बर्डफ्लूको बहानामा व्यापारीको ‘लुटधन्दा’– १८०० सम्म पुर्‍याइयो खसीको मासु, मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल

Jul 09, 2026 05:56 PM Merolagani



हरिप्रसाद शर्मा
पछिल्लो दुई सातादेखि काठमाडौं उपत्यकालगायत देशभर नै खसीबोकाको तयारी मासुको मूल्य ह्रवात्तै बढेको छ ।

लामो समयदेखि करिव स्थिर अवस्थामा रहेको मासुको मूल्य बढ्दा निम्न आय भएका उपभोक्ताहरु मारमा परेका छन् ।

काठमाडौं उपत्यकामा यसअघि प्रतिकिलो १४०० रुपैयाँ सम्म पर्ने खसीबोकाको तयारी मासुको मूल्य यतिबेला बढेर १६०० देखि १८०० रुपैयाँसम्म पुगेको छ । व्यवसायीका अनुसार, यसरी खसीबोकाको मासुको मूल्य बढ्नुको कारण काठमाडौं उपत्यकालगायतका जिल्लामा कुखुरामा देखिएको बर्डफ्लू मुख्य कारण देखिएको छ ।

बर्डफ्लूको हल्लाका कारण कुखुराको मासुको बिक्रिमा कमी आउनुका साथै ती उपभोक्ताहरु समेत खसीबोकाको मासुतर्फ सिफ्ट भएका कारण पनि मूल्य बढेको कतिपय व्यवसायीको भनाइ छ ।बर्डफ्लूको बहानामा व्यवसायीहरुले पसल पिच्छे मासुको मूल्य बढाइरहेका छन् । कतै १६०० रुपैयाँ प्रतिकेजी मासुको मूल्य तय गरिएको छ भने कतिपय मासु पसलहरुमा भने १८०० रुपैयाँसम्म पनि मूल्य पुगेको छ ।

के बर्डफ्लूका कारण मात्रै मूल्य बढेको हो ?

खसीबोका व्यवसायीका अनुसार, मूल्य बढ्नुका पछाडि बर्डफ्लूको हल्लासँगै अन्य केही कारणहरु पनि छन् । त्यसमध्ये पहिलो कारण हो, स्वदेशमै खसीबोकाको उत्पादन कम हुनु । बढ्दो बसाइसराइ र सहरीकरणका कारण गाउँ गाउँमा खसीबोका नपाइने र मागअनुसार आपूर्ति नभएका कारणले पनि मूल्य बढेको नेपाल चौपाया खरिदबिक्रि महासंघका अध्यक्ष जीवनराज खतिवडाले बताए ।

‘मूल्य बढ्नुको मुख्य कारण उत्पादक कम हुनु नै हो । त्यसमाथि बर्डफ्लूको हल्लाले पनि केही माग बढायो,’ उनी भन्छन, ‘विगतका वर्षहरुमा जस्तो खसीबोका नै पाइदैन् । दैनिक ६/७ सय खसीबोकाको खपत हुने गरेकोमा अहिले खसीबजारमा मुस्किलले ३/४ सय खसीबोका ल्याउन पनि मुस्किल छ ।’

उनले खसीबोकाको मूल्य बढ्नुका पछाडि अन्य कारणहरु पनि खुलाए । अघिल्लो वर्षदेखि नै सरकारले भारतबाट आयात हुने खसीबोकाको स्वास्थ्य परिक्षण गरी क्वारेन्टाइन सर्टिफिकेट ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

भारतबाट नै क्वारेन्टाइन सर्टिफिकेट बनाएर ल्याउन निकै झन्झट, महंगो र लामो समय लाग्ने गरेकाले बाहिरबाट खसीबोका आयात करिब ठप्प जस्तै रहेको उनी बताउँछन् ।

‘अघिल्लो वर्षदेखि नै भारतबाट आउने खसीबोकाको हकमा क्वारेन्टाइ सर्टिफिकेट बनाएर ल्याउनुपर्ने व्यवस्था छ, त्यो ल्याउन निकै अप्ठ्यारो र झन्झटिलो छ । जसका कारण भारतबाट खसीबोका आएका छैनन्,’ खतिवडाले मेरो लगानीसँग बताए । उनका अनुसार, नेपालको तुलनामा भारतीय बजारमा पनि खसीबोकाको मासुको मूल्य बढी नै रहेको छ ।

