मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने, कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्रको लगानी बढाउने उपायमा विशेष जोड दिने अपेक्षा गरिएको छ। नीतिलाइ पास गर्न अहिले राष्ट्र बैंककाे सन्चालक समितिकाे बैठक बसिरहेकाे छ ।
राष्ट्र बैंकले यसपटक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ नियामकीय प्रावधान भने नसमेट्ने तयारी गरेको स्रोतले जनाएको छ। नियामकीय व्यवस्थामा आवश्यक संशोधनहरू मौद्रिक नीतिमार्फत नभई एकीकृत निर्देशन तथा अन्य नियामकीय व्यवस्थामार्फत क्रमशः ल्याइने जनाइएको छ।
सरकारले सार्वजनिक गरिसकेको बजेटसँग तालमेल मिलाउँदै आउने मौद्रिक नीतिमा बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताको व्यवस्थापन, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, ब्याजदरलाई थप सहज बनाउने, साना तथा मझौला उद्यमलाई सहजीकरण गर्ने तथा निजी क्षेत्रको मनोबल बढाउने विषयलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
पछिल्लो समय सुस्त बनेको कर्जा विस्तार, कमजोर लगानी वातावरण र आर्थिक गतिविधिलाई गति दिने उद्देश्यसहित राष्ट्र बैंकले लचकदार तथा बजारमुखी नीति ल्याउने तयारी गरेको बताइएको छ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। मौद्रिक नीति सार्वजनिक भएपछि त्यसमा समेटिएका व्यवस्थाले बैंकिङ क्षेत्र, पुँजी बजार, व्यवसाय तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।