आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिइन् । सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था अझै नभएको भन्दै सरकारको आलोचना समेत गरिन् ।
उनले भनिन, ‘झन्डै तीन महिना भइसकेको छ । हामी सबैले भोगेका छौँ । अहिले ग्याँसको अत्यन्तै हाहाकार छ । हुनत विश्वका धेरे मुलुकहरुमा यो समस्या आएको छ । तर पनि अहिले यसको विकल्प विद्युतीय चुल्हो भनिएता पनि सानो परिवारलाई मात्रै त्यो ठिक हुने । तर धेरै परिवार वृद्ध, केटाकेटीहरुको ठाउँमा त्यो समस्या भएको छ । र, अहिले १५ दिन लाईनमा बस्नुपर्ने र त्यसो गर्दा पनि ग्याँस नपाइने अवस्था छ । यसको उचित व्यवस्था मिलाउन म सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । र सरकारले जनतालाई पैसा तिरेपछि त्यसको सेवा पनि उपलब्ध होस भन्न चाहन्छु ।’
सांसद राईले विद्युतीय चुल्होले पनि ठूलो परिवारको समस्या नटर्ने अवस्था देखिएकाले पनि सरकारले खाना पकाउने ग्याँसको आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन् ।