उनीहरू केवल आफ्नो करिअर बनाउन चाहँदैनन्, उनीहरू आफ्नो पहिचान निर्माण गर्न चाहन्छन्।सुदूरपश्चिमको धनगढीमा जन्मिएकी र काठमाडौँलाई आफ्नो कर्मथलो बनाएकी प्रकृति ढुंगेल त्यस्तै एक साहसी युवती हुन्, जसलाई आज धेरैले 'ब्याम्बो गर्ल' (Bamboo Girl) का रूपमा चिन्छन्।
तर यो पहिचान, यो सफलता र 'ब्याम्बो बजार' (Bamboo Bazar) को ब्रान्ड बन्ने यात्राको पछाडि संघर्ष, असफलता, आँसु, निरन्तर मेहनत र अटुट आत्मविश्वासको लामो कथा लुकेको छ।
प्रकृतिको उद्यमशील यात्रा कुनै ठूलो लगानी वा पूर्वनिर्धारित व्यवसायिक योजनाबाट सुरु भएको थिएन। काठमाडौँको किङ्ग्स कलेजमा अध्ययनरत रहँदा उनले करिब ८ महिनासम्म जागिर गरिन्। तर त्यो जागिरले उनलाई आर्थिकभन्दा पनि मानसिक रूपमा एउटा महत्वपूर्ण पाठ सिकायो,उनी अरूको निर्देशनमा काम गरेर सन्तुष्ट हुने व्यक्ति होइनन्।
"म आफूलाई राम्रो कर्मचारी मान्दिनँ," उनी मुस्कुराउँदै भन्छिन्। "किनकि मेरो मन सधैं आफ्नै केही गर्ने, आफ्नै पहिचान बनाउने र केही नयाँ सिर्जना गर्ने चाहनाले भरिएको थियो।"
त्यसपछि उनले एउटा यस्तो निर्णय गरिन्, जुन धेरै युवाहरूका लागि जोखिमपूर्ण मानिन्थ्यो। उनले आफ्नो जागिरलाई "जीवनको अन्तिम जागिर" भन्दै राजीनामा दिइन्। त्यतिबेला उनीसँग कुनै ठूलो लगानी थिएन, कुनै व्यवसायिक पृष्ठभूमि थिएन र सफलताको कुनै ग्यारेन्टी पनि थिएन। थियो त केवल एउटा सपना, एउटा दृढ संकल्प र आफूले केही गर्न सक्छु भन्ने विश्वास।
प्रकृतिले आफ्ना सहकर्मीसँग मिलेर केवल १० हजार रुपैयाँको लगानीमा कलेज प्रोजेक्टका रूपमा 'ब्याम्बो बजार' सुरु गरिन्। सुरुमा यो केवल एउटा सानो प्रयोग थियो। तर बिस्तारै त्यो प्रयोग एउटा उद्देश्यमा बदलियो। प्लास्टिकको विकल्प खोज्ने र नेपाली कच्चा पदार्थको प्रयोगबाट दिगो व्यवसाय निर्माण गर्ने।
व्यवसाय सञ्चालन गर्ने आधारभूत ज्ञानसमेत नभएको अवस्थामा उनले अनेक चुनौतीहरूको सामना गर्नुपर्यो। बिल कसरी बनाउने, क्यास फ्लो कसरी व्यवस्थापन गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने, उत्पादन व्यवस्थापन कसरी गर्ने ? सबै कुरा उनले सिक्दै अघि बढ्नुपर्यो।
"हाम्रो परिवारमा कसैले पनि व्यवसाय गरेका थिएनन्," उनी सम्झिन्छिन्। "त्यसैले हामीसँग सिकाउने कोही थिएन। हामीले गल्ती गर्दै, सिक्दै र फेरि उठ्दै यात्रा गर्नुपर्यो।"
ब्याम्बो बजारको सुरुवाती चरण प्रकृतिका लागि जीवनकै सबैभन्दा कठिन र चुनौतीपूर्ण समय थियो। सीमित स्रोत, सानो मेशिन र ठूलो सपना लिएर अगाडि बढ्दा उनी र उनको टिमले असम्भवजस्तै लाग्ने संघर्षहरू पनि गरे।
प्रकृति सम्झिन्छिन्, "हाम्रो मेशिन निकै सानो र ढिलो थियो। कहिलेकाहीँ हामी लगातार ६ दिन र ६ रातसम्म राम्रोसँग नसुती काम गर्थ्यौँ। उत्पादन तयार गर्न, प्याकिङ गर्न र ग्राहकसम्म पुर्याउन हामीले आफ्नो सम्पूर्ण समय लगाएका थियौँ।"
