पिपुल्स हाइड्रोपावरको व्यावसायीक फड्कोः ५४ मेगावाटको सफलतादेखि नयाँ आयोजनाको लक्ष्यसम्म

Apr 05, 2026 02:04 PM Merolagani



हरिप्रसाद शर्मा

नेपालको जलविद्युत क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्दो छ । यही भीडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL)


लमजुङको दोर्दी खोलाको पानीलाई उपयोग गरी ५४ मेगावाटको ’सुपर दोर्दी जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरेर व्यवासयीक रुपमा कम्पनीले विद्युत् उत्पादन गर्दै आएको हो । यो जनस्तरबाट निर्मित बिशाल आयोजना हो । किनकी, यसमा कुनै दुई–चार जना व्यक्तिहरूको लगानीमा मात्र सीमित छैन ।

कम्पनीका प्रबन्ध सञ्चालक केशव बहादुर रायमाझीका अनुसार, यो एक ’मास बेस्ड’ (जनस्तरमा आधारित) कम्पनी हो । यसमा करिब २ हजार ४०० प्रमोटर शेयरधनीहरू रहेका छन् । बरुण हाइड्रोको सफलतापछि हौसिएको यो समूहले पिपुल्स हाइड्रोपावरमार्फत जलविद्युत क्षेत्रमा ठूलो लगानी भित्र्याएको हो ।

पहिलो पूर्ण भूमिगत निजी आयोजना

५४ मेगावाटको सुपर दोर्दी आयोजनाको सबैभन्दा ठूलो विशेषता यसको ’इन्जिनियरिङ’ हो । यो नेपालकै पहिलो यस्तो निजी आयोजना हो, जो पूर्ण रूपमा भूमिगत छ । सुरुङ (इन्टेक) देखि पावर हाउस (टेलरेस) सम्मका सबै संरचना जमिनमुनि रहेका छन् । ‘यसले गर्दा आयोजना बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपत्तिबाट पूर्ण रूपमा सुरक्षित छ,’ रायमाझीले भने । आयोजनामा युरोपेली प्रविधिको इलेक्ट्रोमेकानिकल उपकरणहरू प्रयोग गरिएको छ, जसले गर्दा उत्पादन क्षमता र दक्षता उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।

वि.सं. २०७२ सालदेखि निर्माण सुरु भएको यस आयोजनाले २०८० जेठ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । यद्यपि, प्रसारण लाइनको समस्याका कारण नेपाल विद्युत प्राधिकरण (एनईए) सँग भएको ’कन्टिन्जेन्सी प्लान’ले कम्पनीको आम्दानीमा भने केही धक्का लागेको जनाएको छ ।

प्राधिकरणले आवश्यक परेको बेला मात्र बिजुली लिने प्रावधानका कारण बर्खायाममा उत्पादित सबै बिजुली बिक्री हुन सकेको छैन । यसले गर्दा कम्पनीले अहिलेसम्म करिब १ अर्ब ७० देखि ७५ करोड रुपैयाँ बराबरको सम्भावित आम्दानी गुमाउनु परेको छ । तर, मार्किनचोक–भरतपुर ट्रान्समिसन लाइन यसै आर्थिक वर्षभित्र सम्पन्न हुने र आगामी असारदेखि यो समस्या हटेर कम्पनीको आम्दानीमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको रायमाझी बताउँछन् । 'सुरुदेखि अहिलेसम्मको हेर्दाखेरि १ अर्ब ७०–७५ करोड चाहिँ हाम्रो नोक्सान भएको अवस्था छ । त्यसले गर्दाखेरि हामी घाटामै छौं । घाटा नै नभए पनि नाफा बाँड्न सकिएको छैन । र यो कन्टिन्जेन्सी प्लान चाहिँ हाम्रो निकट भविष्यमा नै हट्ने अवस्थामा छ,’ उनले भने, ‘त्यो भनेको चाहिँ यो मार्किनचोक भरतपुरसम्मको ट्रान्समिसन लाइन निर्माण सम्पन्न भएपछि चाहिँ हट्ने भनेको छ । त्यो ट्रान्समिसन लाइन चाहिँ यही आर्थिक वर्षभित्र सम्पन्न हुँदैछ । त्यसपछि चाहिँ पूर्ण रूपमा यो असारदेखि चाहिँ हाम्रो पूर्ण रूपमा एनईएले लिन्छ र त्यो कन्टिन्जेन्सी हट्छ । त्यसपछाडि कम्पनीको आम्दानी चाहिँ राम्रो हुने देखिन्छ ।’

