नेपालमा डिजिटल करेन्सीले पाउँदै कानुनी मान्यता, नोट र सिक्का सरह बजारमा चल्ने

Jul 05, 2026 05:43 AM Merolagani



नेपालमा भौतिक नोट र सिक्का जस्तै डिजिटल करेन्सी (केन्द्रीय बैंक डिजिटल मुद्रा –सीबीडीसी) ले पनि कानुनी मान्यता पाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा संघीय संसदमा पेस गरिएको ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ मार्फत डिजिटल करेन्सीलाई कानूनी मान्यता दिलाउने प्रस्ताव गरिएको हो।

विधेयक पारित भएसँगै नेपाल राष्ट्र बैंकले जारी गर्ने डिजिटल मुद्रा सर्वसाधारणले वस्तु तथा सेवा खरिद गर्दा वा सार्वजनिक तथा व्यक्तिगत ऋण चुक्ता गर्दा नोट र सिक्का सरह नै प्रयोग गर्न पाउनेछन्। ऐनको साविकको व्यवस्थामा रहेको ‘करेन्सी’ को परिभाषालाई परिमार्जन गरी ‘डिजिटल करेन्सी’ लाई समेत कानुनी रूपमा समावेश गरिएकाले यसलाई नेपालको वित्तीय इतिहासमा ठूलो फड्को मानिएको छ।

डिजिटल अर्थतन्त्र र भुक्तानी प्रणालीमा पर्ने प्रभाव

यो व्यवस्था कार्यान्वयनमा आएसँगै नेपालको भुक्तानी प्रणालीमा आमूल परिवर्तन आउने अनुमान छ। भौतिक नोट छपाइ, ढुवानी र व्यवस्थापनमा राज्यको अर्बौँ रुपैयाँ खर्च भइरहेको परिप्रेक्ष्यमा डिजिटल करेन्सीको आगमनले सो खर्चमा उल्लेख्य कटौती ल्याउनेछ। वित्तीय प्रविधिको विकासलाई यसले नयाँ उचाइ दिनेछ भने नगदरहित अर्थतन्त्र निर्माणको सरकारी लक्ष्यलाई सीधा सघाउ पुर्याउनेछ। भुक्तानी प्रणाली पारदर्शी हुने भएकाले अनौपचारिक अर्थतन्त्रको आकार घट्ने र वित्तीय साक्षरता तथा पहुँच गाउँ–गाउँसम्म पुग्ने विश्वास लिइएको छ।

डिजिटल बैंक र वित्तीय होल्डिङ कम्पनीहरू राष्ट्र बैंकको दायरामा

संशोधन विधेयकले प्रविधिको विकास र बदलिँदो वित्तीय परिदृश्यलाई सम्बोधन गर्न ‘वित्तीय संस्था’ को दायरालाई व्यापक बनाएको छ। अब भौतिक शाखा नभएका ‘डिजिटल बैंक’, ठूला लगानीकर्ताका ‘वित्तीय होल्डिङ कम्पनी’, विप्रेषण कारोबार गर्ने संस्था, भुक्तानी प्रणाली र भुक्तानी सेवा प्रदायक संस्थाहरू औपचारिक रूपमा नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन र सुपरिवेक्षणभित्र समेटिनेछन्।

यसअघि स्पष्ट कानुनी व्यवस्थाको अभावमा नियमनमा रहेका केही अस्पष्टताहरू अब हट्नेछन्। वित्तीय क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र संस्थाहरू राष्ट्र बैंकको कडा सुपरिवेक्षणमा आउने भएपछि सर्वसाधारणको निक्षेप र डिजिटल भुक्तानी थप सुरक्षित तथा भरपर्दो हुने अपेक्षा गरिएको छ।

यो विधेयक स्वीकृत भएमा नेपाल औपचारिक रूपमा आफ्नै डिजिटल मुद्रा (सीबीडीसी) जारी गर्ने र डिजिटल बैंकिङलाई पूर्ण कानुनी सुरक्षा दिने विश्वका सीमित मुलुकहरूको सूचीमा उभिनेछ।

कहाँ कहाँ प्रयोगमा छ डिजिटल मुद्रा (सीबीडीसी)

विश्वभर केन्द्रीय बैंक डिजिटल मुद्राको विकास तीव्र भए पनि पूर्ण कार्यान्वयन भने अझै सीमित छ। हालसम्म बहामास (‘स्यान्ड डलर’), नाइजेरिया (‘इ–नाइरा’), जमैका (‘ज्याम–डेक्स’), जिम्बावे र पूर्वी क्यारिबियन मुलुकहरू (८ टापु राष्ट्र)ले यसलाई पूर्ण रूपमा लागू गरिसकेका छन्।

अर्कोतर्फ, ठूला अर्थतन्त्रहरू विस्तृत परीक्षणकै चरणमा छन्। चीनले ‘इ–सीएनवाई’ मार्फत ३० भन्दा बढी सहर र कर्मचारीको तलबमा यसको परीक्षण गरिरहेको छ भने भारतले ‘इ–रुपैयाँ’ लाई क्युआर कोड र अफलाइन वालेटसँग जोड्दै छ। रुस र युएई पनि परीक्षणमै छन्। युरोपेली संघ र बेलायत अध्ययनको चरणमा रहँदा नेपाल राष्ट्र बैंक पनि ऐन संशोधन गरी अनुसन्धानमै छ। गोपनीयता र स्टेबलक्वाइनका कारण अमेरिकाले भने यो योजना तत्काल थाती राखेको छ।

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।