बैंक मौज्दातमा बढ्दो
जेठ महिनाको तथ्यांकअनुसार म्युचुएल फन्डहरूको कुल बैंक मौज्दात ९ अर्ब ३७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो महिना वैशाखको तुलनामा शून्य दशमलव ९५ प्रतिशतको वृद्धि हो। विशेषगरी प्रभु सेलेक्ट फन्डले आफ्नो बैंक मौज्दात १६८ दशमलव ८३ प्रतिशतले बढाएको छ भने एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र रिलायबल समृद्धि योजनाले पनि १०० प्रतिशतभन्दा बढीको प्रगति हासिल गरेका छन्। फन्ड व्यवस्थापकहरूको यो कार्यले बजारमा तत्कालै ठुलो लगानीको अवसर नदेखेपछि नगदलाई बैंकमा सुरक्षित राखेको स्पष्ट हुन्छ।
मुद्दती निक्षेप घट्दो
जेठ महिनाको तथ्यांकअनुसार फन्डहरूको मुद्दती निक्षेपको अवस्थामा सामान्य गिरावट आएको छ। वैशाखमा ८१ करोड ४० लाख रुपैयाँ रहेको कुल मुद्दती निक्षेप जेठमा १ दशमलव २३ प्रतिशतले घटेर ८० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। बैंकहरुसँग तरलता बढी भएर मुद्दती निक्षेप नवीकरण गर्न नमान्दा पनि धेरै बैंकहरुले म्याद सकिएको मुद्दती निक्षेपलाई बैंक मौज्दातमा सारेका कारण पनि मुद्दती निक्षेप बढेर नगद मौज्दात बढेको हो ।
न्याभमा सामान्य सुधार
जेठ महिनाको तथ्यांकअनुसार समग्र म्युचुएल फन्डहरूको औसत न्याभ १० दशमलव ७५ रुपैयाँ कायम भएको छ, जुन वैशाखको १० दशमलव ७४ रुपैयाँको तुलनामा शून्य दशमलव ०१५६ रुपैयाँले बढी हो। एनआइसी एसिया ग्रोथ फन्ड–२ र एनआइसी एसिया सेलेक्ट–३० ले न्याभमा प्रतिइकाई शून्य दशमलव १४ रुपैयाँको सुधार गरेका छन्।
जेठ महिनाको तथ्यांक अनुसार सबैभन्दा बढी नेट एसेट भ्यालु (न्याभ) प्रभु स्मार्ट फण्डको रु. १४.७७ रहेको छ भने सबैभन्दा कम एचएलआई लार्ज क्याप फण्ड को रु. ८.९६ रहेको छ । ५७ वटा म्युचुएल फन्डमा १० वटा म्युचुएल फन्डको न्याभ १० रुपैयाँ भन्दा तल देखिएको छ ।
पोर्टफोलियो व्यवस्थापनमा फेरबदल
जेठ महिनाको तथ्यांकअनुसार फन्डहरूको सूचीकृत शेयरमा गरिएको लगानी २ दशमलव ७५ प्रतिशतले बढेर ६८ अर्ब ३६ करोड ४५ लाख रुपैयाँ पुगेको छ। यद्यपि, असूचीकृत सशेयरतर्फको लगानी भने १५ दशमलव ७६ प्रतिशतले घटेर ११ अर्ब ४७ करोड ३६ लाख रुपैयाँमा झरेको छ।
बैंक मौज्दातमा भएको यो वृद्धिले फन्ड व्यवस्थापकहरू बजारको आगामी दिशा स्पष्ट नहुन्जेल नगदलाई नै आफ्नो मुख्य हतियारका रूपमा प्रयोग गर्दै ’पर्ख र हेर’ को रणनीतिमा अडिग रहेको पुष्टि गर्दछ। यो अभ्यासले फन्डहरूलाई बजारमा देखिने जुनसुकै अवसरलाई तुरुन्तै क्याप्चर गर्न बलियो आधार प्रदान गर्नेछ।