विश्व राजनीतिमा प्रधानमन्त्रीको ‘गेटअप’लाई एउटा मौन राजनीतिक भाषाका रूपमा हेरिन्छ। प्रधानमन्त्रीले कुन रंगको कोट लगाउछन्, टाई बाँध्छन् वा बाँध्दैनन्, राष्ट्रिय पोशाक रोज्छन् वा पश्चिमी सूट,दाह्री राख्छन् वा सफाचट अनुहार यी सबैले मतदाता, कूटनीतिज्ञ र अन्तराष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक सन्देश प्रवाह गर्छन्
राजनीतिशास्त्रीहरू यसलाई ‘भिजुअल पोलिटिक्स’ वा ‘ड्रेस डिप्लोमेसी’ भन्छन् । अर्थात बोल्नुअघि नै नेताको पहिरनले उनी कस्ता नेता हुन् भन्ने प्रारम्भिक सन्देश दिन्छ ।
विसं २००७ साल यताका हरेक कालखण्डमा प्रधानमन्त्रीहरूको ‘गेटअप’ र शैलीमा आएको परिवर्तनले नेपालको अर्थ-राजनीतिक कथा आफैं बोल्छ ।
१. दौरा सुरुवाल र ढाका टोपीः राष्ट्रवादको ‘परम्परागत’ पहिचान
२००७ देखि २०४६ सम्मका प्रधानमन्त्रीहरूको तस्वीर हेर्दा एउटा समानता स्पष्ट देखिन्छ—सबैजसो सेतो दौरा–सुरुवाल, ढाका टोपी र कालो कोट लगाउँथे ।
यसका पछाडि केही प्रमुख कारण थिए ।
पहिलो, राष्ट्रिय पोशाकलाई राज्यको गरिमा मानिन्थ्यो । राजदरबारको प्रोटोकलअनुसार औपचारिक कार्यक्रममा राष्ट्रिय पोशाकलाई उच्च प्राथमिकता दिइन्थ्यो । दौरा–सुरुवाल पनि केवल सांस्कृतिक पोशाक होइन, राज्यसत्ताको औपचारिक पोशाकका रूपमा स्थापित भइसकेको थियो।
त्यतिबेला सरकारी समारोहमा ढाका टोपी नलगाउने उच्च पदाधिकारी दुर्लभ हुन्थे ।
त्यसैले प्रधानमन्त्रीहरूबीच शैलीमा सानो अन्तर देखिए पनि मूल संरचना एउटै थियो दौरा–सुरुवाल, ढाका टोपी, कालो कोट र गम्भीर सार्वजनिक प्रस्तुति ।
त्यो समय प्रधानमन्त्रीको पोशाकले शक्ति प्रदर्शनभन्दा जिम्मेवारी र राष्ट्रिय पहिचान झल्काउनुपर्छ भन्ने मान्यता बलियो थियो । आज जस्तो प्रत्येक कार्यक्रममा नयाँ पहिरन लगाउने संस्कृति त्यतिबेला थिएन । 
प्रधानमन्त्रीले विदेशी पाहुनासँग भेट्दा पनि नेपाली पहिचान झल्काउने अपेक्षा गरिन्थ्यो । दोस्रो, त्यसबेला व्यक्तिगत ‘ब्राण्ड’लाई भन्दा संस्थागत मर्यादालाई प्राथमिकता दिइन्थ्यो । चर्चित देखिनुभन्दा पदको नेताको गरिमा जोगाउनुपर्छ भन्ने सोच बलियो थियो ।
तेस्रो, आर्थिक पक्ष पनि एउटा महत्वपूर्ण कारण थियो । आम नेपाली गरिबीको चपेटामा थिए । उनीहरुको लागि वर्षमा एक पटक दशैंमा एकजोर नयाँ जुत्ता किन्न पनि मुस्किल पर्दथ्यो । नेताहरु पनि अहिलेका जस्ता धनी थिएनन् । महँगा ब्रान्डका लुगा, डिजाइनरको चलन थिएन । एउटै कोट वा दौरा–सुरुवाल पटक–पटक लगाउनु सामान्य मानिन्थ्यो ।
२. सूट टाईको प्रवेशः पोशाकमा उदारता, कुटनीतिमा नयाँ प्रयोग
२०५० को दशकपछि नेपालको राजनीतिमा उदारवादी धार बलियो भयो । शेरबहादुर देउवा लगायतका धेरै नेताहरूले अन्तराष्ट्रिय मञ्चमा आफूलाई ‘ग्लोबल लिडर’का रूपमा उभ्याउन सूटटाईलाई प्राथमिकता दिए ।
