नेपाल बैंकर्स संघले बुझाएका २१ बुँदे सुझावहरूको विस्तृत विवरण यस प्रकार छ:
कर्जा, ब्याजदर र क्षेत्रगत लगानीसम्बन्धी सुझावहरू
-
विपन्न वर्ग कर्जाको सीमा घटाइनुपर्ने: बैंकहरूले कुल कर्जाको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था रहेकोमा बजारको माग र प्रकृतिलाई मध्यनजर गर्दै यसलाई ४ प्रतिशतमा झार्नुपर्ने।
-
प्राथमिकता प्राप्त क्षेत्रमा स्वास्थ्य र शिक्षा: राष्ट्र बैंकले तोकेका प्राथमिकता प्राप्त क्षेत्रहरूमा मुलुकको आवश्यकता अनुरूप स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि समावेश गरिनुपर्ने।
-
जोखिममा आधारित ब्याजदर (Risk-Based Pricing): ऋणीको जोखिम मूल्यांकन (Risk Profile) का आधारमा प्रिमियम दर परिवर्तन गर्न पाउनुपर्ने। बजारको तरलता र जोखिमका आधारमा ऋणीसँगको सम्झौता बमोजिम प्रिमियम थपघट गर्न सकिने व्यवस्था हुनुपर्ने।
-
आधार दर र कर्जा नोक्सानी व्यवस्थामा पुनरावलोकन: विगतका मौद्रिक नीतिहरूमा उल्लेख भए पनि हालसम्म कार्यान्वयनमा नआएको आधार दर (Base Rate) गणना विधिको पुनरावलोकन गरिनुपर्ने। साथै, अन्तर्राष्ट्रिय अभ्यास अनुरूप कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) मा लचकता ल्याउनुपर्ने।
-
सेवा शुल्क खुला बजारलाई छोड्नुपर्ने: बैंकहरूबीच प्रतिस्पर्धा बढाउन र नयाँ प्रविधिलाई प्रोत्साहित गर्न वित्तीय सेवा शुल्कसँग सम्बन्धित सीमा र दरहरू खुला बजारकै प्रतिस्पर्धाका आधारमा तोक्न पाउनुपर्ने।
डिजिटल बैंकिङ, प्रविधि र सुरक्षा
-
इन-एप नोटिफिकेसनलाई मान्यता: डिजिटल बैंकिङ कारोबारमा अनिवार्य एसएमएस पठाउनुको सट्टा मोबाइल वा इन्टरनेट बैंकिङ एपभित्रै आउने 'इन-एप नोटिफिकेसन' (In-App Notification) लाई पनि आधिकारिक सञ्चार माध्यमका रूपमा मान्यता दिनुपर्ने।
-
डिजिटल ठगी विरुद्ध साझा प्लेटफर्म: बढ्दो डिजिटल स्क्याम र फ्रडहरूबाट ग्राहकलाई जोगाउन प्रहरी, बैंक र सम्बन्धित निकायहरू आबद्ध भएको एक साझा प्लेटफर्म निर्माण गर्नुपर्ने।
-
केन्द्रीय ग्राहक पहिचान प्रणाली (Central KYC): ग्राहकको पहिचान र 'ड्यू डेलिजेन्स' विवरणहरूलाई एकीकृत रूपमा अभिलेख राख्न केन्द्रीय केवाईसी प्रणाली तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने।
-
क्यूआर कोडको अन्तर-आबद्धता (Interoperability): ग्राहकको सहजताका लागि विभिन्न अपरेटरहरूका क्युआर कोडहरूबीच तत्काल अन्तर-आबद्धता लागू गरिनुपर्ने।
-
व्यापार सहजीकरणका लागि साझा डिजिटल प्लेटफर्म: भन्सार, राष्ट्र बैंक र वाणिज्य बैंकहरू आबद्ध भएको आयात-निर्यातसम्बन्धी एकीकृत डिजिटल प्लेटफर्म बनाउन पहल गर्नुपर्ने।
संस्थागत, सञ्चालन तथा वित्तीय व्यवस्थापन
-
शाखा बन्द गर्ने नीतिमा सहजीकरण: महानगरपालिका बाहेक उपमहानगरपालिका र धेरै शाखाहरू भएका नगरपालिकाहरूमा पनि राष्ट्र बैंकको पूर्वस्वीकृति बिना नै शाखा बन्द गर्न पाउने व्यवस्था गरिनुपर्ने।
-
निष्क्रिय खाता बन्द गर्ने अवधि ५ वर्ष कायम गर्नुपर्ने: १० वर्षदेखि शून्य मौज्दात रहेका खाता बन्द गर्न सकिने विद्यमान व्यवस्थालाई परिमार्जन गरी उक्त अवधि ५ वर्षमा झार्नुपर्ने। साथै, ग्राहकले डिजिटल माध्यमबाटै खाता बन्द गर्न सक्ने सहज सुविधा हुनुपर्ने।
-
वित्तीय साक्षरतालाई सीएसआरमा समेट्न पाइने: बैंक तथा वित्तीय संस्थाका संघहरूमार्फत गरिने वित्तीय साक्षरता कार्यक्रमहरूलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गणना गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने।
-
प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल लगानीमा सहजीकरण: यस्ता कोषहरूमा बैंकहरूले गर्ने लगानीलाई प्राथमिक पुँजीको ५ प्रतिशतसम्म पुँजी कोष (Capital Fund) बाट घटाउन नपर्ने व्यवस्था गर्नुपर्ने।
-
गैर-बैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने: बैंकहरूले आफ्नो स्वामित्वमा आएका गैर-बैंकिङ सम्पत्तिलाई भाडामा लगाएर उपयोग गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनुपर्ने।
-
धितोपत्र र सेकेन्डरी मार्केट: सुरक्षण पत्रहरूलाई नगदमा परिणत गर्न सेकेन्डरी मार्केट स्थापना गरिनुपर्ने तथा डिबेन्चर भुक्तानी कोष (Debenture Redemption Fund) को रकम बोनस सेयर जारी गर्न उपयोग गर्न पाउनुपर्ने।
-
नीतिगत प्रष्टताका लागि संयन्त्र: राष्ट्र बैंकका निर्देशिकाहरू बुझ्न र कार्यान्वयन गर्न सहज बनाउन अन्तरविभागीय समन्वय प्रभावकारी बनाउँदै एक स्थायी प्रष्टता संयन्त्र स्थापना गरिनुपर्ने।
-
विदेशमा शाखा खोल्ने नीतिमा पुनरावलोकन: बैंकहरूले विदेशमा शाखा कार्यालय स्थापना गर्न तोकिएको निष्क्रिय कर्जा अनुपात (NPL) र कुल जोखिम भारित सम्पत्ति थपसम्बन्धी सुपरिवेक्षकीय व्यवस्थामा पुनरावलोकन हुनुपर्ने।
-
नेट ओपन पोजिसन (NOP) र एनडीएफ कारोबार: नन डेलिभेरिएबल फरवार्ड (NDF) कारोबारलाई पूर्ण रूपमा उपयोग गर्न आईएनआर पोजिसनको निश्चित अंशलाई नेट ओपन पोजीसन गणनाबाट छुट दिनुपर्ने वा यसको सीमा बढाउनुपर्ने।