२६ लघुवित्तको वित्तीय विवरण सार्वजनिक हुँदा कुन कम्पनीकाे अवस्था कस्ताे ?

May 08, 2026 05:36 PM MeroLagani



नेप्सेमा सूचीकृत २६ वटा लघुवित्त वित्तीय संस्थाहरुले अहिलेसम्म सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ तर पुराना र ठूला भनिएका संस्थाहरुको नाफामा भने संकुचन आएको छ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक हेर्दा छिमेक लघुवित्त खुद नाफाको आधारमा सबैभन्दा बलियो देखिएको छ। छिमेकले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६.२० प्रतिशतले बढी हो। नाफाको आकारमा छिमेकलाई जीवन विकास लघुवित्तले पछ्याइरहेको छ। जीवन विकासले ७६.२६ प्रतिशतको उत्साहजनक वृद्धि सहित ६२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ। त्यस्तै, डिप्रोक्स लघुवित्तको नाफा पनि ५७.३९ प्रतिशतले बढेर ६८ करोड १ लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानी (इपीएस) को दौडमा भने आत्मनिर्भर लघुवित्त सबैभन्दा अगाडि देखिएको छ। यसको प्रतिशेयर आम्दानी ८२ रुपैयाँ ५० पैसा कायम भएको छ। दोस्रो स्थानमा गणपति लघुवित्त रहेको छ, जसको ईपीएस ५३ रुपैयाँ ७१ पैसा छ। अभियान लघुवित्तले पनि आफ्नो नाफा र ईपीएसमा ३३७ प्रतिशत भन्दा बढीको फराकिलो वृद्धि गर्दै ५२ रुपैयाँ ५३ पैसा ईपीएस पुर्याउन सफल भएको छ।

यस त्रैमासको सबैभन्दा आश्चर्यजनक तथ्यांक एनआईसी एशिया लघुवित्तको देखिएको छ। गत वर्षको तेस्रो त्रैमासमा न्यून नाफा कमाएको यस संस्थाले चालू वर्षमा ८ हजार १३३ प्रतिशतको वृद्धि देखाउँदै १० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, गत वर्ष ऋणात्मक नाफा रहेको सामुदायिक लघुवित्त यो वर्ष सुधारिँदै ५ करोड ८८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।

नाफा बढ्नेको लहरमा केही ठूला संस्थाहरुको व्यापारमा भने गिरावट आएको छ। निर्धन उत्थान लघुवित्तको खुद नाफा ६७.७४ प्रतिशतले घटेर १५ करोड ५० लाखमा खुम्चिएको छ। साना किसान विकास लघुवित्तको नाफामा पनि ११.३३ प्रतिशतको गिरावट आएको छ भने युनिक नेपाल लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको नाफा पनि गत वर्षको तुलनामा घटेको छ।

बजारमा लघुवित्त क्षेत्रमाथि विभिन्न चुनौती रहे पनि धेरैजसो कम्पनीले निष्क्रिय कर्जा व्यवस्थापन र सञ्चालन मुनाफामा गरेको सुधारले गर्दा समग्र क्षेत्रको वित्तीय अवस्था सकारात्मक दिशामा उन्मुख भएको यस तथ्यांकले संकेत गर्छ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।