यो कालखण्डका नेताहरू समयसापेक्षतामा विश्वास गर्दथे । विकासको ‘पश्चिमा मोडल’ बाट प्रभावित थिए र उनीहरु युरोप, अमेरिकाका नेताहरुको देखासिकी गर्दथे । उनीहरूको पहिरनले संकेत गथ्र्याे नेपाल आधुनिक विश्वसँग जोडिन चाहन्छ । यहाँ स्वभावमा ‘लचकता’’ र ‘कूटनीतिक आधुनिकता’ प्रमुख थियो।
प्रधानमन्त्रीहरू अब दरबारका औपचारिक समारोहभन्दा गाउँ, बजार, पार्टीसभा, पत्रकार सम्मेलन र जनसमुदायका कार्यक्रममा बढी देखिन थाले । यसका कारण उनीहरूको पहिरनमा पनि परिवर्तन आयो । दौरा–सुरुवालसँगै कोट–पाइन्टको प्रयोग बढ्न थाल्यो । विदेश भ्रमणमा सूट–टाई लगभग अनिवार्यजस्तै बन्यो। अंग्रेजी भाषाप्रतिको मोह हवात्तै बढ्यो ।
पत्रकार सम्मेलनमा कहिलेकाहीँ खुला कलरको सर्ट पनि स्वीकार्य हुन थाल्यो ।नेताहरू नागरिकसँग हात मिलाउने, भीडमा जाने र सहज रूपमा घुलमिल हुने शैलीमा देखिन थाले । पहिरन अब केवल परम्पराको विषय रहेन, सार्वजनिक छवि निर्माण गर्ने माध्यम पनि बन्दै गयो ।
३. विद्रोही शैलीः ‘सामन्ती’ पहिरन बहिस्कारको अभियान
२०६२-६३ को जनआन्दोलन र त्यसपछिको माओवादी राजनीतिको उदयले प्रधानमन्त्रीको ‘ड्रेस कोड’मा ठूलो हलचल ल्यायो । प्रचण्ड र बाबुराम भट्टराईले दौरा सुरुवाललाई ‘सामन्ती पोशाक’ भन्दै बहिष्कार गरे । २०६५ सालमा प्रचण्डले प्रधानमन्त्री पदको सपथ लिंदा दौरा सुरुवाल नलगाई कोर्ट पाइन्ट लगाएर गरे । मन्त्रीहरुले पनि त्यसैगरि सपथ लिए । नेपालको इतिहासमा पहिलो पटक दौरा, सुरुवाल नलगाई प्रधानमन्त्री र मन्त्रीहरुले सफथ लिएको ‘रेकर्ड’ बन्यो । पछि माओवादीकै तर्फबाट प्रधानमन्त्री भएका डा. बाबुराम भट्टराईले पनि त्यही क्रमलाई निरन्तरता दिए ।
प्रचण्डको ‘जेल तेल’ लगाएर माथितिर फर्काएको कपाल, सर्टपाइन्ट वा बाबुरामको कटराजको चुच्चे टोपीसहितको सफारी सुटले ‘पोशाक क्रान्ती’ शुरु गरेको कतिपय विश्लेषकहरुले दावि गरे । यद्यपि, सत्ताको खेलमा सामेल हुन थालेपछि उनीहरूले पनि परिस्थितिअनुसार दौरा सुरुवाल वा औपचारिक सुट अपनाए । अचेल प्रचण्डसहितका अधिकाँश उच्च तहका माओवादी नेताहरु औपचारिक कार्यक्रमहरुमा ‘सामन्ती पोशाक’ लगाउन थालेका छन् । माओवादी नेताहरुमा आएको यो परिवर्तनलाई एकथरि मानिसहरु उनीहरु राजनीतिकरुपमा कसरी स्खलित हुँदै गैरहेका छन् भन्ने कुराको प्रमाण भएको बताउने गरेका छन् भने अर्काेथरि नेताहरु उनीहरुले बल्ल राष्ट्रिय पोशाकको महत्व बुझेको बताउने गरेका छन् ।
४. नयाँ युगको ‘ब्रान्ड’: कालो सुट र कालो चश्माको मनोविज्ञान
अहिलेको परिवेशमा प्रधानमन्त्री बालेन्द्र शाहको प्रवेशसँगै नेपाली राजनीतिमा ‘पोशाकको नयाँ परिभाषा’ सुरु भएको छ । दौरा सुरुवालको साटो कालो पहिरन र कालो चश्मा उनको ट्रेडमार्क बनेको छ ।
यो शैलीले पुरानो पुस्ताको ‘परम्परागत ढर्रा’लाई ठाडै चुनौती दिइएको छ । कालो पहिरन, कम बोल्ने बानी र युवाकेन्द्रित सोचले उनलाई ‘रहस्यमय’ र ‘विद्रोही’ छविमा स्थापित गरेको छ । यो केवल फेसन नभई, परम्परागत राजनीतिक शक्तिहरू विरुद्धको मौन विद्रोह हो ।
