राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलोपटक सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ को प्रतिवेदनले नेपालीहरू घुमघाममा कति सौखिन र उदार बन्दै गएका छन् भन्ने तथ्यलाई ४ खर्ब रुपैयाँभन्दा बढीको खर्चले पुष्टि गरिदिएको छ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा आन्तरिक पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.६५ प्रतिशतको महत्वपूर्ण हिस्सा ओगटेको छ। यो केवल तथ्याङ्क मात्र होइन, नेपालीहरूको बदलिँदो जीवनशैली र आर्थिक चलायमानको एउटा दमदार चित्र पनि हो।
४ खर्ब १७ अर्बको खर्च: घुमघाममा नेपालीको ठूलो लगानी
तथ्याङ्क कार्यालयका अनुसार नेपालमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये रात बिताउने पर्यटकहरूले ३ खर्ब १४ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेका छन् भने सोही दिन फर्किनेहरूले ९२ अर्ब ७६ करोड रुपैयाँ बजारमा खन्याएका छन्। यसरी भएको उपभोगबाट देशको उत्पादन प्रक्रियामा ३ खर्ब ३१ अर्ब ८४ करोडको योगदान पुगेको छ भने मध्यवर्ती उपभोग कटाउँदा पर्यटन क्षेत्रले थप १ खर्ब ४४ अर्ब ४९ करोड बराबरको मूल्य अभिवृद्धि गरेको छ।
‘जेनजी’ पुस्ता: पर्यटनका नयाँ इन्जिन
सर्वेक्षणले नेपालको पर्यटन अर्थतन्त्र अब युवा पुस्ताको काँधमा सरेको देखाएको छ। विशेषगरी १३ देखि २८ वर्ष उमेर समूहका ‘जेनेरेसन जी’को सहभागिता सबैभन्दा उच्च (२६.६ प्रतिशत) देखिएको छ। त्यसपछि जेनेरेसन अल्फा र बिटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत र जेनेरेसन वाई (२९–४४ वर्ष) को हिस्सा २२ प्रतिशत रहेको छ।
युवा पुस्ताले बारम्बार भ्रमण गर्ने र नयाँ ठाउँको अनुभव लिन रुचाउने प्रवृत्तिले गर्दा पर्यटन व्यवसायमा नयाँ गति आएको प्रतिवेदनले औँल्याएको छ। उमेर बढ्दै जाँदा भने भ्रमणको दर घट्दै गएको पाइएको छ, जसले पर्यटन बजारका लागि युवाहरू नै प्राथमिक लक्षित समूह हुन् भन्ने देखाउँछ।
आधाभन्दा बढी घरपरिवार पर्यटकीय गतिविधिमा
नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये आधाभन्दा बढी अर्थात् ५२.४ प्रतिशत (३६ लाख २१ हजार) घरपरिवारले वर्षमा कम्तीमा एकपटक पर्यटकीय भ्रमण गरेका छन्। बाँकी ४७.६ प्रतिशत घरपरिवार भने अहिलेसम्म घुमघामको पहुँचबाट बाहिरै छन्। प्रतिहजार घरपरिवारमा ५२३ परिवार पर्यटकीय गतिविधिमा संलग्न हुनुले आन्तरिक पर्यटन सामाजिक महत्त्वको विषय बनिसकेको सङ्केत गर्दछ।
भ्रमणको उद्देश्य: नातागोता भेटघाटदेखि किनमेलसम्म
नेपालीहरू रात बिताउने गरी घरबाहिर निस्कनुको मुख्य उद्देश्य घुमघाम वा मनोरञ्जनभन्दा पनि सामाजिक सम्बन्धको नवीकरण देखिन्छ। ६५.५ प्रतिशत पर्यटकले साथीभाइ र आफन्त भेट्नका लागि रात बिताउने गरी भ्रमण गर्ने गरेका छन्। तर, सोही दिन फर्किने पर्यटकको हकमा भने किनमेल (३२.६ प्रतिशत) सबैभन्दा ठूलो प्राथमिकतामा छ।
गन्तव्यमा काठमाडौँ र कास्कीको राज
व्यापार, स्वास्थ्य र शिक्षाका लागि काठमाडौँ देशकै प्रमुख गन्तव्य बनेको छ भने मनोरञ्जन र बिदा मनाउन चाहनेहरूका लागि कास्की (पोखरा) पहिलो रोजाइमा कायमै छ। यस्तै चितवन पनि प्रमुख गन्तव्यको सूचीमा अगाडि छ।
प्रदेशगत रूपमा गण्डकी प्रदेशका बासिन्दा सबैभन्दा बढी घुमन्ते देखिएका छन्, जहाँ एक पर्यटकले वर्षमा औसत ६.२६ पटक भ्रमण गर्दछन्। सुदूरपश्चिम र मधेश प्रदेशमा भने पर्यटकको औसत बसाइ अवधि (८.१८ दिन) सबैभन्दा लामो देखिएको छ।
बाह्य भ्रमणमा किनमेलको दबदबा
नेपालीहरू विदेश भ्रमणमा निस्कँदा मुख्य उद्देश्य ‘किनमेल’ मै केन्द्रित हुने गरेको पाइएको छ। सोही दिन फर्किने बाह्य भ्रमणको ६३.९ प्रतिशत र रात बिताउने बाह्य भ्रमणको ४०.३ प्रतिशत हिस्सा किनमेलले ओगटेको छ। धार्मिक उद्देश्यका लागि १९.६ प्रतिशत नेपालीले बाह्य भ्रमण गर्ने गरेका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयको यो पहिलो देशव्यापी सर्वेक्षणले नेपाली पर्यटन क्षेत्रमा ‘आन्तरिक पर्यटक’ नै असली मेरुदण्ड हुन् भन्ने प्रमाणित गरिदिएको छ। युवा पुस्ताको सक्रियता, सामाजिक सञ्जालको प्रभाव र बढ्दो मध्यम वर्गका कारण नेपालको पर्यटन बजार अब बाह्य पर्यटकको मुख ताक्ने अवस्थाबाट बिस्तारै आत्मनिर्भरतातर्फ अघि बढेको देखिन्छ। यो तथ्याङ्कले सरकार र निजी क्षेत्रलाई पर्यटन पूर्वाधार र बजेट व्यवस्थापनमा नयाँ सोचका साथ अघि बढ्न ठोस आधार प्रदान गरेको छ।