गुल्मीको हुँगामा जन्मिएका गायक न्यौपाने हालै उक्त गीतको म्युजिक भिडीयो सार्वजनिक गरेका हुन् । बाल्यकालदेखि नै संगीतलाई पछ्याउँदै आएका राजन आज नेपाली सुगम र व्यावसायिक संगीतको बजारमा एउटा स्थापित नाम बनिसकेका छन् ।
संघर्ष र अवरोधको यात्रा
सानै उमेरदेखि गीत गुनगुनाउने स्वभावका राजनले औपचारिक रुपमा संगीतमा लागेको ६ वर्ष भइसकेको छ । उनले आफुले संगीत क्षेत्रमा लामो समय बिताए पनि २०० दिन मज्जाले काम गर्न नपाएको बताए ।
‘म म्युजिकमा लागेको धेरै वर्ष भयो । तर, २०० दिन पनि मजाले काम गर्न पाइनँ।“ यसको पछाडि विभिन्न घरायसी, प्राविधिक र व्यक्तिगत बाधाहरू थिए, जसले उनलाई पटक–पटक संगीतबाट टाढा पुर्याउन खोज्यो। तर, उनको भित्री रुचि र संगीतप्रतिको लगाव यति गहिरो थियो कि उनी कहिल्यै पछि हटेनन् ।
’कालो केशमा रेलिमै’ र सफलताको मोड
उनले करियरमा थुप्रै गीतहरू गाए र संगीत भरे । कतिपय गीतहरू मिडिया र युट्युबको पहुँचमा पुग्न सकेनन्। तर, ’कालो केशमा रेलिमै’ बोलको गीत उनको करियरको ’टर्निङ प्वाइन्ट’ बन्यो। दिनेश ढकाल र अल्का सुवेदीसँगको सहकार्यमा तयार भएको यो गीतले उनलाई सांगीतिक उचाइ मात्र दिएन, आम श्रोतामाझ एउटा बलियो पहिचान पनि दिलायो ।
त्यसपछि उनले ’केसै लर्के डोरी’ र पछिल्लो समय चर्चामा रहेको ’फूलको जोवन’ सम्म आइपुग्दा दर्जनभन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन् । उनी अहिले गायकका रूपमा मात्र नभई एक कुशल संगीतकारका रूपमा पनि चिनिन्छन । राजन न्यौपानेको काम गर्ने शैली निकै भिन्न र स्पष्ट छ ।

स्टेजभन्दा एल्बमको प्राथमिकता
अहिलेको समयमा धेरै कलाकारहरू चर्चा पाउनेबित्तिकै स्टेज कार्यक्रममा व्यस्त हुन रुचाउँछन् । तर, राजनको सोच अलि फरक छ । केही ठाउँमा मात्र आफ्ना प्रस्तुति दिएका राजन अहिले औपचारिक रूपमा स्टेजमा हिँडिसकेका छैनन् । उनी भन्छन्, “अहिले म एल्बमको तयारीमा छु । एल्बममा ४–५ वटा राम्रा गीतहरू भइसकेपछि मात्र म स्टेजमा उत्रिनेछु, ताकि दर्शकलाई पूर्ण मनोरञ्जन दिन सकियोस्।‘
आगामी दिनमा राजनका केही फिल्मका गीतहरू र केही स्वतन्त्र प्रोजेक्टहरू पाइपलाइनमा छन्। ’फूलको जोवन’ पछि उनले झन् मेहनतका साथ नयाँ गीतहरूमा काम गरिरहेका छन्।

कलिलो बालसखा देखि नै संगीतमा रुची भएका राजन आज एउटा परिपक्व संगीतकर्मीका रूपमा नेपाली संगीतको श्रीवृद्धिमा लागिपरेका छन्। उनको यो धैर्यता र सिर्जनाप्रतिको इमानदारीले नै उनलाई आगामी दिनमा थप सफलताको शिखरमा पुर्याउने निश्चित छ।