शनिबारको वार्तापछि उपराष्ट्रपति भान्सले ‘नराम्रो खबर’ रहेको बताएका छन् ।
उनले भने, ‘अमेरिका र इरानबिच वार्ता २१ घण्टादेखि चलिरहेको छ, तर नराम्रो खबर के हो भने हामी सम्झौतामा पुगेका छैनौँ। ‘इरान हाम्रा सर्तमा सहमत भएन।’
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल असिम मुनिरप्रति आभार प्रकट गर्दै उनले भने, ‘यदि वार्तामा कुनै कमजोरी भएको भए त्यो पाकिस्तानीहरूको कारणले भएको थिएन। उहाँहरूले उत्कृष्ट काम गर्नुभएको छ।’
पाकिस्तानको मध्यस्तथामा भैरहेको यो वार्ताको विषयलाई लिएर विश्वव्यापीरुपमा चासो देखिएको छ। युद्धका कारण विश्वकै नाका मानिने स्ट्रेट अफ हर्मुज बन्द हुँदा विश्वव्यापी रुपमा इन्धनसहित विभिन्न वस्तुहरुको हाहाकार भएको छ ।
वार्ताको लागि अमेरिकी र इरानी प्रतिनिधि मण्डल शुक्रबार नै इस्लामावाद पुगेका थिए । वार्ता अघि दुवै पक्षले अलग अलगरुपमा मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेट गरेका थिए। पाकिस्तानको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिका अनुसार उक्त वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले इरान र अमेरिकाबीचको वार्ता उक्त क्षेत्रमा दीर्घकालीन शान्ति कायम गर्न कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन्।
वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् । टोलीमा ट्रम्पका विशेषदूत स्टीभ विट्कफ र राष्ट्रपतिका ज्वाइँ ज्यारेड कूश्नर सहभागी छन् । इरानी वार्ता टोलीको नेतृत्व सभामुख मोहम्मद बाघेर गालिबाफले गरिरहेका छन् । उनीसंगै विदेशमन्त्री अब्बास अराग्ची लगायतका अधिकारी सहभागि रहेको बताइएको छ । त्यस्तै
पाकिस्तानी प्रधानमन्त्री शरिफ, उपप्रधान तथा परराष्ट्रमन्त्री इशाक डारलगायतका अधिकारीहरु सहभागि रहेको बताइएको छ ।
वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानका विदेशमन्त्री डारले दुवै पक्षबीच सार्थक छलफल हुने विश्वास व्यक्त गरेका छन् ।
इरानी बार्ता टोलीका प्रमुख मोहम्मद बाकर कलिबाफले वासिङ्टनले सही सम्झौता प्रस्ताव गरे र आफ्नो मुलुकको अधिकार सुनिश्चित गरे तेहरान सहमतिका लागि तयार रहेको बताएका छन् । उता, अमेरिकी टोलीको नेतृत्व गरिरहेका उपराष्ट्रपति जेडी भान्सले इरानलाई अमेरिकासँग खेलबाड नगर्न चेतावनी दिएका छन्।
स्मरिणय के छ भने अमेरिकी उपराष्ट्रपतिले २१ वर्षपछि पहिलो पटक पाकिस्तान टेकेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।
उता, पाकिस्तानमा वार्ता चलिरहंदा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानले बन्द गरिदिएको स्ट्रेट अफ होर्मुज भनिने प्रमुख जलमार्ग खुलाउने प्रक्रिया अघि बढाएका बताएका छन् । उनले युद्धमाइरानले नराम्रोसँग हारिरहेको दावि गर्दै विश्वका केही संचारमाध्यम र राजनीतिक विश्लेषकहरु भने इरानले जितिरहेको लेख्न मनपराउने गरेको दावि गरे ।
पाकिस्तानको मध्यस्थतामा १५ दिने युद्धविराम भएपछि अहिले पाकिस्तानमै दुई पक्षविच वार्ता शुरु भएको हो । वार्ताको लागि ईस्लामावादसहित प्रमुख शहरहरुमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । इस्लामावाद र कराँचीमा दुई दिनको सार्वजनिक विदा दिइएको छ ।
राजधानीका सडकहरूमा इस्लामाबाद वार्ता लेखिएका डिजिटल बोर्डहरू देख्न सकिन्छ।जसमा अमेरिका र इरानका झन्डा छन्। र, त्यसको बीचमा पाकिस्तानको प्रतीक चिन्ह राखिएको छ।