त्यो समयमा शारीरिक थकानभन्दा पनि मानसिक दबाब धेरै थियो। व्यवसाय सफल हुन्छ कि हुँदैन भन्ने अनिश्चितता, आर्थिक दबाब र भविष्यको चिन्ताले धेरै पटक उनलाई निराश बनायो।
"धेरै पटक मलाई लाग्थ्यो, मबाट यो सम्भव छैन कि! अब छोडिदिऊँ कि!" उनी भन्छिन्।
तर हरेक पटक उनले हार मान्न खोज्दा एउटा कुराले उनलाई फेरि उठायो । ग्राहकहरूको विश्वास।
प्रकृतिका अनुसार, व्यवसायको सबैभन्दा ठूलो पूँजी पैसा होइन, ग्राहकको विश्वास हो। सुरुवाती दिनहरूमा दराज र अन्य डिजिटल प्लेटफर्महरूमा ग्राहकहरूले दिएका सकारात्मक प्रतिक्रिया र समीक्षाहरूले उनलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्यो।
"जब ग्राहकहरूले हाम्रो उत्पादनको प्रशंसा गर्थे, राम्रो समीक्षा लेख्थे र फेरि अर्डर गर्थे, तब मलाई लाग्थ्यो । हामी सही बाटोमा छौँ," उनी भन्छिन्।
त्यसैगरी, उनको टिमको विश्वास र साथले पनि उनलाई कहिल्यै हार मान्न दिएन। उनी भन्छिन्, "जब कसैले तपाईंमाथि विश्वास गर्छ, तब तपाईं आफैंले पनि आफूलाई फेरि विश्वास गर्न सिक्नुहुन्छ।"
आज 'ब्याम्बो बजार' केवल एउटा व्यापारिक ब्रान्ड होइन। यो प्लास्टिकमुक्त र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्ने एउटा अभियान बनिसकेको छ।
ब्याम्बो बजारले बाँसबाट निर्मित टूथब्रस, टोकरी, घरेलु सामग्री र अन्य विभिन्न उपयोगी वस्तुहरू उत्पादन गर्दै आएको छ। यसले एकातिर प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउन सहयोग गरेको छ भने अर्कोतर्फ नेपाली कच्चा पदार्थको सम्भावनालाई पनि उजागर गरेको छ।
नेपालमा विश्वको करिब ५ प्रतिशत बाँस पाइने तथ्यलाई आधार मान्दै प्रकृतिले बाँस उद्योगलाई भविष्यको ठूलो सम्भावना बोकेको क्षेत्रका रूपमा हेरेकी छन्।
उनका अनुसार, "हामीसँग स्रोत छ,कच्चा पदार्थ छ र युवाशक्ति पनि छ। आवश्यकता केवल सही सोच र सही प्रयासको हो।"
आज धेरै युवाहरू व्यवसाय सुरु गर्न चाहन्छन्, तर असफलताको डरले पछि हट्छन्। प्रकृति भने युवाहरूलाई फरक सन्देश दिन्छिन्।
"धेरै नसोच्नुस्। सानोबाट सुरु गर्नुस्। रिस्क लिन नडराउनुस्," उनी भन्छिन्,"हामी युवा छौँ। हामीसँग असफल हुने, सिक्ने र फेरि उठ्ने समय छ। यदि तपाईं सपना देख्न सक्नुहुन्छ भने, त्यसलाई पूरा गर्ने क्षमता पनि तपाईंभित्र नै हुन्छ।"
धनगढीबाट सुरु भएको एउटा सामान्य युवतीको यात्रा आज हजारौँ युवाका लागि प्रेरणाको स्रोत बनेको छ। १० हजार रुपैयाँको लगानी, एउटा सानो कलेज प्रोजेक्ट र ठूलो सपना बोकेर सुरु भएको 'ब्याम्बो बजार' आज सफल उद्यमको उदाहरण बनेको छ।
प्रकृति ढुंगेल अर्थात् 'ब्याम्बो गर्ल' को कथाले हामीलाई एउटा महत्वपूर्ण सत्य सम्झाउँछ । सफलता ठूलो लगानीबाट होइन, ठूलो सोच, निरन्तर संघर्ष र आफूले गरेको कामप्रतिको अटुट विश्वासबाट जन्मिन्छ।