनी गाँठो फुकाएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृतका अनुसार, अब कारोबार विनियमावलीमा आवश्यक परिमार्जन गरी स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाउने निर्णय भएको छ।
यस अघि सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पूँजी बजारमा संरचनात्मक सुधारका लागि अफलाइन अर्डर अनिवार्य रहेको बताउँदै नेप्सेलाई निर्देशन दिइसकेको दाबी गरेका थिए। तर, नेप्सेले स्पष्ट नीतिगत निर्णय र कार्यविधि बिना सफ्टवेयर परिवर्तन गर्न नमिल्ने भन्दै कार्यान्वयनमा ढिलाइ गर्दै आएको थियो। बुधवार बसेको सञ्चालक समितिको निर्णयले नेप्से अब यो व्यवस्था कार्यान्वयन गर्न पूर्ण रूपमा तयार देखिएको छ।
के हो 'अफलाइन अर्डर' र यसका फाइदा ?
साधारणतया शेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुल्छ। 'अफलाइन अर्डर' यस्तो सुविधा हो, जसमा लगानीकर्ताले बजार बन्द भएको समयमा (रातको समय वा बिहानै) पनि शेयर खरिद वा बिक्रीको आदेश प्रणालीमा राख्न सक्छन्। यो व्यवस्था कार्यान्वयनमा आएपछि विदेशमा रहेका नेपालीलाई सहज हुने छ। समयको भिन्नता (Time Zone) का कारण विदेशमा रहेका नेपालीलाई नेपालको बजार खुलेको समयमा कारोबार गर्न कठिन हुन्थ्यो। अब उनीहरूले आफ्नो अनुकूल समयमा अर्डर राख्न पाउनेछन्। कार्यालय समयमा व्यस्त रहने कर्मचारीहरूले अब बिहान वा बेलुका नै आफ्नो व्यापारिक योजना अनुसार अर्डर 'सेट' गर्न सक्नेछन्। बढीभन्दा बढी लगानीकर्ता सहभागी हुन पाउने भएपछि बजारमा शेयरको माग र आपूर्तिमा सन्तुलन आउनुका साथै कारोबार रकममा पनि वृद्धि हुनेछ।
नेप्से सञ्चालक समितिले विनियमावली संशोधनको निर्णय गरेपछि अब यसलाई स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइनेछ। बोर्डबाट विनियमावली स्वीकृत भएर आएपछि नेप्सेले आफ्नो कारोबार प्रणाली (TMS) मा आवश्यक प्राविधिक सुधार गर्नेछ। अध्यक्ष श्रेष्ठले आगामी २०८२ सालभित्रै इन्ट्राडे ट्रेडिङ र अफलाइन अर्डरजस्ता सुविधाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्। नेप्सेको पछिल्लो सक्रियताले यो लक्ष्य समयमै पूरा हुने र नेपाली शेयर बजार आधुनिक र लगानीमैत्री बन्ने दिशामा एक कदम अगाडि बढ्नेछ।