उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक अर्जुनप्रसाद गौतम, अगुवा बैंक निफ्राकातर्फबाट सुर्यबहादुर तामाङ र नविल बैंकका तर्फबाट निशेषहरी राजभण्डारीले संयुक्त रुपमा समझदारीपत्र(एमओयू) मा हस्ताक्षर गरेका छन।
निफ्रा र नविलको २ अर्ब ४४ करोड लगानी
उक्त समझदारीपत्रअनुसार, अगुवा बैंकका रुपमा निफ्राको १ अर्ब ५५ करोड र नविल बैंकको ८८ करोड ९० लाख ऋण लगानी रहनेछ । उक्त जलविद्युत् आयोजना निर्माणमा बहुमत सेयर अर्थात ५१ प्रतिशत सेयर लगानी अपर हेवाखोला जलविद्युत् आयोजनाको रहनेछ । दुवै बैंकको कुल लगानी भने २ अर्ब ४४ करोड रहने समझदारी भएको छ ।
कुल ३ अर्ब १९ करोड लागत अनुमानमा निर्माण हुने उक्त आयोजनामा बाँकी लगानी भने अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको रहनेछ । कम्पनीले आफ्नो भगिनी संस्थाका रुपमा मातृभूमि खडा गरेर आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको वित्तिय व्यवस्थापन भएसँगै निर्माणको चरणमा जाने कम्पनीले जनाएको छ ।
मातृभूमिका गौतमले २०६४ सालदेखि यहाँसम्म आइपुग्दा बनाएका कुनै पनि जलविद्युत् आयोजना समयमै सम्पन्न गरेर कार्यसम्पादन गर्दैै आएको बताए । तसर्थ, मातृभूमि हाइड्रोपावरले बनाउन लागेको सिसुवा खोला जलविद्युत् आयोजना पनि समयमै सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘जलविद्युत् आयोजना निर्माणका सवालमा हामी २०६४ सालदेखि यहासम्म आइपुग्दा आयोजना अपार पनि छैनन् । समयमा सम्पन्न गरेर आफ्नो कार्यसम्पादन गर्दै आएका छौं,’ मातृभूमि हाइड्रोपावर कम्पनीका प्रवन्ध सञ्चालक अर्जुनप्रसाद गौतमले भने, ‘तसर्थ, मातृभूमि हाइड्रोपावरले बनाउन लागेको यो अहिले साढे १३ मेगावाट र प्रस्तावित साढे १६ मेगावाटको प्रोजेक्ट पनि हामी समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’
कहिले सुरु हुन्छ निर्माण ?
मातृभूमि हाइड्रोपावर कम्पनीका अनुसार, वित्तिय व्यवस्थापन भएसँगै आयोजना अब निर्माण प्रक्रियामा अघि बढ्ने छ । हाल आयोजनाको डिजाइन, अध्ययनलगायतका प्रक्रियाहरु टुंगिने चरणमा छन् । टेन्डर डकुमेन्ट छिट्टै नै अघि बढ्ने कम्पनीले जनाएको छ । आयोजनाको मुख्य निर्माणकर्ताले आयोजनास्थलको अवलोकनसमेत गरिसकेको छ । र, सब कन्ट्याक्टरहरु पनि साइटमा जाने तयारीमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, आगामी बर्खायाम सकिएलगत्तै कन्ट्याक्टर आयोजनास्थलमा मुभिलाइज हुनेछ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्नेलगायतका आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएको छ । आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृति हुने चरणमा छ ।
नदी प्रवाहमा आधारित(आरओआर) प्रकृतिमा यो आयोजना निर्माण हुनेछ । कम्पनीले कम्तीमा ३० महिनाभित्र उक्त आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।
मातृभूमि हाइड्रोपावर कम्पनीको सतप्रतिशत अधिकृत पूँजी यो आयोजनामा शेयर लगानी रहनेछ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको भगिनी संस्थाका रुपमा मातृभूमिले यो परियोजना प्रवद्र्धन गर्दैछ ।