उनका अनुसार, स्वदेशी खसीबोकाको ढुवानीको समस्या पनि उत्तिकै छ । किसानहरु यतिबेला खेतीपातीमा व्यस्त रहेका छन् । उनीहरु खसीबोकाको बिक्रि गर्नुभन्दा पनि खेतीपाती स्याहारमा लाग्नुपर्ने, सडकमार्ग हुँदै ढुवानी गर्नुपर्दा बर्खायाममा बाढी, पहिरोको समस्या, सुरक्षा निकायद्धारा चेकचाँज तथा अवरोधलगायतका कारणहरु पनि छन् ।

खतिवडाका अनुसार, पछिल्लो समय स्वदेशमा उत्पादित खसीबोकाहरु अबैध रुपमा भारतीय बजारसम्म पुग्ने गरेका छन् । खासगरी, सीमावर्ती जिल्लाका किसानले काठमाडौं लैजानभन्दा बरु खुल्ला सीमानाका हुँदै भारतीय बजारमा लैजाने गर्दा पनि मागअनुसार खसीबोका आपूर्ति नभएको उनी बताउँछन् ।

‘अर्को समस्या, सीमावर्ती जिल्लाका खसीबोका काठमाडौं आउँदैनन् । त्यहाँका किसान वा व्यापारीहरुले भारतीय बजारसम्म पुर्याउँछन्,’ उनले भने, ‘यसले पनि स्वदेशको मागअनुसार खसीबोकाको आपूर्ति हुन सकेको छैन् ।’

माग २५ हजार खसीबोकाको, आपूर्ति १० हजार

व्यवसायीका अनुसार, काठमाडौं उपत्यकाभित्र प्रतिमहिना झन्डै २५ हजार खसीबोकाको माग हुने गरेको छ । तर, पछिल्ला महिनाहरुमा मागभन्दा निकै कम मात्रामा खसीबोका आएका छन् । कलंकीलगायत उपत्यकाका खसीबजारमा प्रतिमहिना मुस्किलले १० हजार खसीबोका मात्र आउन सकेका छन् ।

 

खसीबजारका व्यापारीहरुले पनि मागअनुसार खसीबोका ल्याउन नसकेको बताएका छन् । ‘माग जति बढे पनि खसीबोका नै पाइँदैन, ३०० खसीबोकाको माग आए, व्यापारीले मुस्किलले १०० वटा मात्र ल्याउन सक्ने अवस्था छ ।’

झारा टार्ने अनुगमन, भएन मूल्यवृद्धि नियन्त्रण

पछिल्लो पटक बजारमा खसीबोकाको तयारी मासुको मूल्य बढेको गुनासोसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित विभागले उपत्यकाभित्रका केही खसीबजार र मासु पसलमा छड्के अनुगमन गरेको छ । कलंकी, टुकुचालगायतका खसीबोमा गएर विभागले अनुगमन गरेपछि पनि मासुको मूल्य नियन्त्रणमा आउन सकेको छैन् ।

खसीबोकाको मासुको मूल्यवृद्धि भएको गुनासोपछि विभागले अनुगमन गरेको विभागका सूचना अधिकारी अनिल किरातीले बताए । उनका अनुसार, बर्डफ्लूको हल्ला र भारतबाट खसीबोका नआएकाले व्यापारीले मूल्यवृद्धि गरेका छन् ।

विभागको झारा टार्ने प्रकृतिको अनुगमनले न मूल्यवृद्धि नियन्त्रणमा आउन सक्यो न त मूल्यवृद्धि गर्ने व्यापारीउपर कारबाही नै । बढेको मूल्य किसान पाएका छन् कि विचौलिया व्यापारीले लुट्ने काम गरेका छन् ? त्यो कुरा समेत विभागले निक्याेल गर्न सकेको देखिँदैन् ।

दशैंमा झनै अभाव हुने संकेत

हाल स्वदेशमा खसीबोका नपाइने समस्याले आउँदो दशैंका बेला अभाव झनै हुने देखिएको छ । खतिवडाका अनुसार, दशैंका बेला अन्य बेलाभन्दा बढी खसीबोकाको माग हुने गरेको छ ।

त्यतिबेला आवश्यक पर्ने खसीबोका नपाइने र झनै अभाव हुने उनको बुझाइ छ । महासंघले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस् निर्णय नभएको उनको बुझाइ छ । नेपालीहरुको महान पर्व दशैंमा अन्य बेलाभन्दा मासुको खपत बढी हुने गर्छ ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