म्युचुअल फन्डमा ‘बम्पर अफर’: न्याभभन्दा सस्तोमा काराेबार हुँदै, लाभांश खाने उत्तम समय

May 20, 2026 05:33 AM Merolagani



बाबुकृष्ण महर्जन

नेपालको पुँजी बजारमा अहिले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरू यस्तो विन्दुमा आइपुगेका छन्, जहाँ लगानीकर्ताका लागि जोखिम निकै कम र प्रतिफलको सम्भावना निकै उच्च देखिएको छ। 

हालै सार्वजनिक भएको तथ्याङ्कले बजारमा सूचीकृत ४३ वटा फन्डमध्ये ४२ वटा फन्डहरू आफ्नो वास्तविक प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) भन्दा निकै सस्तो दरमा कारोबार भइरहेको देखाएको छ। चालू आर्थिक वर्ष २०८२/८३ समाप्त हुन अब केवल डेढ महिना मात्र बाँकी रहँदा यी फन्डहरूमा देखिएको यो मूल्य अन्तरले लगानीकर्ताका लागि 'पर्ख र हेर' भन्दा पनि 'अध्ययन र लगानी' को उपयुक्त वातावरण सिर्जना गरिदिएको छ।

न्याभ र बजार मूल्यबीच ठूलो अन्तर

म्युचुअल फन्डको वास्तविक वित्तीय स्वास्थ्यको ऐना भनेकै त्यसको प्रति इकाई न्याभ हो। तर, अचम्मको कुरा के छ भने, अधिकांश फन्डहरूको कार्यसम्पादन राम्रो हुँदाहुँदै पनि बजारमा उनीहरूको मूल्याङ्कन निकै कम गरिएको छ। उदाहरणका लागि, प्रभु स्मार्ट फन्डको न्याभ १४ रुपैयाँ ७२ पैसा छ, तर बजारमा यो केवल १२ रुपैयाँ ९८ पैसामा पाइन्छ। यसको अर्थ लगानीकर्ताले १ रुपैयाँ ७४ पैसाको सीधा 'डिस्काउन्ट' वा छुट पाइरहेका छन्। यस्तो ठूलो अन्तर कुमारी धनबृद्धि योजना, प्रभु सेलेक्ट फन्ड र कुमारी इक्विटी फन्डमा पनि स्पष्ट देखिन्छ, जहाँ बजार मूल्य वास्तविक मूल्यभन्दा १ रुपैयाँ ३५ पैसादेखि १ रुपैयाँ ६५ पैसासम्म सस्तो छ।

आर्थिक वर्षको अन्त्य र लाभांशको साइत

म्युचुअल फन्डमा लगानी गर्ने उपयुक्त समय कुन हो भन्ने प्रश्नको उत्तर खोज्दा असार मसान्तभन्दा अगाडिको समयलाई सबैभन्दा उत्तम मानिन्छ। यसको मुख्य कारण फन्डहरूले वर्षभरि आर्जन गरेको मुनाफाबाट दिने लाभांश हो। चालू आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी हुनुको अर्थ, अबको छोटो अवधिपछि नै यी फन्डहरूले आफ्नो वास्तविक मुनाफा घोषणा गर्नेछन्। धेरैजसो फन्डहरूको न्याभ १० रुपैयाँभन्दा माथि र केहीको त १४-१५ रुपैयाँको हाराहारीमा हुनुले उनीहरू यसपटक लगानीकर्तालाई राम्रो नगद लाभांश वितरण गर्न सक्ने हैसियतमा रहेको पुष्टि गर्छ। अहिले सस्तोमा इकाई खरिद गर्ने लगानीकर्ताले केही महिनामै आकर्षक लाभांश हात पार्ने सुनिश्चितता देखिन्छ।

अंकित मूल्यभन्दा तलका फन्डमा दोहोरो लाभ

अझ रोचक पक्ष त के छ भने, धेरै फन्डहरूको बजार मूल्य उनीहरूको सुरुवाती अंकित मूल्य अर्थात् १० रुपैयाँभन्दा पनि तल झरेको छ। एमबिएल इक्विटी फन्ड, कुमारी सबल योजना, सिटिजन्स सुपर ३० र ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड जस्ता योजनाहरू ९ रुपैयाँ २५ पैसादेखि ९ रुपैयाँ ९५ पैसाको बीचमा कारोबार भइरहेका छन्। यी फन्डहरूको न्याभ भने १० देखि ११ रुपैयाँको बीचमा छ। १० रुपैयाँभन्दा कममा शेयर उठाएर १० रुपैयाँ माथिको सम्पत्तिमा हिस्सेदार बन्न पाउनु आफैँमा दुर्लभ अवसर हो। यस्ता फन्डहरूमा लगानी गर्दा भविष्यमा बजार बढ्दा हुने पुँजीगत लाभ र तत्काल पाइने लाभांश दुवैको लाभ लगानीकर्तालाई हुने देखिन्छ।

सूचीकृत फन्डहरूमध्ये एचएलआई लार्ज क्याप फन्ड मात्र एउटा यस्तो अपवाद देखिएको छ, जसको बजार मूल्य न्याभभन्दा केही बढी छ। यसबाहेकका अन्य सबै ४२ वटा फन्डहरू 'अन्डरभ्यालुड' रहनुले नेपाली बजारमा म्युचुअल फन्डप्रति लगानीकर्ताको मनोविज्ञान अझै परिपक्व हुन बाँकी रहेको संकेत गर्छ। यद्यपि, सुरक्षित लगानी र निश्चित प्रतिफल चाहने संस्थागत तथा व्यक्तिगत लगानीकर्ताका लागि यो अवस्था एउटा 'सुनौलो ढोका' हो।

आगामी असार मसान्तसम्मको डेढ महिनाको समय लगानीकर्ताका लागि आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्ने महत्त्वपूर्ण घडी हो। न्याभभन्दा १ देखि २ रुपैयाँसम्म सस्तोमा पाइने र लाभांशको समय नजिकिँदै गरेका म्युचुअल फन्डहरूले आगामी दिनमा बजारमा नयाँ उत्साह थप्ने निश्चित छ। थोरै पुँजी भएका साना लगानीकर्तादेखि ठूला लगानीकर्तासम्मका लागि जोखिमका हिसाबले सुरक्षित र प्रतिफलका हिसाबले लाभदायक क्षेत्रका रूपमा अहिले म्युचुअल फन्डहरू नै अग्रपंक्तिमा देखिएका छन्।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।