विज्ञहरूका अनुसार यो निष्कासन भारतको पूँजी बजारको इतिहासमा सबैभन्दा ठूलो र ऐतिहासिक सूचीकरण बन्न सक्नेछ।
अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज मातहतको डिजिटल शाखा 'जियो प्लेटफर्म्स' र विश्वकै ठूलो डेरिभेटिभ एक्सचेन्ज तथा कारोबार परिमाणका आधारमा शीर्ष तीन इक्विटी एक्सचेन्जमध्ये एक 'नेसनल स्टक एक्सचेन्ज' (NSE) ले गत महिना केही दिनको फरकमा प्राथमिक सेयर निष्कासनका लागि मस्यौदा कागजात दायर गरेका छन्।
जियोले १२० देखि १६० अर्ब अमेरिकी डलरको अनुमानित मूल्याङ्कनमा बजारबाट करिब ४ अर्ब डलर (३.०२ अर्ब पाउन्ड) पूँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ। अर्कोतर्फ, एनएसईले आफ्नो ६ प्रतिशत सेयर बिक्री गरी ३.३ अर्ब डलर सङ्कलन गर्ने तयारी गरेको छ, जसले गर्दा यस एक्सचेन्जको कुल बजार मूल्याङ्कन ५७ अर्ब डलर कायम हुनेछ।
एमके ग्लोबल इन्भेस्टमेन्ट बैंकिङका सीईओ यतिन सिंहले बीबीसीसँग कुरा गर्दै भने, "यी निष्कासनहरूको विशाल आकारले भारतको कुल बजार पूँजीकरणलाई त बढाउने नै छ, तर लगानीकर्ताहरूले यसलाई झनै नजिकबाट हेर्नुको मुख्य कारण अर्कै छ। यो सूचीकरणले विगत एक दशकमा भारतीयहरूको जीवनशैली,उपभोग, लगानी र व्यापार गर्ने शैलीमा आएको व्यापक डिजिटल रूपान्तरणलाई प्रतिनिधित्व गर्दछ।"
सिंह अगाडि भन्छन्, "यी यस्ता विशिष्ट व्यवसाय हुन्, जो बारम्बार बन्दैनन्। एनएसई भारतीय नागरिकको घरायसी बचतलाई म्युचुअल फन्ड र सेयर बजारमार्फत सिधै 'वित्तीयकरण' गर्ने माध्यम बनेको छ। अर्कोतर्फ, जियोको कथा त्यस्तो कम्पनीको यात्रा हो, जसले एक्लै भारतमा डिजिटल क्रान्ति ल्यायो र धेरै नयाँ पुस्ताका डिजिटल व्यवसायका लागि मेरुदण्ड साबित भयो। केही दशकअघि जसरी सफ्टवेयर कम्पनीहरूको उदयले सेयर बजारको दिशा परिवर्तन गरेको थियो, त्यसरी नै यिनीहरूको सूचीकरण पनि भारतीय बजारका लागि नयाँ प्रस्थानविन्दु बन्न सक्छ।"
जियोको प्रवेश र भारतीय बजारको डिजिटल कायापलट
सन् २०१६ मा भारतको भीडभाडयुक्त दूरसञ्चार बजारमा जियोको ढिलो तर आक्रामक प्रवेशले १७ वटा मोबाइल सेवा प्रदायक कम्पनीहरू रहेको खण्डित बजारलाई पूर्ण रूपमा बदलिदियो। अम्बानी समूहले करोडौँ नयाँ प्रयोगकर्ताहरूलाई निःशुल्कजस्तै डेटा उपलब्ध गराएर बजारमा तीव्र मूल्य युद्ध सुरु गरेपछि भारतीय दूरसञ्चार क्षेत्र थोरै बलिया कम्पनीहरूबीचको प्रतिस्पर्धा (Oligopoly) मा परिणत भयो।
