जलस्रोतको समुचित उपयोगले मात्रै नेपाललाई समृद्ध बनाउन सक्छ । नेपालको दार्चुलामा उत्पादन गरेको विद्युत केही किलोमिटर प्रसारणलाइन बनाउँदै भारतको धार्चुलामा बेच्न सकिने भएकाले सुदूरपश्चिममा जलविद्युत उत्पादन सबै हिसाबले आकर्षक भएपनि कठिन भौगोलिक अवस्था र प्रसारण पूर्वाधारको अभावका कारण मात्र यो क्षेत्र पछि परेको डाँगीको भनाई छ ।
उनले प्रवर्द्धकहरु जलविद्युत आयोजना निर्माण गर्न जाँदा सुरुमा गाउँमा बाटो लिएर जाने र आयोजना सम्पन्न भएपछि समृद्धि छोडेर फर्किने गरेको पनि बताए ।
२०५१ साल मा २५० मेगावाट रहेको नेपालको विद्युत उत्पादनमा निजी क्षेत्र आएपछि अहिले ४१०० मेगावाट पुगेको छ । अब प्रसारण र व्यापारमा पनि निजी क्षेत्रलाई खुला गरिदिने हो भने, अबको दश वर्ष पछि निजी क्षेत्रले प्रसारणलाइन निर्माण र विद्युत निर्यातमा पनि उत्पादनमा जस्तै छलाङ मार्न सक्ने पनि डाँगीले बताए ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले वन मन्त्रालयबाट कसरी काम हुन्छ र प्रक्रियागत झन्जट कति हुन्छ भन्ने विषयमा बताएका थिए । पहिलेकै प्रक्रियामा अनुमति पाउन र काम सुरु गर्न कम्तिमा ७-८ वर्ष लाग्ने गरेकोमा अहिले फेरी सामुदायिक वन उपभोक्ताको ५१ प्रतिशतले पनि सहमति दिनुपर्ने नियम ल्याएर आयोजना बन्नै नदिने षड्यन्त्र रचिएको उनको भनाई थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इप्पान कार्यसमिति सदस्य सुमन जोशीले सुदूरपश्चिम प्रदेशमा ५ हजार ९०० मेगावाट क्षमताका ६१ आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोमा १११७ मेगावाट क्षमताका ११ आयोजना प्रसारणलाइनको सुनिश्चितता भयो भने तत्कालै निर्माण हुन सक्ने बताइन् । प्रशारण लाइनको निर्माण भएन भने अझै वर्षौसम्म सुदूरपश्चिममा थप आयोजना बन्ने सम्भावना नरहेको पनि जोशीको भनाई छ ।
सुदूरपश्चिममा सबैभन्दा धेरै विद्युत उत्पादनको सम्भावना रहेका ३ जिल्लामा बाजुरामा २१८८ मेगावाट, बझाङमा १९३५ मेगावाट र अछाममा १३४८ मेगावाट क्षमता रहेको जोशीले बताइन् ।
उनले जलविद्युत क्षेत्रले वार्षिक साढे ४ अर्ब रुपैयाँ रोयल्टी बुझाउने गरेको, साढे ३ लाख भन्दा बढीलाई रोजगारी दिइएको, १३ खर्ब रुपैयाँ लगानी गरिसकेको, देशभर ३७०० किलोमिटर बाटो बनाएको, १६० स्वास्थ्यकेन्द्र निर्माण गरेको, १०७ खानेपानी आयोजना बनाएको, ५५ सिचाई आयोजना बनाएको र २५० जना शिक्षकलाई तलव प्रदान गरिरहेकोमा यी सबै सुविधाबाट सुदूरपश्चिम प्रदेश भने वञ्चित भएको जोशीले प्रस्तुतीकरणमा बताईन ।
