नेपालीको औसत आयु बढ्यो, कति पुग्यो ?  साक्षरतामा सुधार, गरिबी र बेरोजगारी अझै चुनौती

Jul 03, 2026 11:53 AM Merolagani



राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रका प्रमुख सूचकहरू समेटिएको 'इन्फोग्राफिक्स' सार्वजनिक गरेको छ। 

राष्ट्रिय जनगणना २०७८, नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८०, कृषि गणना २०७८ र अन्य औद्योगिक तथा व्यापारिक सर्वेक्षणहरूका आधारमा तयार पारिएको यो प्रतिवेदनले नेपालको बदलिँदो सामाजिक संरचना र आर्थिक अवस्थाको विस्तृत तस्बिर प्रस्तुत गरेको छ ।

तथ्याङ्कअनुसार नेपालले साक्षरता, औसत आयु र विद्युत् पहुँच जस्ता क्षेत्रमा उल्लेखनीय प्रगति गरेको देखिए पनि गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र कृषि क्षेत्रको उत्पादकत्वमा भने अझै ठुला चुनौतीहरू बाँकी नै रहेका छन् ।

जनसाङ्ख्यिक अवस्था र औसत आयुमा सुधार

तथ्याङ्क कार्यालयका अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जनसङ्ख्या वृद्धिदर भने घट्दो क्रममा छ, जुन हाल वार्षिक ०.९२ प्रतिशत मात्र रहेको छ । प्रतिवेदनको एक सकारात्मक पक्ष नेपालीको औसत आयुमा भएको वृद्धि हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ, जसमा पुरुषको ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको छ । २०३८ सालमा नेपालीको औसत आयु मात्र ४९.८ वर्ष रहेको तुलनामा यो ठुलो फड्को हो ।

यस्तै, जनसङ्ख्याको बनोटमा काम गर्ने उमेर समूह (१५ देखि ५९ वर्ष) को हिस्सा ६१.९६ प्रतिशत रहेको छ, जसलाई 'जनसाङ्ख्यिक लाभांश'को रूपमा हेरिएको छ । तर, यसरी काम गर्ने उमेरका युवाहरू रोजगारीको अभावमा विदेशिने क्रम पनि उत्तिकै उच्च छ । तथ्याङ्क अनुसार १५ लाख ५५ हजार २६१ परिवारका २१ लाख ९० हजार ५९२ जना व्यक्तिहरू विदेशमा अक्सर बसोबास गरिरहेका छन् ।

साक्षरतामा फड्को र सामाजिक सूचक
नेपालको साक्षरता दरमा अभूतपूर्व सुधार आएको छ । वि.सं. २००९/११ को जनगणनामा मात्र ५.३ प्रतिशत रहेको साक्षरता दर २०७८ सम्म आइपुग्दा ७६.२ प्रतिशत पुगेको छ । पुरुष साक्षरता ८३.६ प्रतिशत र महिला साक्षरता ६९.४ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा बागमती प्रदेश सबैभन्दा साक्षर (८२.१ प्रतिशत) छ भने मधेश प्रदेश सबैभन्दा कम (६३.५ प्रतिशत) साक्षर रहेको छ ।

सामाजिक संरचनामा आएको अर्को ठुलो परिवर्तन 'एकल परिवार' (Nuclear Family) को बढ्दो सङ्ख्या हो । हाल नेपालमा ६० प्रतिशत परिवार एकल छन् भने ३९.९३ प्रतिशत मात्र संयुक्त परिवार रहेका छन् । यस्तै, नेपालीको पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष पुगेको छ ।

गरिबीको नयाँ रेखा: २०.२७ प्रतिशत जनता गरिब
नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) का अनुसार नेपालको २०.२७ प्रतिशत जनसङ्ख्या अझै पनि गरिबीको रेखा मुनि रहेको छ । ग्रामीण क्षेत्रमा गरिबीको दर २४.६६ प्रतिशत छ भने सहरी क्षेत्रमा १८.३४ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ३४.१६ प्रतिशत गरिबी छ भने बागमती प्रदेशमा सबैभन्दा कम १२.५९ प्रतिशत मात्र रहेको छ ।

