भदौ २३ र २४ को घटना सरकार ढाल्ने पूर्वनियोजित षड्यन्त्र थियोःओली

Jun 03, 2026 01:01 PM Merolagani



नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन् । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ ।

उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे। ओलीकाअनुसार आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्राविधिक तयारीहरू पहिले नै गरिएका थिए । यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको उनको भनाइ छ । अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाउने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे ।

उनले भने, ‘गत भाद्र २३ र २४ गतेको घटनालाई कसैले आन्दोलन भन्छन्, कसैले क्रान्ति । गर्नेहरूले त क्रान्ति भन्ने नै भए । युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई पनि उनीहरूले क्रान्ति भन्ने नै भए । आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने, काँक्रो खाइसकेपछि बियाँ अर्काको गालामा टाँसेर आरोप लगाउने काम उनीहरूले त गर्ने नै भए । तर त्यो एउटा षड्यन्त्रपूर्ण, पूर्वनियोजित घटना थियो । यो मेरो भनाइ होइन । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपमा भाद्र २३ र २४ गतेको घटना पूर्वनियोजित, पहिल्यै षड्यन्त्र गरिएको तथा प्रायोजित घटना थियो भन्ने कुरा उल्लेख गरिएको छ । त्यो यथार्थ हो । त्यो षड्यन्त्र हाम्रा विरुद्ध त थियो नै । हामी संवैधानिक र लोकतान्त्रिक हिसावले बलियो अवस्थामा थियौँ । हामी जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारमा थियौँ र त्यो सरकार अत्यधिक बहुमतको सरकार थियो। त्यस सरकारलाई संवैधानिक, कानूनी तथा संसदीय बाटोबाट अनेक पटक ढाल्ने र ध्वस्त पार्ने प्रयास गरियो । तर त्यो सम्भव भएन । सम्भव नभएपछि अवैधानिक र आपराधिक मार्गबाट सरकारलाई विस्थापन गर्ने षड्यन्त्र भयो । त्यसका निम्ति पहिलेदेखि नै तालिमहरू सञ्चालन गरिए। आगो कसरी लगाउने, अत्यन्त प्रज्वलनशील वस्तुहरू कसरी बनाउने, पेट्रोल बम कसरी तयार गर्ने, प्रज्वलनशील पदार्थलाई अझ बढी प्रज्वलनशील तथा उच्च तापक्रममा बल्ने कसरी बनाउने, छिटो आगो लाग्ने विधि कसरी अपनाउने भन्ने जस्ता विषयमा प्रशिक्षण दिइयो । राष्ट्रव्यापी रूपमा आगलागीका घटना कसरी गराउने भन्ने योजना बनाइयो । गुगलको माध्यमबाट कुन–कुन नेताका घर कहाँ छन् भन्ने जानकारी सङ्कलन गरियो । संसद भवन, सिंहदरबार र सर्वोच्च अदालत त सबैलाई देखिएकै थिए । विभिन्न व्यापारिक प्रतिष्ठान तथा उद्योगधन्दा पनि देखिएकै थिए । तर नेताहरूका घर, निवास र सम्पत्तिहरू गल्ली तथा बस्तीभित्र हुने भएकाले तिनीहरूलाई गुगलमार्फत पहिचान गरी जानकारी वितरण गरिएको थियो । यो कुरा आकस्मिक रूपमा त्यतिबेला भएको होइन । यो अघिल्ला दिनहरूदेखि नै भइरहेको थियो । भाद्र २३ र २४ गतेको घटना त्यतिबेलाकै उपज मात्र पनि थिएन। यसका लागि लोकप्रिय नेताहरूलाई अलोकप्रिय कसरी बनाउने, उनीहरूका विरुद्ध झुट्टा आरोप कसरी लगाउने, बनावटी आरोपहरू सिर्जना गरेर जनमत प्रभावित कसरी पार्ने भन्ने योजनाहरू पनि बनाइएका थिए ।’

आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे ।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।