'आफ्टर मार्केट अर्डर': १५ % तल/माथि अर्डर राख्न पाउने, तर अर्डर कति समय रहन्छ ? वाइकोले यसो भन्यो

Apr 22, 2026 06:02 PM Merolagani



सुवास निरौला 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख ७ गते सोमबारदेखि दोस्रो बजारमा 'आफ्टर मार्केट अर्डर' (एएमओ) सुरु गर्ने घोषणा गरेको थियो।

बजार बन्द भएपछि पनि लगानीकर्ताले शेयर खरिद-बिक्रीका लागि अर्डर राख्न पाउने यो व्यवस्थाले कार्यालय समयमा व्यस्त रहने लगानीकर्तालाई ठूलो राहत दिने अपेक्षा गरिएको थियो। तर, आज वैशाख ९ गते भइसक्दा पनि कुनै पनि 'ट्रेडिङ म्यानेजमेन्ट सिस्टम' (टिएमएस)मा यो सुविधा देखिएको छैन।

 

नेपालमा अहिले तीनवटा भेन्डर कम्पनीले टिएमएस सञ्चालन गरिरहेका छन्—नेप्सेको आफ्नै (वाईको-YCO द्वारा निर्मित), डिजी हबको 'ए ट्रेड' र एस्ट्रिक टेक्नोलोजीको 'नसा एक्स'। यी तीनै प्रणालीमा आफ्टर मार्केट अर्डर अझै 'डिसेबल' छ। अझ डिजी हबको प्रणालीमा त प्रि-ओपन सेसनको नयाँ ५ प्रतिशतको सीमा समेत अझै कार्यान्वयन हुन नसकेको गुनासो छ। यस विषयमा नेप्सेको टिएमएस निर्माता कम्पनीका प्रमुख दिपेश प्रधानले यो ढिलाइ हुनुको पछाडि गम्भीर प्राविधिक जटिलता र नीतिगत अन्योल रहेको खुलासा गरे।

नेप्सेले निर्देशन दिए पनि प्राविधिक रूपमा यो व्यवस्था सोचेजस्तो सजिलो नभएको प्रधानको तर्क छ। उनका अनुसार आफ्टर मार्केट अर्डर कार्यान्वयनका मुख्य जटिलताहरू छन्। आफ्टर मार्केट अर्डर भनेको बजार बन्द भएपछि राखिने अर्डर हो, तर यो भोलिपल्ट बजार खुल्दा कुन मूल्यमा र कसरी म्याच हुने भन्ने विषय प्राविधिक रूपमा चुनौतीपूर्ण छ। प्रधान भन्छन्-'राखिसकेपछि डेली भाउ परिवर्तन हुँदा कुन बेला एक्जिक्युट (Execute) हुने भन्ने कुरा एक्जिस्टिङ लाइभ मार्केटसँग सधैँ तुलना गरिरहनुपर्छ। यसलाई एकचोटी पठाएर मात्र पुग्दैन, हरेक ट्रेडमा चेक गरिरहनुपर्ने देखियो 

आफ्टर मार्केट अर्डरमा १५ प्रतिशतको अन्तरालमा अर्डर राख्न पाउने भनिएको छ। 'कुनै लगानीकर्ताले ३ प्रतिशतमा राख्ला, कसैले १५ प्रतिशतको अन्तरालमा राख्ला। अब त्यो मूल्य कुन बेला पुग्छ भनेर सिस्टमले हरेक अर्डर र हरेक ट्रेडलाई चेक गरिरहनुपर्ने हुन्छ,' प्रधानले प्रस्ट्याए। यो प्रक्रियाले गर्दा सिस्टममा 'लोड' बढ्ने र रियल-टाइममा डेटा प्रोसेसिङ जटिल हुने देखिन्छ। एउटा ठूलो प्रश्न 'प्राथमिकता' मा छ। 

आफ्टर मार्केट अर्डरमा अगाडि अर्डर राख्नेलाई पहिलो प्राथमिकता दिने कि मार्केट खुलेपछि लाइभ अर्डर राख्नेलाई ? प्रधानका अनुसार, 'तपाईंले राखेको अर्डरलाई फर्स्ट प्रायोरिटी दिनको लागि कसैले अर्डर राख्ने बित्तिकै सिस्टमले त्यसलाई चेक गर्नुपर्छ। यो सोचेभन्दा अलि बढी कम्प्लेक्स (Complex) देखियो।' अर्को अन्योल अर्डरको वैधतामा छ। आज राखेको अर्डर आजैको दिनमा मूल्य नपुगेर म्याच भएन भने के गर्ने ? 'केही लगानीकर्ताले आज मूल्य नपुगे भोलि पुग्ला भन्लान्, तर सिस्टमले त्यसलाई दैनिक रिजेक्ट गर्ने कि मेन्टेन गरिरहने भन्ने विषयमा अझै छलफल बाँकी छ,' प्रधानले भने। हाललाई एक दिनमा म्याच नभए रिजेक्ट हुने (Day End Rejection) मोडलमा जाने सम्भावना देखिए पनि लगानीकर्ताको अपेक्षा भने फरक हुन सक्छ।

नेप्सेको वाईको टिएमएस मात्र होइन, डिजी हबको प्रणालीमा पनि समस्या देखिएको छ। नेप्सेले प्रि-ओपन सेसनमा ५ प्रतिशतको सर्किट सीमा तोके पनि डिजी हबको टिएमएसले त्यसलाई अझै समात्न सकेको छैन। यसले गर्दा एउटै बजारमा फरक-फरक टिएमएस चलाउने लगानीकर्ताबीच असमानता सिर्जना भएको छ। एउटा सिस्टमबाट ५ प्रतिशतमा अर्डर जान्छ भने अर्कोबाट जाँदैन। 

प्रधानका अनुसार अबको एक महिनाभित्र यो सुविधा आउने सम्भावना छ। 'हामी सिरियसली काम गरिरहेका छौँ। तर सिस्टमलाई 'सिम्प्लीफाई' (सरलीकृत) कसरी गर्ने भन्नेमा अझै एप्रुभल बाँकी छ,' उनले भने।

अहिलेलाई लगानीकर्ताले नेप्सेको घोषणालाई केवल 'कागजी निर्णय' मात्र मान्नु पर्ने अवस्था छ। जबसम्म प्राविधिक जटिलताहरू सुल्झिँदैनन् र सबै भेन्डरहरूले आफ्नो सिस्टम अपडेट गर्दैनन्, तबसम्म 'आफ्टर मार्केट अर्डर' को सपना अधुरै रहने देखिन्छ। लगानीकर्ताको माग छ—नेप्सेले निर्णय गर्नुअघि प्रविधिको तयारी सुनिश्चित गरोस्, न कि निर्णय गरिसकेपछि प्रविधिलाई दोष दिने काम होस्।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।