राजनितिक रुपमा सरकारमा को आउँछ र को जान्छ भन्ने कुराले सेयर बजारमा तलमाथि हुन्छ भन्ने कुरामा म सहमत हुन सक्दिन । सैद्धान्तिक रुपमा बाम गठबन्धनको सरकार आउँदा राजनैतिक स्थायित्व हुन्छ, र अार्थिक वृद्दिदर कायम गर्न सकिन्छ भन्ने सन्देश जानुपर्ने हो । बामगठबन्धन नेपाली जनताप्रति उत्तरदायी भएर जिम्मेवारी लिन आएको छ । त्यसैले उनीहरुले जनताको चाहाना बमोजिम काम गर्नुपर्छ ।
यसरी गरिएको लगानी मात्र सुरक्षित हुन्छ । लगानी सुरक्षित रहँदा मात्र मान्छे मार्केटमा टिक्न सक्छन, होईन भने लहै लहैमा लागेर सेयर किन्नेहरु डुव्छन। बाढी आएपछि माछा छोप्न पाईन्छ भनेर लगानी गर्नेहरु भने बाढीमा बग्न पनि सक्छन् ।
स्थायी सरकार हुने भएपछि लगानीकर्ताहरु ढुक्क हुनुपर्ने हो, तर, त्यसो किन हुन सकिरहेको छैन भन्दा बजारमा चलखेल गर्नेहरु धेरै छन् । अहिले पनि बजारमा फलानो मन्त्री आए मालामाल हुने, फलाना आए खत्तम हुने आदि चर्चा हुने गर्छ । सेयर बजार बहानाहरु राखेर लगानी गर्ने ठाँउ होईन ।
राजनैतिक परिदृष्यले मात्र सेयरबजार चल्छ भन्न थालियो भन्यो त्यो जनताहरुलाई भ्रम छर्ने काम मात्र हुन्छ । नेपालको सेयरबजार आर्थिक सूचकहरुले परिभाषित गर्ने दिशामा रहनुपर्छ ।
(पूर्व गभर्नर तथा अर्थविद दीपेन्द्र बहादुर क्षेत्रीसँग गरिएको कुराकानीमा आधारित )