नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको छ। नबिलले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नम्बर एक बैंकको रूपमा उभ्याएको छ। गत वर्ष ४ अर्ब ७८ करोड नाफा कमाएको यस बैंकले यसपालि २६.८७ प्रतिशतको आकर्षक वृद्धि हासिल गरेको छ। नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाए पनि उसको नाफामा गत वर्षको तुलनामा २.२६ प्रतिशतको सामान्य गिरावट देखिएको छ।
यस वर्षको तथ्यांकमा सबैभन्दा आश्चर्यजनक र सकारात्मक सुधार कुमारी बैंकमा देखिएको छ। कुमारी बैंकले आफ्नो नाफामा २७४.६५ प्रतिशतको बढोत्तरी गर्दै ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ पुर्याएको छ, जबकि गत वर्षको यसै अवधिमा यसको नाफा मात्र ९६ करोड ९१ लाख रुपैयाँ थियो।
यसैगरी सिद्धार्थ बैंकले ६८.३१ प्रतिशत र कृषि विकास बैंकले ६५.५६ प्रतिशतले नाफा बढाएर आफ्नो वित्तीय अवस्थामा बलियो सुधार गरेका छन्। राष्ट्रिय बाणिज्य बैंक र सानिमा बैंकको नाफामा पनि क्रमशः ३५.६८ र २३.२१ प्रतिशतको सम्मानजनक वृद्धि देखिएको छ।
तथ्यांकको अर्को पाटो भने केही चुनौतीपूर्ण देखिएको छ। कुल २० बैंकमध्ये झन्डै आधा अर्थात् ९ वटा बैंकको नाफामा गिरावट आएको छ। विशेषगरी लक्ष्मी सनराइज बैंकको नाफामा ६७.३६ प्रतिशतको ठूलो गिरावट आएको छ भने कुनै समय आक्रामक व्यवसाय गर्ने एनआइसी एशिया बैंकको नाफा पनि ६२.४१ प्रतिशतले खुम्चिएर ३० करोड ८३ लाखमा झरेको छ।
नेपाल बैंकको नाफामा पनि ६०.२८ प्रतिशतको पहिरो गएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, हिमालयन र सिटिजन्स बैंकको नाफामा पनि दोहोरो अंकको गिरावट देखिएको छ। यसले केही बैंकहरूलाई खराब कर्जा व्यवस्थापन र ब्याज आम्दानी सन्तुलनमा राख्न अझै कठिन भइरहेको पुष्टि गर्दछ।