नेपालका केही ‘स्टायलिश’ प्रधानमन्त्रीहरु
२०१७ साल अगाडिका प्रधानमन्त्रीहरु मध्ये डा. के आई सिंह र विपी कोइराला ‘हट ब्राण्ड’ थिए ।प्रधानमन्त्री डा.सिंह विद्रोही स्वभावका भए पनि दौरा–सुरुवाल, टोपी र कालो कोट नै उनको मुख्य ‘गेटअप’ थियो । त्यसमै पनि हिड्ने शैलीका कारण फेसन नगरि नै ‘फेसनेबल’ देखिन्थे ।
लामो जुँगा पाल्ने उनी आत्मविश्वासका साथ अगाडि बढ्ने, सीधा हेरेर कुरा गर्ने र सार्वजनिक कार्यक्रममा प्रभावशाली उपस्थिति दिने नेता मानिन्थे।
विपी कोइरालाः उनको अवस्था पनि केआई सिंहको जस्तै थियो उनी प्रायः सेतो दौरा–सुरुवाल, ढाका टोपी र साधारण कालो कोटमा देखिन्थे । तर त्यही साधारण पहिरनमा पनि उनी प्रभावशाली देखिन्थे । बोल्ने क्रममा आँखामा आँखा जुधाएर संवाद गर्ने बानीले उनको आत्मविश्वाससहितको नेतृत्व क्षमता लाई देखाउँथ्यो । राजनीतिक विश्लेषकहरूका अनुसार बीपीले राष्ट्रिय पोशाकलाई केवल परम्परा होइन, नेपालको सार्वभौम पहिचानका रूपमा प्रस्तुत गरेका थिए ।
सूर्यबहादुर थापाः दौरा सुरुवालमै ‘स्टाइलिस’ देखिन्थे । उनको व्यक्तित्व नै आकर्षक थियो । सधैं मिलाएर लगाएको दौरा–सुरुवाल, राम्रो फिटिङको कोट,चम्किला जुत्ता र सफा ढाका टोपी उनको पहिचान बन्यो ।
उनी सार्वजनिक कार्यक्रममा निकै आत्मविश्वासका साथ हिँड्थे । हातको हल्का संकेत, सन्तुलित चाल र अनुहारको गम्भीर भावले उनी प्रभावशाली देखिन्थे ।
पुष्पकमल दाहाल (प्रचण्ड): भूमिगत जीवनको सरलतादेखि प्रधानमन्त्रीको औपचारिक सूट र दौरा–सुरुवालसम्मको परिवर्तन, जेल लगाएर टिलिक्क टल्कने गरि माथितिर फर्काइएका कपाल दाह्री–जुँगा, दुई हात जोडेर औंलाहरु चलाइरहने स्वभाव र बदलिँदो छविको बारेमा माथि नै चर्चा गरिएको छ ।
झलनाथ खनालः औपचारिक कार्यक्रममा दौरा सुरुवालमा देखिने खनाल अनौपचारिक कार्यक्रमहरुमा भने प्रायः सफारी सुटमा देखिन्छन् । अग्लो शरिर, मिलेको ज्यान, गोरो अनुहार भएकोले उनी वास्तविकरुपमा सिनेमाको हिरो जस्तो लाग्थे, अझै पनि लाग्छन् । उनको सफारी सुटको बारेमा उनी २०४७ सालमा पहिलो पटक मन्त्री बनेदेखि नै एक प्रकारको राष्ट्रिय बहस जस्तै बन्ने गरेको थियो । कतिपय संचारमाध्यमले कम्युनिष्ट नेता भएर पनि वुर्जुवा नेताहरु भन्दा पनि ‘स्टायलिश’ देखिने गरेको, उनले लगाउने सुटहरु बेल्जियमबाट महंगो मूल्यमा ल्याइने गरेको आरोप लगाउने गरेका थिए ।
तर, यथार्थमा उनी सस्तो मूल्यका कपडाहरुलाई पनि आकर्षक सिलाई गरेर पहिरिने गर्छन् । नेपालको प्राकृतिक स्रोतहरुको बारेमा सबैभन्दा बढी गहन जानकारी राख्ने र गहन अध्ययनपछि बल्ल बोल्ने उनी सार्वजनिक कार्यक्रममा धेरै हाउभाउ प्रयोग गर्दैनन् । भाषण गर्दा पनि भावनात्मक नाराभन्दा वैचारिक विषयमा बढी केन्द्रित हुन्छन् ।