नयाँ मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष कुल खर्च ७२ हजार ९०८ रुपैयाँ भन्दा कम गर्ने व्यक्तिलाई गरिबको सूचीमा राखिएको छ । बहुआयामिक गरिबीको सूचकाङ्क (MPI) अनुसार भने १७.४ प्रतिशत नेपाली गरिब रहेका छन् ।

अर्थतन्त्रको आकार र प्रतिव्यक्ति आय
चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार (उपभोक्ता मूल्यमा) ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय (Per Capita GNI) १४५६ अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्ष १४०५ डलर रहेको थियो ।

अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६२.९ प्रतिशत रहने अनुमान छ भने कृषि (प्राथमिक) क्षेत्रको योगदान २४.६ प्रतिशत र द्वितीय (उद्योग) क्षेत्रको योगदान १२.५ प्रतिशतमा खुम्चिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै जानुले अर्थतन्त्र सेवामुखी बन्दै गएको सङ्केत गर्दछ ।

बेरोजगारी र श्रम बजारको अवस्था
नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । श्रम बजारमा अर्को डरलाग्दो तथ्य यो छ कि रोजगारीमा रहेकाहरू मध्ये ८४.६ प्रतिशत व्यक्तिहरू 'अनौपचारिक' क्षेत्रमा कार्यरत छन् । अनौपचारिक क्षेत्रमा सुरक्षा र स्थायित्व कम हुने भएकाले यसले श्रमिकहरूको आर्थिक भविष्यमा जोखिम बढाएको देखिन्छ ।

कृषि र औद्योगिक क्षेत्रको अवस्था
नेपाल अझै पनि कृषि प्रधान देश भनिए पनि कृषि कार्य गर्ने जग्गाको क्षेत्रफल घट्दै गएको छ । २०६८ सालमा २५ लाख २५ हजार हेक्टर जग्गामा कृषि कार्य भएकोमा २०७८ सम्म आइपुग्दा यो घटेर २२ लाख १८ हजार हेक्टरमा सीमित भएको छ । यद्यपि, कृषक परिवारको सङ्ख्या भने बढेर ४१ लाख ३० हजार पुगेको छ । यसले कृषियोग्य जमिनको खण्डीकरण तीव्र भइरहेको देखाउँछ ।

औद्योगिक क्षेत्रको कुरा गर्दा नेपालमा ६० हजार १८५ वटा उद्योग प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन्, जसमा ४ लाख ९१ हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । व्यापार क्षेत्रमा भने ४ लाख ९८ हजार ५८ वटा प्रतिष्ठानहरू रहेको र तिनमा करिब ४० लाख व्यक्ति संलग्न रहेको तथ्याङ्कले देखाएको छ ।

सुधारिँदो जीवनशैली र वातावरण
नेपालीहरूको जीवनस्तरमा केही भौतिक सुधारहरू देखिएका छन् । ९२.२ प्रतिशत परिवारमा बिजुलीको पहुँच पुगेको छ भने खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत पुगेका छन् । ५७ प्रतिशत परिवारले पाइपबाट वितरण गरिने खानेपानीको पहुँच पाएका छन् र ९५.५ प्रतिशत परिवारसँग शौचालयको सुविधा छ ।

यस्तै, जलवायु परिवर्तनका बारेमा ३५.८ प्रतिशत नेपाली जानकार रहेको पाइएको छ । रेडियो र टेलिभिजन सूचनाको मुख्य स्रोत बनेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको यो विस्तृत इन्फोग्राफिक्सले नेपालले सामाजिक सूचकहरूमा प्रगति गरिरहेको देखाए पनि आर्थिक आत्मनिर्भरता र मर्यादित रोजगारी सिर्जनामा अझै धेरै काम गर्नुपर्ने आवश्यकतालाई औँल्याएको छ । विशेष गरी बढ्दो वैदेशिक रोजगारी, घट्दो कृषि उत्पादन र अनौपचारिक श्रम बजारले अर्थतन्त्रमा दीर्घकालीन चुनौती थपेको छ । यो तथ्याङ्कले सरकारलाई आगामी १६औँ योजना र दिगो विकास लक्ष्य (SDG) प्राप्तिमा नीति निर्माण गर्न ठोस आधार प्रदान गर्ने विश्वास गरिएको छ ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।