मेस्सीको कीर्तिमानी खेल, अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

Jun 23, 2026 02:41 AM Merolagani



फिफा विश्वकप २०२६ को समूह जे अन्तर्गत टेक्ससको डलास स्टेडियममा आज भएको रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गरेको छ। अर्जेन्टिनाको यो जितसँगै कप्तान लियोनेल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रचेका छन्।

लगातार दोस्रो जित निकाल्दै अर्जेन्टिना प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।

खेलको सुरुवात अर्जेन्टिनाका लागि केही उतारचढावपूर्ण रह्यो। खेलको ९औँ मिनेटमा लाउतारो मार्टिनेजलाई डिफेन्डरले लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। तर, मेस्सीको प्रहार पोस्टभन्दा बाहिर जाँदा अर्जेन्टिना सुरुवाती अग्रता लिनबाट चुक्यो। पेनाल्टी मिस गरे पनि मेस्सीले खेलमा उत्कृष्ट पुनरागमन गरे। फाकुन्डो मेडिनाको मिलाएको लो-क्रसलाई सदुपयोग गर्दै मेस्सीले उत्कृष्ट डिफेन्सलाई छिचोलेर गोल गरे। यो गोलसँगै उनले विश्वकपमा आफ्नो १७औँ गोल पूरा गर्दै मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान भंग गरे।

दोस्रो हाफको इन्जुरी समयमा अस्ट्रियाको बक्सभित्र भएको फलको फाइदा उठाउँदै मेस्सीले व्यक्तिगत दोस्रो गोल थपे र अर्जेन्टिनाको २–० को जित पक्का गरे।

विश्वकप इतिहासकै शीर्ष गोलकर्ता

यो खेलमा गरेको दुई गोलसँगै मेस्सी पुरुष विश्वकप इतिहासमा मात्र नभई महिला र पुरुष दुवै विधा मिलाएर विश्वकपकै सबैभन्दा सफल गोलकर्ता बनेका छन्। उनले ब्राजिलकी लिजेन्ड मार्टा (१७ गोल) लाई पनि पछि पारेका हुन्।

विश्वकप इतिहासका शीर्ष गोलकर्ताहरू:

लियोनेल मेस्सी (अर्जेन्टिना) १८ गोल
मिरोस्लाभ क्लोज (जर्मनी) १६ गोल
रोनाल्डो (ब्राजिल) १५
गोलगर्ड मुलर (जर्मनी) र किलियन एमबाप्पे (फ्रान्स) १४ गोल

आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० ले हराएको अर्जेन्टिनाले यो जितसँगै २ खेलबाट ६ अंक जोड्दै समूह जे बाट नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। पहिलो खेलमा जोर्डनलाई हराएको अस्ट्रियाको भने ३ अंक रहेको छ र उसले नकआउटमा पुग्नका लागि समूहको अन्तिम खेलमा अल्जेरियासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।