डा. बाबुराम भट्टराईः ढाका टोपी नलगाउने बौद्धिक प्रधानमन्त्री, खुला कलर, सरल कोट, औपचारिकताभन्दा कार्यशैलीमा जोडे गर्दथे । उनले प्रायः लगाउने कटराइजको चुच्चे क्याप ‘बाबुराम टोपी’को रुपमा चर्चित बनेको छ ।
बालेन: नयाँ पुस्ताको नेतृत्व शैली, औपचारिक सूटभन्दा स्मार्ट–क्याजुअल रोजाइ, अवसरअनुसार दौरा–सुरुवाल वा नेपाली पोशाकको प्रयोग, सामाजिक सञ्जालअनुकूल सार्वजनिक छवि, कम बोल्ने तर प्रतीकात्मक सन्देश दिने शैली, परम्परागत प्रधानमन्त्रीहरूको औपचारिकता र बालेनको अपेक्षाकृत अनौपचारिक, डिजिटल युगअनुकूल प्रस्तुतीकरणबीचको तुलना पनि समेटिनेछ।
सामान्य ‘गेटअप’लाई नै ‘ब्राण्ड’ बनाएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई
नेपालको इतिहासमा किर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सुशिल कोइराला त्यस्ता प्रधानमन्त्री थिए, जो ‘संसारिक चमकधमक’ मा विश्वास गर्दैनथे, कर्ममा विश्वास गर्दथे । कार्यकारी प्रमुख भएकोले प्रधानमन्त्री नै सबैभन्दा धेरै सरल र इमानदार हुनुपर्छ भन्ने मान्यतामा अडिग थिए । सत्ता टिकाउनको लागि गरिने छलकपटबाट निकै टाढा थिए ।
तर, उनीहरु भन्दा पनि पर कृष्णप्रसाद भट्टराई थिए । नेपालका प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा सरल जीवनशैली भएका नेताको नाम लिनुपर्दा धेरैले भट्टराईलाई सम्झन्छन् ।
उनको गेटअपमा कुनै कृत्रिमता थिएन । प्रायः सेतो दौरा–सुरुवाल, सामान्य कोट, ढाका टोपी र साधारण जुत्ता नै उनको पोशाक थियो । कतिपय कार्यक्रममा त उनी पुरानै कोट दोहोर्याएर लगाएको देखिन्थ्यो । पानका शौखिन भट्टराईको कारण नेपालमा पान खानेहरुको संख्या बढेको व्यवसायीहरु बताउँछन् ।
उनी महँगा घडी, विलासी कलम वा आकर्षक पहिरनका कारण कहिल्यै चर्चामा आएनन् । तर, उनको सादगीपूर्ण जीवन शैली नै आफैमा ‘फेसन’ बन्यो । भट्टराईसहित पूर्व प्रधानमन्त्रीहरु विष्ट, रिजाल, अधिकारी, कोइरालालाई सम्झना गर्दा उनीको साधारण पोशाकको पनि चर्चा हुने गर्छ । किनकी उनीहरुको पहिरनले दिने सन्देश निकै कडा र अर्थपूर्ण थियो (छ) नेताको प्रतिष्ठा महँगा कपडाले होइन, चरित्रले बनाउँछ ।
प्रधानमन्त्रीको ‘ड्रेस कोड’ अर्थात राजनीतिक घोषणापत्र
नेपालका प्रधानमन्त्रीहरूको पहिरन इतिहासलाई नियाल्दा एउटा कुरा प्रस्ट हुन्छ—पहिरन एउटा राजनीतिक घोषणापत्र हो। दौरा सुरुवालले परम्परा र निरन्तरता खोज्छ । सुट टाईले आधुनिकता र कूटनीति खोज्छ । कालो पहिरन र ‘क्याजुअल’ लुक्सले परिवर्तन र युवा मनोविज्ञानको प्रतिनिधित्व गर्छ ।
समय र सत्ताको मोडसँगै हाम्रा प्रधानमन्त्रीहरूको कपडा फेरिएका छन्, तर ती प्रत्येक कपडाले त्यो कालखण्डको समाजले ‘नेता कस्तो हुनुपर्छ’ भन्ने अपेक्षा गरेको छवि बोकेका छन् । आजको पुस्ताका लागि दौरा सुरुवाल ‘सम्मान’ हो भने कालो चश्मा र ज्याकेट ‘शक्ति र शैली’को नयाँ संकेत बनेको छ ।