रास्वपाको संशोधित विधान अनुसार कुल १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुन लागेको हो। बाँकी ५१ सदस्य भने निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार ९९ केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी आकांक्षीहरूको उम्मेदवारी परेको छ।
रवि लामिछाने सभापतिमा निर्विरोध
पार्टीको सर्वोच्च पद सभापतिमा भने वर्तमान सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। पहिलो चरणमा खुला तथा समावेशी क्लस्टर अनुसार ९९ जना केन्द्रीय सदस्य चुनिएपछि दोस्रो चरणमा अन्य १९ पदाधिकारीहरू (उपसभापति, महामन्त्री, सह–महामन्त्री, कोषाध्यक्ष आदि) को निर्वाचन सोही केन्द्रीय समितिभित्रबाट गरिने निर्वाचन आयोगले जनाएको छ।
डिजिटल भोटिङ र मोबाइल एपको प्रयोग
प्रविधिमैत्री चुनावी प्रक्रियालाई जोड दिँदै रास्वपाले मतदानका लागि महाधिवेशन स्थलमा ८० वटा ‘राम–लक्ष्मण भोटिङ मेसिन’ (विद्युतीय उपकरण) तयारी अवस्थामा राखेको छ।
त्यसैगरी, महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका र विदेशमा रहेका प्रवासका प्रतिनिधिहरूका लागि रास्वपाकै आधिकारिक मोबाइल ‘एप’ मार्फत मतदान गर्न सक्ने विशेष व्यवस्था मिलाइएको छ। झन्डै ४,५०० प्रतिनिधिहरूले मतदान गर्ने यस प्रक्रियामा उम्मेदवारहरूको संख्या धेरै भएका कारण मतदान सम्पन्न हुन केही समय लाग्ने अनुमान गरिएको छ।
रास्वपाले आजै रातिसम्म मतदान र गणनाको प्रक्रिया सकेर आफ्नो पहिलो महाधिवेशन भव्य रूपमा समापन गर्ने लक्ष्य राखेको छ।