एक दशकअघि भारतमा केवल २० करोड मानिसले इन्टरनेट चलाउँथे। आज त्यो सङ्ख्या एक अर्बको नजिक पुगेको छ, जसमध्ये ५२ करोड ५० लाखभन्दा बढी ग्राहक जियो एक्लैसँग छन्। उनीहरू अनलाइन भुक्तानी गर्न, डिजिटल शोहरू हेर्न र अनलाइन सपिङ गर्न जियोको डेटामा निर्भर छन्। हाल भारतीयहरू विश्वमै सबैभन्दा बढी मोबाइल डेटा खपत गर्ने उपभोक्ता बनेका छन्, जसले अमेरिका र चीनजस्ता विकसित बजारलाई समेत उछिनेको छ। यसको मुख्य जस जियोको सस्तो शुल्कलाई जान्छ, जसले स्मार्टफोनको प्रयोगलाई आम नागरिकको पहुँचमा पुर्यायो।
यो तीव्र डिजिटलाइजेसनको प्रत्यक्ष प्रभाव मानिसहरूले समय र पैसा खर्च गर्ने शैलीमा देखिएको छ। चर्चित अनलाइन ब्रोकरेज कम्पनी 'जेरोधा' का अनुसार, जियोको लहरसँगै सुरु भएको भारतको डिजिटल भुक्तानी प्रणाली 'युनाइटेड पेमेन्ट्स इन्टरफेस' (UPI) मार्फत सन् २०२५ सम्म आइपुग्दा वार्षिक २२८ अर्बभन्दा बढी कारोबार प्रशोधन भएको छ। साथै, सन् २०१९ देखि २०२६ को अवधिमा सशुल्क ओटीटी (OTT) ग्राहकको सङ्ख्या ४० प्रतिशतले बढेको छ।
कोटक बैंकको प्रतिवेदन अनुसार, मानिसहरूले भिडियो हेर्न र सामाजिक सञ्जाल चलाउन बढी समय खर्चिन थालेपछि भारतीयहरूको मासिक डेटा बिलमा तीन गुणाले वृद्धि भएको छ, जुन ग्रामीण क्षेत्रको औसत ज्याला वृद्धिको दरसँग समानान्तर छ।
खुद्रा लगानीको नयाँ लहर र एनएसईको उदय
अर्कोतर्फ, एनएसईको व्यावसायिक सफलताले भारतमा भएको खुद्रा लगानीको व्यापक लहरलाई प्रतिबिम्बित गर्दछ। कोरोना महामारीको समयमा लाखौँ साना लगानीकर्ता सेयर बजारमा प्रवेश गरे। सस्तो मोबाइल डेटा र स्मार्टफोनको सहज पहुँचका कारण भारतमा अनलाइन ट्रेडिङ (डीम्याट र ब्रोकर) खाताको सङ्ख्या ३ करोडबाट तीव्र रूपमा बढेर २० करोडभन्दा बढी पुगेको छ।
वेल्थ म्यानेजमेन्ट कम्पनी 'आनन्द राठी वेल्थ लिमिटेड' का फिरोज अजिजले बीबीसीसँग कुरा गर्दै भने, "सुशासन (Corporate Governance) सम्बन्धी केही आन्तरिक विवादका कारण लामो समयदेखि रोकिएको एनएसईको यो सूचीकरणले भारतीय बजारको पूर्वाधार कति परिपक्व भइसकेको छ र यसको लगानीकर्ताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ।"
यो एक्सचेन्ज हाल ४.८५ ट्रिलियन अमेरिकी डलर आकारको भारतीय सेयर बजारको मेरुदण्ड हो, जुन बजार पूँजीकरणका आधारमा विश्वकै चौथो ठूलो हो। यस एक्सचेन्जको प्लेटफर्ममा हुने प्रत्येक कारोबारबाट कम्पनीले राम्रो शुल्क संकलन गर्दछ, जसले गर्दा यसको नाफा दर निकै उच्च छ। यद्यपि, बजारमा हुने कारोबारको परिमाणमा आउने उतारचढावले यसको आम्दानीलाई प्रत्यक्षरूपमा प्रभावित भने पार्नेछ।
केवल टेलिकम मात्र होइन, 'एआई' र प्रविधिमा फड्को
