शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्य कक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । उनले सभामुखको पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई आफूले गहिरोसँग बुझेको बताए ।
सभामुख अर्यालले अहिलेको संसद २०८२ को विशेष निर्वाचनको म्याण्डेटबाट आएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ भएको बताए । सभामुख अर्यालले सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पारे । प्रतिपक्षमा एक जना मात्र सदस्य भएपनि उहाँहरू पावरफुल हुने भन्दै उनले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र बैठान गर्न आफू लागिपर्ने बताए ।
उनले भने, ‘यस पटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ । म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ—यस पटकको बलियो प्रतिपक्ष नागरिक नै हुन् ।’
मिडिया र आम नागरिकलाई विशेष अनुरोध गर्दै सभामुखले समाजमा सकारात्मक ऊर्जा फैलाउन आग्रह गरे । समाज निर्माणका लागि यो अनिवार्य रहेको उनको तर्क थियो ।
‘वर्षौँदेखि हामीले मिडियामा सकारात्मक समाचार पढ्न पाएका छैनौँ,’ उनले भने, ‘संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध छ—कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ ।’
प्रतिनिधि सभाको मुख्य काम कानून बनाउनु रहेको उल्लेख गर्दै उनले सरकारलाई नीति–नियम बनाउन सहयोग गर्ने र कानुन निर्माणमा अग्रसर हुने बताए।
भौतिक संरचना निर्माणलाई ठूलो विषय नबनाउन आग्रह गर्दै उनले भने, ‘विश्वमा ध्वस्त भएका संरचनाहरू छिट्टै उठेका इतिहास छन् । हामी पनि छिट्टै संरचना बनाउन सक्छौँ, तर मुख्य कुरा कानून र नीति हो ।’
विगतका दुःखद घटनाहरू (भदौ २३ जस्ता) फेरि नदोहोरिउन् र ‘जेनजी’ पुस्ताका छोराछोरीले आहुति दिनु नपरोस् भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको समन्वयका साथै तीनै तहका सरकार र दुई सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बीच राष्ट्रियता र जनताको हितमा बहस चलाइने उनले उल्लेख गरे ।
‘हामी राष्ट्र र जनताका लागि काम गर्दैछौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण नै हुँदैन, त्यसैले समन्वयमा गाह्रो होला जस्तो मलाई लाग्दैन,’ उनले थपे ।
पत्रकारहरूलाई सम्मानजनक सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सभामुख अर्यालले समस्या मात्र नथुपारी समाधानका लिखित प्रस्तावहरू लिएर आउन आग्रह गरे । उनले आफ्नो अनुभव र कार्यशैलीबाट सदनमा देखिने गरी परिवर्तन ल्याउने दाबी गर्दै त्यसका लागि केही समय पर्खिदिन आग्रह गरे ।