ब्रोकर कम्पनीहरुले अर्बौँ रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन्। तर, बजारको नियामक र सञ्चालक मानिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले भने आफ्नै कार्यविधिले तोकेको ‘अनिवार्य सूचना’ लुकाएर पारदर्शीताको धज्जी उडाएको छ।
नेप्सेले जारी गरेको ‘मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि’ को परिच्छेद–८ को बुँदा नम्बर २१ मा सूचना सम्प्रेषण सम्बन्धी कडा व्यवस्था छ। उक्त बुँदाको उपदफा (२) मा स्पष्ट लेखिएको छ—"हरेक दिन भएको मार्जिन कारोवार सुविधा अन्तर्गतको कारोवारलाई नेप्सेले अनुसूची–५ को ढाँचामा अर्को कारोबार दिन सम्ममा आफ्नो वेबसाइटमार्फत सम्प्रेषण गर्नेछ।"
(हेर्नुहोस् फोटोमा कार्यविधि र अनुसूची)

विडम्बना ! ब्रोकरहरूले दैनिक रूपमा मार्जिन कर्जाको रिपोर्टिङ नेप्सेलाई गरिरहेका छन्। तर नेप्सेले भने उक्त तथ्याङ्क वेबसाइटमा सार्वजनिक नगरी लगानीकर्तालाई अन्धकारमा राखेको छ।
ब्रोकरहरूले आफ्नो पुँजी र बैंकबाट लिएको ऋणसमेत लगानी गर्न थालिसकेका बेला कुन कम्पनीको शेयरमा कति मार्जिन कर्जा प्रवाह भयो भन्ने जानकारी पाउनु आम लगानीकर्ताको कानुनी अधिकार हो। तर, कार्यविधि लागू भएको लामो समय बितिसक्दा पनि नेप्सेले अनुसूची–५ बमोजिमको ढाँचा (सूचीकृत संस्थाको नाम, शेयरको किसिम, कुल शेयर संख्या र लगानी गरिएको कुल रकम) सार्वजनिक नगर्नुले नेप्सेको नियतमाथि प्रश्न उठाएको छ।

नेप्सेको कार्यविधि अनुसार ब्रोकरले कारोबार भएको अर्को दिन मध्याह्न १२ बजेभित्र नेप्सेलाई विवरण बुझाउनुपर्छ र सोही दिन नेप्सेले आफ्नो वेबसाइटमा राख्नुपर्छ। ब्रोकरहरूले नियम पालना गरिरहँदा नेप्से जस्तो जिम्मेवार निकायले भने प्रविधिको बहाना बनाएर वा नियतवश सूचना लुकाएर बजारलाई अपारदर्शी बनाउन खोजेको आरोप लाग्न थालेको छ।
बजारमा मार्जिन ट्रेडिङ सुरु हुनुको मुख्य उद्देश्य नै बजारमा तरलता बढाउनु र लगानीकर्तालाई सहजता प्रदान गर्नु हो। तर, कुन कम्पनीको कति कित्ता शेयर ‘मार्जिन’ मा छ भन्ने तथ्याङ्क सार्वजनिक नहुँदा बजारमा कस्तो जोखिम सिर्जना भइरहेको छ भन्ने कुराबाट लगानीकर्ता पूर्णतः अनभिज्ञ छन्।
नेप्सेको वेबसाइटमा यतिबेला शेयर मूल्य र नियमित कारोबारको विवरण त देखिन्छ, तर मार्जिन ट्रेडिङको छुट्टै ‘ट्याब’ वा सूचना कतै पनि भेटिँदैन। अनुसूची–५ मा नेप्सेले सम्प्रेषण गर्नुपर्ने सूचनाको स्पष्ट ढाँचा हुँदाहुँदै पनि त्यसलाई कार्यान्वयनमा नलैजानु नेप्सेको कार्यक्षमतामाथिको गम्भीर प्रश्न हो।
"ब्रोकरहरूले दैनिक रिपोर्टिङ गरिरहेका छन्, तर नेप्सेले किन वेबसाइटमा अपडेट गर्दैन? यो त सिधै कार्यविधिको उल्लंघन हो," एक सक्रिय लगानीकर्ताले गुनासो गरे। सूचना लुकाउँदा भित्री रूपमा चलखेल हुने र बजारको वास्तविक गहिराई पत्ता लगाउन गाह्रो हुने उनको बुझाइ छ।
#
नेप्सेले आफ्नै वेबसाइटमार्फत दैनिक रूपमा मार्जिन कर्जाको विवरण सार्वजनिक नगर्नु भनेको शेयर बजारको पारदर्शितामाथि गम्भीर प्रहार हो। ब्रोकरहरू कोषको अभाव र बैंकको अनिच्छाका बीच पनि सेवा दिन तयार छन्। तर नेप्से भने सूचना प्रवाहमा अवरोध बनेर बसेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेलाई यो कानुनी व्यवस्था पालना गराउन तुरुन्तै निर्देशन दिनु आवश्यक छ। आफ्नै कार्यविधिले अनिवार्य गरेको सूचना दैनिक रूपमा वेबसाइटमा राख्न नसक्ने हो भने नेप्सेले ‘आधुनिक बजार’ को दाबी गर्नुको कुनै अर्थ रहँदैन। लगानीकर्ताले खोजेको तथ्याङ्क हो, आश्वासन होइन। नेप्सेले साँचो अर्थमा बजारको विकास चाहेको हो भने अब ढिला नगरी मार्जिन ट्रेडिङको दैनिक विवरण सार्वजनिक गर्नैपर्छ।