भविष्यको योजनाः नयाँ आयोजना र लगानी

पिपुल्स हाइड्रोपावर केवल एउटा आयोजनामा मात्र सीमित छैन । कम्पनीले लमजुङमै अर्को ५७ मेगावाटको ’हिमचुली दोर्दी जलविद्युत आयोजना’ अगाडि बढाएको छ । यसको अध्ययन र अनुमतिपत्रको काम सकिइसकेको छ ।

त्यस्तै, आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) को पर्खाइमा रहेको छ । यसका साथै कम्पनीले 'अप्पर हेवा खोला जलविद्युत आयोजना’मा पनि ५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

‘पिपुल्स हाइड्रोपावरले अप्पर हेवा खोला जलविद्युत आयोजनामा ५ करोडको लगानी गरेको छ । र, अर्को चाहिँ त्यही नै हो हिमचुली दोर्दी, दुईटामा हाम्रो स्टेक छ,’ उनले भने ।

वित्तीय रणनीति र शेयरधनीलाई लाभांशको आशा

कम्पनीले आगामी आर्थिक वर्ष २०८१/८२ को साधारण सभाबाट १ः१ (शतप्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । हकप्रदबाट संकलित रकम आयोजनाको ऋण तिर्न प्रयोग गरिनेछ । ‘ऋणको आकार घटेपछि ब्याज खर्च जोगिनेछ र आगामी वर्षदेखि हामी शेयरधनीहरूलाई लाभांश बाँड्न सक्ने अवस्थामा पुग्नेछौं,’ रायमाझीले मेरो लगानीसँग भने ।

पिपुल्स हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५ करोड ६१ लाख रुपैयाँ नोक्सानीमा थियो। विद्युत बिक्री आम्दानी र अन्य आम्दानी बढेका कारण कम्पनी नाफामा पुगेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५७ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ३७ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियाे। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३१ करोड १४ लाख रुपैयाँबाट बढेर ३६ करोड १५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २४ करोड ८६ लाख रुपैयाँबाट बढेर ३१ करोड ४१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३ लाख १६ हजार रुपैयाँ रहेको अन्य आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १९ पैसा रहेको छ।

नेतृत्व र व्यवस्थापनमा को–को ?

कम्पनीको नेतृत्व अनुभवी समूहले गरिरहेको छ । अध्यक्षमा उदय नेपाली श्रेष्ठ र प्रबन्ध सञ्चालकमा केशवबहादुर रायमाझी रहेका छन् भने आयोजनालाई प्राविधिक रूपमा सफल बनाउन प्रोजेक्ट डाइरेक्टर अर्जुनप्रसाद गौतमको मुख्य भूमिका रहेको छ । ७ सदस्यीय सञ्चालक समितिले कम्पनीलाई व्यवसायिक ढङ्गले अगाडि बढाइरहेको छ ।

प्रसारण लाइनको केही प्राविधिक समस्याका बाबजुद पिपुल्स हाइड्रोपावरले नेपालको ऊर्जा क्षेत्रमा दरिलो उपस्थिति जनाएको छ । पूर्ण भूमिगत संरचना, नयाँ आयोजनाहरूको पाइपलाइन र ऋण व्यवस्थापनको स्पष्ट योजनाले गर्दा आगामी दिनमा यो कम्पनी लगानीकर्ताहरूका लागि एक सुरक्षित र आकर्षक गन्तव्य बन्ने देखिन्छ ।

( कम्पनी इन्साइट्समा कुनै सूचीकृत कम्पनीकाे बारेमा जानकारी दिन चाहानुहुन्छ भने मेराे लगानीमा सम्पर्क गर्न सक्नुहुनेछ । कम्पनीकाे अवस्था बिश्लेषण गरेर क्रमश: प्रकाशित गर्नेछाै - सम्पादक)




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।