पूँजी बजार सुधारमा बोर्डको अग्रसता, 'सर्ट सेलिङ’ सुरु गर्न नेप्से र सिडिएससीलाई निर्देशन

Jul 16, 2026 05:24 PM Merolagani



नेपाल धितोपत्र बोर्ड पूँजी बजारको विकास र विस्तारका लागि रणनीति अघि सारेको छ । बोर्डले हालै सार्वजनिक गरेको नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ र आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सरोकारवाला निकायहरूलाई ठोस निर्देशन दिएको हो ।

बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको उपस्थितिमा नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) र सिडिएस एण्ड क्लिरिङ्ग लि. (सिडिएससी) का उच्च पदस्थ पदाधिकारीहरूसँग भएको छलफलमा बजार सुधारका कामहरूलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

बोर्डले असार ३० गते सार्वजनिक गरेको मार्गचित्र र नयाँ नीतिमा पूँजी बजारमा नयाँ उपकरणहरूको प्रवेश र सेवा विविधीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ । छलफलका क्रममा अध्यक्ष डा. भट्टले नेप्से र सिडिएससीसँग सम्बन्धित नीतिगत बुँदाहरूलाई तत्काल कार्यान्वयनमा लैजानका लागि ठोस कार्ययोजना तयार गरी बोर्डमा यथाशीघ्र पेश गर्न निर्देशन दिए।

सर्ट सेलिङको तयारी सुरु गर्न निर्देशन

नेपाली शेयर बजारमा लामो समयदेखि प्रतिक्षित सर्ट सेलिङ सेवा सञ्चालनका लागि बोर्डले विशेष चासो देखाएको छ । अध्यक्ष डा. भट्टले सर्ट सेलिङ सेवा सुरु गर्नका लागि आवश्यक कानुनी सुधार, जनशक्ति व्यवस्थापन र प्राविधिक पूर्वाधारको आवश्यकता पहिचान गरी कार्य अगाडि बढाउन निर्देशन दिएका हुन् ।

“सर्ट सेलिङ सेवा सञ्चालनका लागि गर्नुपर्ने कानुनी र संरचनागत सुधारका लागि बोर्ड सबै प्रकारको सहजीकरण गर्न तयार छ । बजारलाई आधुनिक र प्रविधिमैत्री बनाउन नेप्से र सिडिएससीले अब ढिलाइ गर्नु हुँदैन,’’ छलफलका क्रममा अध्यक्ष भट्टले भने। 

छलफलमा नेप्से र सिडिएससीका पदाधिकारीहरूले बोर्डको नीति र मार्गचित्रलाई कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको जानकारी गराएका थिए । बजारमा नयाँ उपकरणहरू भित्र्याउँदा आउन सक्ने प्राविधिक चुनौतीहरू र त्यसको समाधानका उपायबारे पनि बैठकमा चर्चा भएको थियो ।

बोर्डको यो सक्रियतासँगै अबको केही समयभित्रै नेपाली पूँजी बजारमा नयाँ उपकरणहरूको सुरुवात हुने र बजारको गहिराई बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।