जेनजी आन्दोलन प्रतिवेदनको आधारमा पूर्वप्रधानमन्त्री केपीशर्मा ओली, पूर्वगृह मन्त्री रमेश लेखक, पूर्वऊर्जा मन्त्री दीपक खड्का समातिए भने पछिल्लो समय दीपक भट्ट, शंकरलाल अग्रवाल, सुलभ अग्रवालजस्ता व्यवसायीहरुलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धानको क्रममा समातिएपछि शेयर बजारका लगानीकर्तामा समेत प्यानिक सेलिङ देखिएको हो ।
पछिल्लो समय टप ब्रोकरहरुले पनि ‘बाइङ’लाई भन्दा बढी ‘सेलिङ’लाई जोड दिन थालेको ब्रोकरको खरिद बिक्री विश्लेषणमा देखिन्छ । नेप्सेमा पछिल्लो समय सक्रिय रहेका टप १० ब्रोकर कम्पनीहरूको कारोबार विवरणले बजारमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताले बिक्री रणनीति नै लिएको देखिन आएको छ । प्राप्त तथ्यांकअनुसार, शीर्ष १० ब्रोकरहरूले गरेको कुल कारोबारमा खरिदको तुलनामा बिक्री चाप बढी देखिएको छ। यसले बजारमा लगानीकर्ताहरूले तत्कालको नाफा सुरक्षित गर्न पोर्टफोलियो व्यवस्थापन गर्न खोजेको संकेत गर्दछ।
कारोबार रकमका आधारमा हेर्दा नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) समग्र बजारको नेतृत्व गरिरहेको छ। ५८ एक्लैले १ अर्ब ५६ करोड ९० लाख ५५ हजार ८२९ रुपैयाँ बराबरको कुल कारोबार गर्दा ७७ करोड ४१ लाखको खरिद र ७९ करोड ४९ लाखको बिक्री भएको छ। यहाँ खरिद भन्दा २ करोड भन्दा बढीले बिक्री भएको छ ।
त्यस्तै, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) दोस्रो स्थानमा रहँदै १ अर्ब ९ करोड २९ लाख रुपैयाँको कारोबार गरेको छ। अर्ब क्लबमा छिर्न सफल अर्का दुई कम्पनीहरूमा सुमेरु सेक्युरिटिज (१ अर्ब ६ करोड २३ लाख) र सनी सेक्युरिटिज (१ अर्ब ४ करोड १६ लाख) रहेका छन्। यी चार कम्पनीहरूले नै बजारको ठूलो हिस्सा ओगटेका छन्।
बजारको सुक्ष्म विश्लेषण गर्दा १० मध्ये ८ वटा ब्रोकरहरूमा ‘नेगेटिभ डिफरेन्स’ अर्थात् खरिदभन्दा बिक्रीको चाप बढी देखिएको छ।
तर श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८) मार्फत १९ करोड २१ लाखको खरिद हुँदा ५२ करोड ५२ लाखको बिक्री भएको छ। यसको अर्थ यहाँका लगानीकर्ताले खरिद गरेको भन्दा ३३ करोड ३० लाख रुपैयाँ बढीको सेयर बिक्री गरेका छन्। त्यस्तै भिजन, त्रिशक्ति, सानी, इम्पेरियल र अनलाइन सेक्युरिटिजमा पनि खरिदको तुलनामा बिक्रीको परिमाण धेरै छ।
यसको विपरित, केही ब्रोकरहरूमा भने खरिदकर्ताहरू बढी उत्साही देखिएका छन्। सुमेरु सेक्युरिटिज (ब्रोकर नं. ३९) मार्फत ६ करोड ७१ लाख रुपैयाँ बढीको सेयर खरिद भएको छ भने एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) मार्फत ८ करोड ८८ लाख रुपैयाँ बढीको खरिद भएको छ। यी दुई ब्रोकरमा देखिएको खरिद चापले बजारमा अझै पनि केही समूहहरू न्यून मूल्यमा शेयर उठाउन सक्रिय रहेको देखाउँछ।
समग्रमा, शीर्ष १० ब्रोकरको तथ्याङ्कले बजारमा ठूलो पुँजी परिचालन भइरहेको देखाए पनि लगानीकर्ताहरूमा केही सावधानी अपनाएको देखिन्छ। म्याचिङ रकमको आधारमा नासा र सुमेरु अग्रस्थानमा हुनुले यी ब्रोकरहरूमा आन्तरिक रूपमा शेयरको हस्तान्तरण तीव्र भएको बुझिन्छ। बजारको यो प्रवृत्तिले आगामी दिनमा सूचक कुन दिशामा जान्छ भन्ने कुरा ठूला ब्रोकरहरूको खरिद–बिक्री व्यवहारले अझ प्रस्ट पार्ने देखिन्छ।