अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै आईओसीले हरेक १५ दिनमा पठाउने मूल्यसूची अन्तर्गत हिजो (१ तारिख) पठाएको दररेटमा ठुलो वृद्धि देखिएको छ। निगम स्रोतका अनुसार यसपटक भारतबाट इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँभन्दा बढी अर्थात् दोहोरो अङ्कले बढेर आएको छ।

किन बस्दै छ सञ्चालक समितिको बैठक ?
स्वचालित मूल्य प्रणाली अनुसार २ रुपैयाँ वा करिब १ प्रतिशतसम्म मूल्य हेरफेर गर्ने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। तर, यसपटक प्राप्त मूल्य १ प्रतिशतभन्दा धेरैले बढेर आएका कारण मूल्य समायोजनका लागि अनिवार्य रूपमा सञ्चालक समितिको निर्णय आवश्यक परेको हो।
कानुनी व्यवस्था अनुसार २ रुपैयाँभन्दा बढी मूल्य बढाउनु वा घटाउनु परेमा निगमको सञ्चालक समितिको बैठक बसेर निर्णय गर्नुपर्ने हुन्छ। हिजो शनिबार सार्वजनिक बिदा परेका कारण सञ्चालक समितिको बैठक बस्न नसकेकाले नयाँ मूल्यसूची सार्वजनिक गर्न ढिलाइ भएको निगमले जनाएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नयाँ मूल्यमा ठुलो परिवर्तन देखिएकाले सञ्चालक समितिको बैठकपछि मात्र आधिकारिक रूपमा मूल्य समायोजनको निर्णय हुनेछ।
को-को छन् सञ्चालक समितिमा ?
हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी निगमको सञ्चालक समितिको अध्यक्ष छन्। समितिका अन्य सदस्यहरूमा उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, अर्थ मन्त्रालयका सहसचिव शङ्करबहादुर केसी, गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी र वाणिज्य विभागका महानिर्देशक मोतिराम सापकोटा छन्। त्यस्तै, विज्ञ सदस्यका रूपमा नरबहादुर ऐर, सदस्य सचिवमा इन्जिनियर दीपक बराल र आमन्त्रित सदस्यमा आधिकारिक ट्रेड युनियनका वीरेन्द्रबहादुर चन्द छन्।
आईओसीबाट मूल्य बढेर आएका कारण उपभोक्ताले अब पेट्रोलियम पदार्थका लागि बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। सञ्चालक समितिको बैठक छिट्टै बसेर नयाँ मूल्य कार्यान्वयनमा ल्याउने तयारी निगमले गरेको छ।