ठिक यही बेला सिंहदरबारको मूल ढोकाबाट शेयर बजारका 'महारथी' हरूको एउटा टोली भित्र पस्यो। टोलीमा सहभागी थिए धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल त्यसैगरी, बजारको गहिरो ज्ञान राख्ने नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ । भित्र पस्नेमा शेयर बजारका अनुभवी हस्तीहरू अम्बिकाप्रसाद पौडेल र प्रियराज रेग्मीको पनि उपस्थिति थियो।
जब बैठक कक्षमा शेयर बजारका हस्तीहरूको प्रवेश भयो त्यति बेला प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकक्षमा एउटा गम्भीर शान्ति थियो। बालेन आफ्नो कुर्सीबाट जुरुक्क उठे र सिधै प्रश्न गरे, "मैले के बिगारेँ र बजार यसरी रातो भयो? तपाईँहरूको समस्या के हो? किन समाधान भइरहेको छैन?"
प्रधानमन्त्रीको यो सीधा र अनपेक्षित प्रश्नले हलमा केही बेर मौनता छायो। ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले आफ्नो खल्तीबाट कागजको चिर्कटो झिके। जसमा प्रधानमन्त्रीसँग भेट गर्ने निम्तो पाए लगत्तै के के कुरा गर्ने भन्ने टिपोट थियो। त्यो केवल कागजमा लेखिएको टिपोट मात्रै थिएन, त्यो त वर्षौँदेखि थुनिएको शेयर बजारको 'निकास' को रोडम्याप थियो।
छलफलको सुरुवात गर्दै प्रधानमन्त्री बालेनले भने, "हामी निजी क्षेत्रमैत्री छौँ। यो धरपकड र डर देखाउने काम मेरो सरकारले गर्दैन। तपाईँहरू खुलेर बोल्नुस्, यो बजारलाई कसरी उकास्ने?"

छलफलमा सहभागी मध्येबाट एक जनाले भने "प्रधानमन्त्रीज्यू, हाम्रो बजार अझै ढुङ्गे युगको नियममा चल्दै छ। लगानीकर्ताले अहिले शेयर किनेपछि बेच्न तीन दिन कुर्नुपर्छ। हामीलाई 'इन्ट्रा-डे' (Intra-day) र 'सर्ट सेल' (Short Sale) को सुविधा चाहियो।" कुरा सुनेपछि प्रधानमन्त्रीले छेउमै रहेका सेबोनका अध्यक्ष गोपाल भट्टतिर हेरे। "भर्खरै मात्रै धितोपत्र बोर्डले मार्ग चित्र ल्याएको छ। त्यसमा यो विषय राखिएको छ। मैले नेप्से र सिडिएससिलाई यस विषयमा तयारी गर्न निर्देशन दिई सकेको छु," भट्टले भने। भट्टको उत्तरमा चित्त नबुझाउँदै प्रतिप्रश्न गरियो "मौखिक निर्देशनले हुँदैन। त्यसको लागि लिखित नै निर्देशन दिनु पर्छ।" भट्टले त्यस विषयमा केही नबोली "हामीले ४० प्रतिशत शेयर संस्थागत लगानीकर्तालाई दिने र ६ महिनाको लकइन राख्ने 'बुक बिल्डिङ' को तयारी गरेका छौँ।" भट्टले थपे, सागर ढकालले त्यति बेलै थपिहाले, "त्यतिले पुग्दैन। नयाँ कम्पनी आउँदा पहिलो दिनमै २० प्रतिशत शेयर कारोबार हुने वातावरण बन्नुपर्छ। तब मात्र वास्तविक 'प्राइस डिस्कभरी' हुन्छ। नत्र बजारमा शेयरको कृत्रिम अभाव सिर्जना हुन्छ।"
कुराकानी हुँदै जाँदा चर्चा नेपाल राष्ट्र बैंकको कसिलो नीतिमा मोडियो। "बैंकहरूले शेयरमा लगानी गरेपछि ६ महिना बेच्न नपाउने नियमले बजारको तरलता सुकाएको छ। साथै, शेयर धितो कर्जामा ५ प्रतिशतको न्यूनतम सीमा तोकिँदा लगानीकर्ताले ऋण पाउन छाडेका छन्। "प्रधानमन्त्री बालेनले यो कुरा सुन्ने बित्तिकै आफ्ना सहयोगीतिर हेर्दै भने, "यो त गम्भीर कुरा हो। म गभर्नर साबलाई बोलाएरै कुरा गर्छु। अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंक र सरकारको समन्वय हुनै पर्छ।"
बालेनको यो दृढताले बैठकमा उपस्थित ब्रोकर र लगानीकर्ताहरूमा एउटा नयाँ आशाको सञ्चार गरायो। बैठकमा सहभागी अर्का ब्रोकर प्रियराज रेग्मीले, "ब्रोकरलाई बैंकमार्फत 'होलसेल' कर्जा दिने व्यवस्था भयो भने हामी लगानीकर्तालाई मार्जिन सुविधा दिन सक्छौँ। यसले बजारमा पैसाको अभाव हुन दिँदैन," भने।
अम्बिका प्रसाद पौडेलले सबैभन्दा ठुलो 'भूत' अर्थात् पूँजीगत लाभकर (CGT) को कुरा उठाए। "सरकारले नाफा हुँदा कर लिन्छ, तर घाटा हुँदा समायोजन गर्दैन। यो त अन्याय भयो। ५ र ७.५ प्रतिशतको पुरानो करको दरमा लगानीकर्ता खुसी थिए, अहिलेको १० र ३३ प्रतिशतको वृद्धिको सन्देश नकारात्मक गयो," उनले भने। प्रधानमन्त्रीले यो विषयमा अर्थ मन्त्रालयका सचिवसँग तत्कालै क्रस-प्रश्न गरे। "यदि कसैले घाटा खाएको छ भने उसले नाफामा मात्र कर किन तिर्ने ? यसलाई वैज्ञानिक बनाउनुस्। इन्ट्रा-डे र सर्ट सेल गर्दा पनि करको स्पष्ट विधि चाहियो," बालेनले भने।
एक पछि अर्को कुरा राख्दै गर्दा समय बितेको पत्तै भएन। प्रधानमन्त्रीले एक पछि अर्कोको कुरा सुने। कुरा गर्दै जाँदा प्रधानमन्त्रीले थप क्रस कोइसन गर्दै गए। यति गर्दा गर्दै छलफल डेढ घण्टा लामो भइसकेको थियो।
डेढ घण्टाको त्यो सघन मन्थनपछि बाहिर निस्कँदा सागर ढकालको अनुहारमा एउटा सन्तुष्टि थियो। उनले रिपोर्टरलाई भने, "प्रधानमन्त्रीज्यू अत्यन्त सकारात्मक र जिज्ञासु हुनुहुँदो रहेछ। उहाँले प्रत्येक बुँदामा 'यो किन भएन?' भनेर क्रस-चेक गर्नुभयो।"
बैठकले नेप्सेको पुनर्संरचना, वैदेशिक रणनीतिक साझेदार भित्र्याउने र एनआरएन (NRN) हरूलाई दोस्रो बजारमा खुला गर्ने जस्ता ठुला योजनाहरूमा पनि सहमति जुटाएको छ।
सिंहदरबारबाट बाहिर निस्कँदा बजारका दिग्गजहरूले महसुस गरेका छन्–आज केवल एउटा बैठक भएको छैन, बरु शेयर बजारको नयाँ युगको शिलान्यास भएको छ। सागर ढकालले मुसुक्क हाँस्दै भनेका छन्, "हामीले दिएका ती सुधारका बुँदाहरू अब केवल कागजमा रहने छैनन्, बालेनको 'कमान्ड' मा ती कार्यान्वयनमा जानेछन्।"
नेप्सेको ग्राफ अब 'रातो झरी'बाट मुक्त भएर 'हरियो बिहानी' तिर मोडिने अपेक्षासहित शेयर बजारका हस्तीहरू सिंहदरबारबाट बिदा भए।