नयाँ सरकार गठन भएपछि पनि बजारमा अपेक्षित सुधार नदेखिएको भन्दै लगानीकर्तामा देखिएको आक्रोश र निराशाप्रति सचिवालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सचिवालयले शुक्रबार एक सन्देश जारी गर्दै पूँजी बजारका सूचकहरू सकारात्मक बन्दै गएको र बजार सुधारका लागि सरकारले ठोस कदम चालिरहेको स्पष्ट पारेको छ।
अर्थतन्त्रमा सुधार र नीतिगत व्यवस्था
सचिवालयका अनुसार हाल बजारमा पर्याप्त तरलता छ र बैंक ब्याजदर समेत घट्दो क्रममा रहेको छ। सरकारले नियमित र ठूलो आम्दानी गर्नेहरूलाई आयकरमा छुट दिएर खर्च र लगानी बढाउन प्रोत्साहित गर्ने नीति लिएको दाबी गरिएको छ। साथै, राजस्व विवादमा परेका हजारौँलाई ऐतिहासिक छुट सुविधामार्फत पुनः व्यवसाय सुरु गर्ने मौका दिइएको पनि सचिवालयले उल्लेख गरेको छ।
'हर्षद मेहता' प्रवृत्तिमाथि प्रहार
पछिल्लो समय शेयर बजारमा कृत्रिम हल्ला फैलाएर सर्वसाधारण लगानीकर्तालाई त्रसित बनाउने र अनुचित लाभ लिन खोज्ने समूह सक्रिय भएको भन्दै सचिवालयले चेतावनी दिएको छ। सन् १९९१ को मुम्बई शेयर बजारमा 'हर्षद मेहता'ले गरेको जस्तै वितण्डा मच्चाउन खोज्नेहरू अहिले अनुसन्धानको घेरामा रहेको र नियामक निकायले उनीहरूमाथि कडा निगरानी राखिरहेको जानकारी गराइएको छ।
अफवाहको पछि नलाग्न आग्रह
सरकारले कम बोल्ने तर काम धेरै गर्ने नीति लिएको भन्दै यसैको फाइदा उठाएर केही समूहले भ्रामक प्रचार गरिरहेको सचिवालयको ठहर छ। "फलानालाई पक्राउ गरिँदै छ वा अनुसन्धान हुँदै छ" जस्ता प्रायोजित हल्लाहरू फैलाएर बजारमा त्रास सिर्जना गरिएको भन्दै त्यस्ता सूचनामा विश्वास नगर्न लगानीकर्तालाई भनिएको छ।
सचिवालयले क्लब हाउस, ह्वाट्सएप, मेसेन्जर ग्रुप वा 'टाई-सुट' लगाएर हिँड्ने कथित विज्ञ र इमानदारी बेचेका मिडियाको कुरा सुनेर लगानीको निर्णय नगर्न सुझाएको छ। "आफ्नो टाउको फुटेपछि मितको टाउको बेर्न खोज्ने" प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै सचिवालयले भनेको छ, "शेयर बजारको दोस्रो बजारमा लगानी गर्नुपूर्व प्रशस्त अध्ययन गर्नुहोस् र आधिकारिक स्रोतबाट मात्र सूचना लिनुहोस्।"
नयाँ आर्थिक वर्षको शुभकामना
अर्थमन्त्रीको सचिवालयले लगानीकर्ताहरूलाई नआत्तिन र धैर्य गर्न आग्रह गर्दै आगामी नयाँ आर्थिक वर्षको शुभकामना समेत व्यक्त गरेको छ। सरकारले विज्ञ अर्थमन्त्री र पारदर्शी नेतृत्वमार्फत नियामक निकायहरूलाई बलियो बनाउँदै पूँजी बजार र लगानीकर्ताको हितमा काम गरिरहेको प्रतिबद्धता समेत जनाएको छ।