मार्जिन कारोबारकाे सुविधाबाट खर्ब बढी रकम शेयर बजारमा भित्रिने

Mar 26, 2026 05:58 PM Merolagani



मार्जिन कारोबारको सुविधा सुरु हुने भएपछि दोस्रो बजारमा ठूलो पैसा भित्रने भएको छ । ब्रोकरबाट मार्जिन कर्जा लिएर शेयर कारोबार गर्नेहरु बढ्दा बजार चलायमान हुने अपेक्षा गरिएको हो ।

नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गरेसँगै बजारमा लगानीकर्ताहरुको उत्साह बढेको हो । योसँगै ब्रोकरहरुले आफ्नै कार्यविधि बनाएर मार्जिन कारोबार सुरु गर्न सक्ने भएका हुन् । दोस्रो बजारका लगानीकर्ताहरु वर्षाैदेखि मार्जिन ट्रेडिङको प्रतिक्षामा थिए । नेप्सेले यो कार्यविधि ल्याएसँगै अब ब्रोकरहरू शेयर खरिदका लागि ऋण उपलब्ध गराउन सक्नेछन् ।

मार्जिन कारोबार सुरु हुने भएपछि पूँजी बजारमा खर्बौं रुपैयाँ नयाँ पैसा भित्रिने र बजार थप चलायमान हुने अपेक्षा गरिएको छ । मार्जिन कारोबारको सुरुवात शेयर बजारका लागि अत्यन्तै सकारात्मक हुने स्टक ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालले बताए । 'बजार अहिले सकारात्मक लयमा छ । बजार सूचक राम्रो कारोबार रकमसहित बढेको छ । यसले लगानीकर्ताहरुमा सकारात्मक माहोल सिर्जना गरेको छ । मार्जिन कर्जा मार्फत बजारमा एक खर्बभन्दा बढी पैसा थपिने छ । जसले बजारलाई थप चलायमान र सुदृढ बनाउने छ,' उनले भने ।

ब्रोकर मार्फत सुरु हुने मार्जिन कारोबारले लगानीकर्तालाई सहज बनाउने छ । जसले बजारमा शेयर खरिद बिक्री प्रक्रिया छिटो छरितो हुने र समग्र कारोबार रकम समेत बढाउने लगानीकर्ता रमेश ढुङ्गानाले बताए । ब्रोकरबाटै मार्जिन सुविधा उपलब्ध हुँदा बैंक तथा वित्तीय संस्थासम्म पहुँच पुग्न नसकेका साना लगानीकर्ताहरू लाभान्वित हुनेछन् । 'अहिलेसम्म बैंकबाट मात्र मार्जिन कर्जा लिने चलन थियो,जुन प्रक्रिया झन्झटिलो हुने गरेकाे थियो । साना लगानीकर्ताको पँहुचमा बैंक थिएनन् । अब ब्रोकरबाटै सुविधा पाउँदा दोस्रो बजारमा माग बढ्ने र यसले बजारलाई सकारात्मक दिशा दिने छ,' ढुङ्गानाले मेरोलगानीलाई भने ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशिका अनुसार, अब २० करोड रुपैयाँ चुक्ता पूँजी भएका र राफसाफ सदस्यता लिएका ब्रोकरहरूले यो सेवा दिन पाउनेछन् । लगानीकर्ताले आफूले किन्न चाहेको शेयरको ३० प्रतिशत रकम (प्रारम्भिक मार्जिन) बुझाउनु पर्नेछ भने बाँकी ७० प्रतिशतसम्मको ऋण ब्रोकरबाटै प्राप्त गर्न सक्ने भएका हुन् । तर नेप्सेमा सूचीकृत भएका सबै कम्पनीले यो सुविधाबाट कर्जा लिन सकिने छैन । जसमा कम्तीमा २५ लाख कित्ता शेयर सूचीकृत भएका, नेटवर्थ चुक्ता पूँजीभन्दा बढी भएका र पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेका कम्पनीको शेयरमा मात्र मार्जिन सुविधा उपलब्ध हुने निर्देशिकामा व्यवस्था गरिएको छ । मार्जिन कारोबार गर्न सकिने कम्पनीहरुको सूची नेप्सेले सार्वजनिक गर्नेछ ।

धितोपत्र बोर्डले गत फागुन १ गते नै निर्देशिका लागु गरे पनि नेप्सेको आन्तरिक कार्यविधि नबन्दा यो सेवा ठप्प थियो । यस्तो कारोबार गराउन प्राविधिक व्यवस्था मिलाएर मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्ने प्रक्रिया अगाडि बढाउने ब्रोकरहरुले बताएका छन् ।

बैंकको ब्याजदर घट्दो क्रममा रहेको, नयाँ सरकार र नीतिगत सुधारका प्रयासहरू भइरहेको वर्तमान अवस्थामा मार्जिन कारोबारको सुरुवातलाई शेयर बजार सुधारको एउटा कोशेढुङ्गा मानिएको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।