अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि प्रस्थान अनुमति प्रक्रियाका सम्बन्धमा स्पष्ट पार्दै कुनै पनि थप बिल वा रसिद पेश गर्नुपर्ने अनिवार्य व्यवस्था नरहेको जनाएको छ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकहरूले बिल-रसिद जस्ता थप कागजात देखाउनुपर्ने भन्ने समाचार र सूचनाका कारण सर्वसाधारणमा अन्यौलता उत्पन्न भएपछि विभागले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो।
अध्यागमन विभागका अनुसार, वैदेशिक रोजगारीका सिलसिलामा बाहिर जाने श्रमिकहरूले वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानी (पासपोर्ट) जस्ता न्यूनतम आधारभूत कागजातहरू मात्र पेश गरे पुग्नेछ। यसबाहेक अन्य कुनै पनि थप कागजात वा बिल-रसिद अध्यागमन कार्यालयमा बुझाउनु पर्दैन।