तथ्याङ्क कार्यालयका अनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीव बिमा प्रिमियम संकलन र व्यापार सेवा जस्ता आर्थिक क्रियाकलापमा आएको सुधारले आर्थिक वृद्धिलाई मुख्य सहयोग पुर्याएको छ।
जलविद्युतको बलियो योगदान
यस अवधिमा अर्थतन्त्रमा समाविष्ट १८ वटा औद्योगिक वर्गीकरणहरूमध्ये १६ वटा क्षेत्रको वृद्धिदर धनात्मक रहने अनुमान छ । जसमा सबैभन्दा बढी योगदान विद्युत तथा ग्यास क्षेत्रको देखिएको छ, जसको वृद्धिदर २४.८८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको वृद्धिदर भने यस त्रैमासमा १.५८ प्रतिशतमा सीमित हुने अनुमान छ । धान बालीको उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी, फलफूल र वन पैदावारको उत्पादनमा भएको सामान्य सुधारले यो क्षेत्रलाई धनात्मक बनाउन सहयोग गरेको देखिन्छ।

औद्योगिक र प्रशासनिक क्षेत्रमा गिरावट
सकारात्मक सूचकहरूका बाबजुद अर्थतन्त्रका दुई प्रमुख क्षेत्रमा भने संकुचन आएको छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धि हुने अनुमान गरिएको छ । निर्माण सामग्रीको आयातमा भएको गिरावट, धान बालीमा आएको कमी र केही घरेलु वस्तुहरूको उत्पादन घट्नुले समग्र आर्थिक वृद्धिदरलाई सामान्य अवस्थामा खुम्च्याएको हो।
त्रैमासिक तुलनात्मक सूचक
मौसमी प्रभाव समायोजित (क्वाटर अन क्वाटर) तथ्याङ्कलाई आधार मान्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ०.५८ प्रतिशतले मात्र वृद्धि भएको प्रारम्भिक अनुमान छ ।
नेपालले आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर त्रैमासिक राष्ट्रिय लेखा अनुमान नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। छोटो अवधिमा अर्थतन्त्रमा आउने उतारचढाव र आर्थिक दिशाबोध बुझ्नका लागि यो तथ्याङ्क महत्वपूर्ण मानिन्छ ।