सेयर बजारमा सूचीकृत हुन लागेको जियोले अब आफूलाई सामान्य दूरसञ्चार सेवा प्रदायकका रूपमा मात्र सीमित राखेको छैन। विश्वका ठूला प्रविधि कम्पनीहरू एनभिडिया (Nvidia) र मेटा (Meta) सँगको साझेदारीमा यो कम्पनीले ठूला डाटा सेन्टरहरू निर्माण गरिरहेको छ। साथै, भारतीय भाषाहरूमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स (AI) का 'लार्ज ल्याङ्ग्वेज मोडेल' (LLM) हरू विकास गर्दै यो डिजिटल पूर्वाधारको विशाल साम्राज्य बन्ने होडमा छ।
एलारा सेक्युरिटीजको प्रतिवेदनअनुसार, जियो अब ग्राहक सङ्ख्या मात्र बढाउने दौडबाट माथि उठेर व्यावसायिक नाफा सुरक्षित गर्ने (Monetization) दिशामा अघि बढेको छ, जुन महसुल दरको वृद्धि र गुणस्तरीय पोस्टपेड योजनाहरूको विकासले देखाउँछ।
फिरोज अजिज भन्छन्, "जियो र एनएसईले सामूहिक रूपमा भारतको नयाँ डिजिटल अर्थतन्त्रका दुई बलिया खम्बाको प्रतिनिधित्व गर्छन्।" यी कम्पनीहरूले भारतको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएका क्षेत्रहरूमा लगानी गर्ने उत्कृष्ट अवसर सिर्जना गरेका छन्, जसले विश्वव्यापी विदेशी लगानीलाई तीव्र गतिमा आकर्षित गर्न मद्दत पुर्याउनेछ।
के विदेशी लगानी फर्किनेछ?
तर, यति मात्रै कदमले भारतबाट बाहिरिएका विदेशी लगानीकर्तालाई पुनः फर्काउन पर्याप्त होला त? विश्लेषक यतिन सिंह यसमा शङ्का व्यक्त गर्छन्। गत वर्ष विश्वका अन्य उदीयमान बजारहरूको तुलनामा भारतीय बजारको प्रदर्शन केही कमजोर रह्यो। अमेरिकी बजारमा उच्च प्रतिफलको अवसर र एसियाका अन्य क्षेत्रमा एआई प्रविधिको आकर्षणका कारण विदेशी लगानीकर्ताहरूले भारतबाट अर्बौँ डलर निकालेका छन्। साथै, भारतीय रुपैयाँको अवमूल्यनले पनि विदेशी लगानीको आकर्षणलाई केही कमजोर बनाएको छ।
अर्कोतर्फ, विगतका वर्षहरूमा भारतका ठूला कम्पनीहरू जस्तै पेटिएम (Paytm) र एलआईसी (LIC) को आकर्षक मानिएको आईपीओमा लगानी गर्दा धेरै साना खुद्रा लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ। धेरै चर्चा बटुलेका दर्जनौँ कम्पनीहरूको सेयर मूल्य अहिले उनीहरूको सूचीकृत मूल्यभन्दा धेरै तल झरेको छ, जसले गर्दा बजारप्रति साना लगानीकर्ताको विश्वास केही डगमगाएको छ।
त्यसैले, नयाँ आउन लागेका यी कम्पनीको आईपीओ मूल्य कुन दरमा तोकिन्छ भन्ने कुराले नै लगानीकर्ताले पाउने वास्तविक प्रतिफल तय गर्नेछ। फिरोज अजिज थप्छन्, "जतिसुकै राम्रो र गुणस्तरीय व्यवसाय भए पनि यदि मूल्य निर्धारण अत्यन्त महँगो वा आक्रामक (Overvalued) गरियो भने, त्यसले सेयरधनीलाई निराशाजनक प्रतिफल मात्र दिनेछ।"