अत्याधुनिक प्रविधि र विलासी सुविधाहरूले भरिपूर्ण यो गाडी लक्जरी र फ्ल्यागसिप गरी दुईवटा विशेष भेरियन्टमा उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ।यो पिकअपमा जडान गरिएको डुल मोटरले कुल ३२५ किलोवाट सम्मको पावर र ७०० एनएमको टर्क प्रदान गर्ने भएकाले यसले मात्र ५।८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ। कठिन भू-बनोटमा समेत आरामदायी यात्रा सुनिश्चित गर्न यसमा एयर सस्पेन्सनका साथै इको, स्पोर्ट, स्नो र अफ-रोड जस्ता सातवटा विभिन्न ड्राइभिङ मोडहरू समावेश गरिएका छन्। लामो यात्रालाई सहज बनाउन यसमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ भने फास्ट चार्जिङ प्रविधिमार्फत यसलाई मात्र ४२ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
गाडीको भित्री बनावट अत्यन्तै विलासी रहेको छ जसमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, आठवटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता सुविधाहरू उपलब्ध छन्। सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा र एडाप्टिभ क्रुज कन्ट्रोल सहितको एडास फिचर राखिएको छ भने ३५०० केजीसम्मको लोडिङ क्षमता र भी(टु(एल प्रविधिले गर्दा गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू समेत चलाउन मिल्ने सुविधा रहेको छ। नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो प्रिमियम पिकअपले नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ।