प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे हुने उक्त भेटमा हस्तकला क्षेत्रका जल्दा-बल्दा समस्या र सरकारले लिनुपर्ने नीतिका बारेमा विस्तृत चर्चा हुनेछ। छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, र उपाध्यक्ष किरण कुमार स्थापित सहभागी हुनेछन्। त्यसै गरी, महासंघका सल्लाहकार विकास रत्न ढाक्वा र नेपालबाट हस्तकला सामग्रीका शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठको पनि उपस्थिति रहनेछ।
हस्तकला व्यवसायीहरूले विशेष गरी कच्चा पदार्थको सहज उपलब्धता, निर्यातमा सरकारले दिने सहुलियत र नेपाली हस्तकलालाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेका छन्। नेपाली हस्तकलाले बर्सेनि अर्बौँ रुपैयाँको वैदेशिक मुद्रा आर्जन गर्दै आएको भए पनि दक्ष जनशक्तिको अभाव र आधुनिक प्रविधिको कम प्रयोगले गर्दा यो क्षेत्रले सोचेजस्तो फड्को मार्न सकेको छैन।
विभिन्न संघ संस्थासँगको भेटघाटमा तीव्रता
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको आर्थिक र सामाजिक विकासका लागि विभिन्न सरोकारवाला निकाय र संघ संस्थाहरूका प्रतिनिधिसँगको भेटघाटलाई तीव्रता दिएका छन्। यसअघि उनले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग भेट गरी निजी क्षेत्रका समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसै गरी, केही दिनअघि मात्र प्रधानमन्त्रीले निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग पनि छलफल गरेका थिए। उक्त भेटमा निर्माण क्षेत्रलाई व्यवस्थित बनाउने विषयमा गहन विमर्श भएको थियो। पूँजी बजार सँग सम्बन्धित व्यक्तित्वहरूसँग पनि प्रधानमन्त्रीले छलफल गरेका थिए।
प्रधानमन्त्रीको यो सक्रियतालाई निजी क्षेत्र र नागरिक समाजले सकारात्मक रूपमा लिएका छन्। सरकार र सरोकारवालाहरूबीचको निरन्तर संवादले नीति निर्माणमा व्यावहारिक सुझावहरू समेटिने र कार्यान्वयनमा सहजता आउने विश्वास गरिएको छ। आजको हस्तकला महासंघसँगको भेटले पनि ओझेलमा परेका मौलिक कला र सीपलाई पुनर्जीवन दिन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ।
नेपालको हस्तकला क्षेत्र केवल आर्थिक आर्जनको माध्यम मात्र नभई यो हाम्रो प्राचीन संस्कृति र सभ्यताको संवाहक पनि हो। त्यसैले, सिंहदरबारमा आज हुने यस छलफलले हस्तकला व्यवसायीका समस्यालाई सम्बोधन गर्दै निर्यातमुखी अर्थतन्त्रमा नयाँ इँटा थप्ने विश्वास लिइएको छ।