आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः माउ संस्था (नेप्से) मै फिर्ता बोलाउने निर्णय गरेको हो।
तत्कालीन नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको नेतृत्व सुम्पेका थिए।
गत भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीडीएससीमा सिइओ पद खाली भएको थियो। सो पदमा खुला प्रतिस्पर्धाबाट नयाँ सिइओ नियुक्त गर्नुपर्नेमा, तत्कालीन सिइओ कार्कीले पन्दाकलाई २०८१ पुस १४ गते चार वर्षका लागि प्रबन्ध सञ्चालक नियुक्त गरेका थिए। आफ्नो कार्यकाल सकिन लागेको समयमा अर्को संस्थाको प्रमुखमा दीर्घकालीन अवधिका लागि कर्मचारी नियुक्त गर्नुलाई गम्भीर नीतिगत विचलनका रूपमा हेरिएको थियो।
अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्ने ठाउँमा सिधै चार वर्षको कार्यकाल तोकेर गरिएको उक्त नियुक्ति नियमसम्मत नदेखिएको भन्दै नेप्सेको वर्तमान नेतृत्वले उनलाई फिर्ता बोलाएको हो। पन्दाकलाई नेप्सेमै फिर्ता बोलाइएपछि अब सीडीएससीको नेतृत्व र रिक्त रहेको सिइओ पदको नयाँ नियुक्ति प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा सबैको चासो बढेको छ।
सीडीएससीमा अब त्यहाँ विधिपूर्वक नयाँ नेतृत्व आउने बाटो खुलेको छ। पन्दाक अब नेप्सेमै आफ्नो पुरानो जिम्मेवारीमा फर्किने छिन्।