यदि देशको पूँजी बजार बलियो भयो भने, वित्तीय स्रोत जुटाउन बैंकहरूमाथिको अत्यधिक निर्भरता कम हुन्छ। पूँजी बजारले शेयर बजार र ऋणपत्र बजार (Bond Market) मार्फत पूर्वाधार, जलविद्युत, उत्पादन तथा पर्यटन क्षेत्रमा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउँछ। उच्च ब्याजदर र बैंकहरूमा तरलता अभावको अवस्थामा बलियो पूँजी बजारले जोखिम वितरण (Spreads Risk) गर्नमा सहयोग गर्दछ।
आईपीओ (IPO) र बन्ड (Bond) मार्फत कम्पनीहरूले प्राथमिक बजार हुँदै जनताबाट पूँजी उठाउन सक्छन्, जसले ठूला परियोजनाहरूका लागि बैंक ऋणमा निर्भरता घटाउँछ।
शेयर बजार केवल धनी व्यक्तिहरूका लागि मात्र होइन, तल्लो आयस्तरका मानिसहरूले पनि शेयर र बन्डमा लगानी गर्न सक्छन्, विशेषगरी जब बैंकहरूले दिने ब्याजदर कम हुन्छ। शेयर बजारले कम्पनीहरूको कार्यसम्पादन र समग्र आर्थिक अवस्थालाई प्रतिबिम्बित गर्छ, जसले लगानीकर्ताहरूलाई विवेकपूर्ण निर्णय लिन मद्दत गर्छ।
नेपाल स्टक एक्सचेन्ज (NEPSE) र धितोपत्र बोर्ड नेपाल (SEBON) ले बजार विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। तथापि, नेपालको पूँजी बजार अझै पनि सीमित उत्पादन विविधता (अधिकांश शेयरमा केन्द्रित, बन्डर डेरिभेटिभ्स कम) छोटो अवधिको सट्टेबाजी प्रवृत्ति, कमजोर संस्थागत लगानीकर्ता आधार, तथा नियामकीय र सुशासनसम्बन्धी समस्याहरूका कारण चुनौतीपूर्ण अवस्थामा छ।
नेपालको अर्थतन्त्र ठूलो मात्रामा रेमिट्यान्समा आधारित छ। पूँजी बजारले यसलाई उत्पादन–आधारित अर्थतन्त्रतर्फ रूपान्तरण गर्न मद्दत गर्छ, जसले दिगो आर्थिक वृद्धिलाई तीव्र बनाउँछ। सुदृढ पूँजी बजार बिना ठूलो स्तरको औद्योगिकीकरण र दिगो विकास कठिन हुन्छ। केवल कारोबारको मात्रा बढाएर वा आईपीओप्रति आकर्षण बढाएर मात्र पूँजी बजार सुधार हुँदैन । यसका लागि कडा संरचनात्मक सुधार आवश्यक छ, विशेषगरी बलियो बन्ड बजार सिर्जना गर्न उत्प्रेरित गर्न सक्नुपर्छ। । फ्युचर्स र अप्सन्सजस्ता डेरिभेटिभ उपकरणहरूको सिर्जना पनि अत्यावश्यक छ।
नेपालको शेयर बजार मुख्यतः छोटो अवधिको र सट्टेबाजीमा आधारित छ। दीर्घकालीन विश्वास निर्माणका लागि SEBON र NEPSE द्वारा कडा नियमन र पारदर्शिता आवश्यक छ। इनसाइडर ट्रेडिङ र मूल्य हेरफेरविरुद्ध कडा कारबाही, रियल–टाइम डाटा निगरानी प्रणालीको विकास तथा कमजोर कम्पनीहरूलाई आईपीओ स्वीकृतिमा रोक लगाउनु जरुरी छ।
हाल नेपालको शेयर बजारमा खुद्रा लगानीकर्ता (Retail Investers) हरूको प्रभुत्व छ। बजारमा उतार–चढाव कम गर्न पेन्सन कोष, बीमा कम्पनीहरू तथा गैरआवासीय सर्बसाधारणहरुको सहभागिता बढाउनुपर्छ। यसले छोटो अवधिको सोचलाई कम गर्दै दीर्घकालीन लगानी प्रवर्द्धन गर्दछ। डिजिटल प्रणालीको विकास र सुधारले लगानीकर्ताहरूलाई सजिलो पहुँच र व्यापक सहभागिता सुनिश्चित गर्छ। हालको T + 2 सेटलमेन्ट प्रणालीलाई T+1 वा रियल–टाइम प्रणालीमा रूपान्तरण गर्नु अति आवश्यक देखिन्छ।
आजको शेयर बजारको एउटा प्रमुख समस्या भनेको कमजोर कम्पनीहरूलाई आईपीओमा सूचीकृत गर्न अनुमति दिनु हो, जसले लगानीकर्ताको विश्वास घटाइरहेको छ। यदि SEBON ले कम्पनीहरूको प्रति शेयर आम्दानी (EPS) नेटवर्थ तथा मूल्याङ्कनका आधारमा कडाइका साथ छनोट नगर्ने हो भने बजार सट्टेबाजीमै सीमित हुन्छ र लगानीकर्ताको विश्वास कमजोर बनाई दिन्छ। नेपाल अझै पनि कर्पोरेट बन्ड बजार (Corporate bond and Market) को विकास र कारोबारमा पछाडि छ। बैंक तथा ठूला संस्थाहरूलाई वास्तविक कर्पोरेट बन्ड जारी गर्न प्रोत्साहन, सरल नीति निर्माण र पछि NEPSE मा सूचीकरणका लागि कर प्रोत्साहन आवश्यक छ। हाल नेपालको बजार बैंक तथा जलविद्युत क्षेत्रमा केन्द्रित छ। यसलाई उत्पादन, पर्यटन र सूचना प्रविधि क्षेत्रमा विस्तार गर्न ठूलो संस्थाहरूलाई प्रोत्साहन गर्नुपर्छ।
दोस्रो बजारप्रति लगानीकर्ताहरूमा अनिश्चितताका कारण विश्वासको कमी देखिन्छ। यद्यपि बैंकहरूले कम ब्याजदर दिने विस्तारवादी मौद्रिक नीति अपनाएका छन्, लगानीकर्ताहरूलाई ऋण लिन सजिलो बनाइएको छ र बैंकहरूमा पर्याप्त तरलता छ, तर पनि विश्वास अझै सुदृढ हुन सकेको छैन।
यदि लगानीकर्ताको विश्वास पुनर्स्थापित भयो भने, शेयर बजारको उछालको समयमा देशले करिब १६ अर्ब रुपैयाँ बराबरको उच्चतम पूँजीगत लाभकर CGT को रेकर्ड तोड्न सक्छ। साथै, जब करिब ३२०० अंकको NEPSE सूचकांकको उच्चतम रेकर्ड पार गर्न सकेमा,यसले बजारमा विश्वास बढाउछ। यसले केवल पूँजीगत लाभकरमा योगदान मात्र गर्दैन, बरु रोजगारी सिर्जनामा समेत सहयोग पुर्याउँछ, किनभने लगानीकर्ताको विश्वास बढ्दा खर्च र लगानी पनि बढ्छ। त्यसैले, बजारको उतार–चढाव कम गर्न र छोटो अवधिको सट्टेबाजीबाट दीर्घकालीन लगानीतर्फ रूपान्तरण गर्न समयमै संरचनात्मक सुधार अत्यावश्यक छ।
- आले वित्तीय बिश्लेषक हुन्