आफ्नो पूर्वघोषित कार्यक्रम अनुसार लगानीकर्ताहरू मंगलबार बिहानै खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय र नेपाल स्टक ब्रोकर एसोसिएसनको कार्यालय पुगेका थिए। उनीहरूले यी दुवै निकायमा ताला लगाउने तयारी गरेका थिए। तर, लगानीकर्ताहरू पुग्नु अगावै ठूलो संख्यामा तैनाथ गरिएका सुरक्षाकर्मीका कारण उनीहरूको तालाबन्दी गर्ने प्रयास असफल भएको छ।

लगानीकर्ताका नेता तिलक कोइरालाको नेतृत्वमा जम्मा भएका ६०-७० जनाको समूहले धितोपत्र बोर्डको गेटमा धर्ना दिइरहेको छ। प्रहरीले गेटमा सुरक्षा घेरा हालेर लगानीकर्तालाई भित्र छिर्न नदिएपछि केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। यस क्रममा लगानीकर्ताहरूले "पूँजी बजारलाई बचाउ", "तत्काल रेस्क्यु प्लान लागू गर" र "नियामक निकाय मुकदर्शक बन्न पाउँदैन" जस्ता नाराहरू लगाएका थिए।
आन्दोलनका नेतृत्वकर्ता तिलक कोइरालाका अनुसार यो केवल सामान्य विरोध प्रदर्शन मात्र नभई बजार बचाउनका लागि चालिएको बाध्यकारी कदम हो। "हामीले ताला लगाउन खोजेका थियौँ, तर प्रहरीले नै गेटमा बसेर पहिल्यै तालाबन्दी जस्तो गरिदियो," उनले भने, "हाम्रो माग भनेको बजारका लागि तत्काल 'रेस्क्यु प्लान' (उद्धार योजना) ल्याउनु हो। सरकार र बोर्डले दुई वर्ष वा एक वर्षमा यो गर्छौँ भनेर अल्झाउने समय अब छैन, हामीलाई अहिले नै ठोस समाधान चाहिएको छ।"
पछिल्लो समय शेयर बजारको परिसूचक (नेप्से) मा आएको निरन्तरको गिरावटले लगानीकर्ताको मनोबल निकै खस्किएको छ। मौद्रिक नीति र नियामक निकायका कतिपय नीतिगत व्यवस्थाका कारण बजार ओरालो लागेको लगानीकर्ताहरूको बुझाइ छ। उनीहरूले तत्काल नीतिगत सुधार नगरे र बजारलाई थप घट्नबाट नरोके आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका छन्।
अहिले धितोपत्र बोर्ड आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ भने लगानीकर्ताहरू आफ्ना माग पूरा नभएसम्म दबाब जारी राख्ने अडानमा छन्। यता धितोपत्र बोर्डले भने बजारको सुधारका लागि आन्तरिक रूपमा काम भइरहेको र संयमता अपनाउन लगानीकर्तालाई आग्रह गरेको छ। तथापि, ठोस योजना नआएसम्म लगानीकर्ताहरू पछि हट्ने संकेत देखिएको छैन।