सुदूरपश्चिममा न्युनतम पूर्वाधारको अभाव भएकैले लगानीकर्ता आकर्षित नभएका हुन सक्छन् । सरकारले सडक पूर्वाधार र प्रशारण पूर्वाधार आफै बनाउने वा सहुलियत दिएर निजी क्षेत्रलाई अघि सार्ने हो भने यहाँ पनि जलविद्युत उत्पादनमार्फत रोजगारी सिर्जना हुने र यहाँको अर्थतन्त्र चलायमान हुने उनको भनाई छ ।
सुदूरपश्चिममा निजी तथा सरकारी आयोजनाको बिजुली प्रसारणका लागि एउटा मात्रै प्रसारणलाइन सञ्चालनमा छ । दार्चुलाको बलाचदेखि कैलालीको अत्तरियासम्म १३२ केभीको प्रसारणलाइन सञ्चालनमा आउनु बाहेक अरु कुनै पनि प्रसारणलाइन निर्माण नै सुरु हुन सकेका छैनन् ।
राष्ट्रिय प्रसारण तथा ग्रिड कम्पनी (आरपीजीसीएल)का प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले नेपालको सबैभन्दा ठूलो विद्युत हव सुदूरपश्चिममा नै बनाउने योजना रहे पनि अहिले त्याहाँ प्रसारणलाइन निर्माणको लागि बजेट अभाव रहेको बताए ।
हुम्लादेखि बझाङ हुँदै कैलालीको दोदोधरासम्म एउटा र पश्चिमसेती (बझाङ), डोटी र डडेलधुरा हुँदै कैलालीको दोदोधरासम्मै आउने अर्को ४०० केभी प्रशारणलाइन निर्माण योजनामा छन् । फुकोट कर्णाली, माथिल्लो कर्णाली, पश्चिम सेती, एसआर ६ लगायतका आयोजनाको विद्युत दोदोधरमा ल्याएर त्याहाँबाट भारतको बरेलीमा जोड्ने अन्तरदेशिय प्रशासरणलाइन पनि निर्माणको योजनामा रहेको श्रेष्ठले बताए ।
तर यसका लागि कुल एक खर्ब ३० अर्ब रुपैयाँ लगानी लाग्ने हुँदा स्रोत व्यवस्थापनमा चुनौती रहेको उनको भनाई छ । यस क्षेत्रमा बन्ने ४०० केभी क्षमताका प्रसारणलाइनले २५००-२५०० मेगावाट विद्युत प्रवाह गर्न सक्छन् । त्यसमध्ये पश्चिम सेती दोदोधरमा ६०० मेगावाट क्यापासिटी बुक भएको पनि उनले जानकारी दिए ।
अर्बौका काम गर्नुपर्ने कम्पनीलाई सरकारले यो वर्ष मात्र १८ करोड रुपैयाँ बजेट छुट्ट्याएकोमा श्रेष्ठले गुनासो गरे । अहिले अब छिटो लाइन बनाउने हो भने प्रदेश र स्थानीय तहले पनि लगानी गर्ने गरी अघि बढ्नुपर्ने उनको राय छ ।
नेपाल सरकारका पूर्वसचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रको लगानी बिना जलविद्युत उत्पादन सम्भव छैन भनेर महसुस गरेपछि निजी क्षेत्र भित्राउन विद्युत ऐन ल्याएको स्मरण गराउँदै अब प्रसारण र व्यापार गर्न पनि निजी क्षेत्र नभई नसकिने रहेछ भन्ने महसुस भइसकेपछि साविककै विद्युत ऐनलाई संसोधन गरेर निजी क्षेत्रलाई खुला गर्न सकिने बताए ।
उनले देशलाई वन मन्त्रालयको जिम्मा लगाएको गुनासो गर्दै हामीले जलविद्युत विकास गर्ने भनेर जति कराए पनि वनकै कारण कामै गर्न नसक्ने अवस्था रहेको पनि बताए ।
प्रसारण लाइनको हाहाकार रहेको अवस्थामा सरकारले ५१ प्रतिशत राखेर निजी क्षेत्रलाई ४९ प्रतिसतमा सिमित गरेर जाने ढिपी गर्न नहुने र निजी क्षेत्रलाई पुरै खुला गरिदिनुपर्ने पनि उपाध्यायले बताए ।