बाह्रखरी मिडियाद्वारा एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिता तथा ‘इकोनोमिक सिम्पोजियममा बोल्दै मन्त्री वाग्लेले अब नेपालले आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने बताए। सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले नेपालका लागि यो ‘आर्थिक प्रस्थान बिन्दु’ भएको बताए।
मन्त्री वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्ताका लागि नीतिगत स्थिरता र सुनिश्चितता प्रदान गर्ने बताए । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भौगोलिक जटिलतालाई चिर्न डिजिटलाइजेसन नै प्रमुख अस्त्र हुने उनको तर्क छ । सूचना प्रविधिलाई प्राथमिकता दिनैका लागि सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसले सेवा प्रवाहमा क्रान्ति ल्याउने उनले विश्वास व्यक्त गरे ।
निजी क्षेत्रको मनोबल उच्च बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री वाग्लेले इमानदार व्यवसायीलाई सरकारले पूर्ण संरक्षण गर्ने बताए । मन्त्री वाग्लेले आगामी ७ वर्षमा प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पु-याउने र अर्थतन्त्रको आकार १०० अर्ब डलरको हाराहारीमा पु-याउने लक्ष्य राखिएको जानकारी दिए । भारतले विगत १०–१२ वर्षमा हासिल गरेको ९ देखि १० प्रतिशतको आर्थिक वृद्धिलाई नेपालले पनि पछ्याउन सक्ने उनको भनाइ छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार अमिताभ कान्त र पूर्व अर्थसचिव रामेश्वर खनालको धारणाप्रति सहमति जनाउँदै मन्त्री वाग्लेले नेपालको पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उपजले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताए ।
नेपालले १० प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्नुपर्छ, नीतिगत सुधार र डिजिटल रूपान्तरण अनिवार्यः अमिताभ कान्त
भारतीय नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक समृद्धिका लागि शाहसिक नीतिगत सुधार, डिजिटल पूर्वाधारमा लगानी र उच्च मूल्यको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । 
उनले नेपाललाई आगामी तीन दशकसम्म वार्षिक ९ देखि १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्न सुझाव दिए । नेपालको हालैको निर्वाचन र युवा पुस्ताको आकांक्षालाई उल्लेख गर्दै कान्तले नयाँ पुस्ताले सुशासन, इमानदारिता र आर्थिक रूपान्तरण खोजेको बताए । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई प्राप्त जनादेशको सफल कार्यान्वयनका लागि शुभकामना दिँदै नेपाल र भारतबीचको मित्रता र सहयोगलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । एक दशकअघि भारत विश्वका पाँच कमजोर अर्थतन्त्र (फ्रजाइल फाइभ) मध्ये एक रहेको स्मरण गर्दै कान्तले संरचनागत सुधार, व्यापक डिजिटलाइजेसन र पूर्वाधार निर्माणका कारण आज भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको जानकारी दिए ।
कान्तले नेपालको भौगोलिक जटिलतालाई चिर्न डिजिटल पूर्वाधार सबैभन्दा प्रभावकारी माध्यम हुने बताए ।
एनसेल बाह्रखरी गल्फमा उज्ज्वल र बिपनालाई उपाधि
एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि पुरुष तर्फ उज्ज्वल प्रधानाङ्ग र महिलातर्फ विपना श्रेष्ठले जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा आज भएको प्रतिस्पर्धामा प्रधानाङ्गले ४० अंक प्राप्त गरे .
उनले पुरस्कार स्वरूप सुनको बल प्राप्त गरे। त्यस्तै, तरूण अग्रवालले दोस्रो स्थान प्राप्त गरे। उनी प्रधानाङ्ग भन्दा एक अंकले पछि पर्दै ३९ अंमा रहेका थिए। त्यसैगरी महिला विजेता विपना श्रेष्ठले ३७ अंक जोडेकी थिइन्।
उनकी निकटतम प्रतिद्वन्द्वी उपविजेता आस्था दुलालले ३४ अंक प्राप्त गरिन् । प्रतियोगिताको सिनियर विधाको रूपमा रहेको ६० वर्ष माथिको इभेन्टमा विजय बहादुर श्रेष्ठले जित हात पारे । उनले ३४ अंक हासिल गरे।
प्रतियोगिताका विजेताहरूलाई कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान, प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती(फस्ट लेडी) सबिना काफ्ले, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, द नेपाल डिस्टिलरीका सीइओ रमेश कृष्णनन, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वार आचार्य, अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा महिला र पुरुष खेलाडी गरी १०५ जनाले सहभागिता जनाएको थियो। विशेष आकर्षणका रूपमा ‘होल इन वान’ भने यो वर्ष पनि कसैले प्राप्त गर्न सकेनन्
एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगितासँगै आर्थिक परिसंवाद पनि आयोजना गरिएको थियो।