आइतबार नेप्से परिसूचक ७१.०५ अंक घटेर २८७९.११ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १२.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६० अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १३ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको १ लाख ९६ हजार १५८ पटकको कारोबारमा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँबराबरको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन आधा दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकर भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६.१७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ४८ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ३ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।