खासगरी, उत्तरी छिमेकी मुलुक चीनसँगै जोड्ने छोटो मार्गका रुपमा यो सुरुङमार्ग निर्माण गर्ने परिकल्पना गरिएको थियो ।
विगत ४-५ वर्षदेखि निरन्तर बजेटमा समावेश गरिएको यो सुरुङमार्गको अहिलेसम्म अध्ययन कार्य सम्पन्न हुन सकेको छैन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले टोखा–छहरे सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन(डीपीआर) बनाएर निर्माण प्रक्रियामा अघि बढाउने घोषणा गरेका छन् । तर, प्रारम्भिक अध्ययन कार्य भए पनि सुरुङमार्गको विस्तृत अध्ययन कार्य, वित्तीय व्यवस्थापनलगायतका प्रक्रियागत कामहरु अघि बढ्न सकेका छैनन् । उक्त सुरुङमार्ग आयोजनाको अध्ययन, निर्माणलगायतमा ठूलो पूँजी आवश्यक छ ।

टोखा–छहरे सुरुङमार्ग आयोजना अघि बढाउनुपूर्व आवश्यक पर्ने पूँजी जुटाउने दायित्व सरकारकै हो । उक्त सुरुङमार्ग आयोजना बनाउन नेपाल सरकारको एक्लै पूँजीले सम्भव छैन् ।
अनुदानमा बनाइदिन चीनसँग ‘हारगुहार’
टोखा–छहरे सुरुङमार्ग आयोजना निर्माण गरिदिन नेपाल सरकारले यसअघिदेखि चीन सरकारसँग आग्रह गर्दै आएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उक्त सुरुङमार्ग आयोजना चिनिँया अनुदान सहयोगमा बनाउने भनेर समझदारीपत्र (एमओयू)मा समेत हस्ताक्षर गरेका थिए ।
हाल चिनिँया पक्षले अनुदान सहयोगमै अहिले सुरुङमार्गको सर्भे डिजाइनको काम अन्तिम चरणमा पुर्याएको छ । चिनिँया पक्षबाट नै डीपीआर निर्माण गरेर आयोजना अघि बढाउने पक्षमा सरकार पुगेको छ ।
यसअघि विगतका सरकारले उक्त सुरुङमार्ग बनाउन पटक पटक हारगुहार गरे पनि अहिलेसम्म चिनिँया पक्षले प्रारम्भिक अध्ययन र डिजाइनको काम तथा आयोजनाको विस्ततृत अध्ययन र निर्माणकार्य भने अघि बढाउन चाहेको छैन् ।
प्रारम्भिक लागत कुल ३० अर्ब लाग्ने अनुमान
प्रारम्भिक अध्ययनअनुसार, यस आयोजनाका लागि कुल ३० अर्ब लागत लाग्ने अनुमान छ । चिनियाँ पक्षले त्यति ठूला लगानी रहेको आयोजनालाई अनुदान सहयोगमा बनाइदिने छाँटकाँट देखाएको छैन् । तर, नेपाल पक्ष भने यतिबेला यो आयोजना चिनियाँ पक्षले अनुदान सहयोगमा बनाइदिन्छ भन्ने ठूलो आसमा छ ।
अध्ययन गर्न बजेट, निर्माण थाल्न अन्योल
आर्थिक वर्ष २०८०/०८१ मा आयोजनालाई निर्माण प्रक्रियामा लैजान भनेर सरकारले त्यसबेला १ अर्ब २५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो । सर्भे, डिजाइन अध्ययनलगायतका कामका लागि विनियोजन भएको उक्त बजेट काम नभएपछि उक्त रकम अन्य आयोजनामा रकमान्तर गरियो । तर, आयोजना भने अघि बढ्न सकेन् ।
अहिले पनि आयोजना प्रारम्भिक चरणमै छ भन्दा फरक नपर्ला । टोखा देखि छहरेसम्म कुल ३४ किलोमिटरको यात्रा सुरुङमार्ग बनेपछि भने ४ किलोमिटरमा पुग्न सकिने छ । अर्थात सडकमार्गबाट ३० किलोमिटर यात्रा छोटिनेछ । नेपाल र चीनको आयात र व्यापारका दृष्टिकोणले समेत यो सुरुङमार्ग कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।