नेपाली सन्दर्भमा पनि कतिपय जलविद्युत वा लघुवित्त कम्पनीहरूको वित्तीय अवस्था कमजोर हुँदा हुँदै पनि मूल्य अचाक्ली बढेको देखिन्छ। हो यस्तो बेला लगानीकर्ताहरु सचेत हुन जरुरी छ । यस्तो अवस्थामा कम्पनीको फन्डामेन्टल (नाफा, जगेडा कोष, लाभांश क्षमता) बलियो छ वा छैन हेर्नु पर्छ वा बढ्नुको कारणलाई बुझ्न सक्नु पर्छ ।
मस्तिष्क पनि बजारमा फेल हुन सक्छन
विश्वका महान वैज्ञानिक सर आइज्याक न्यूटनले साउथ सी बबलमा आफ्नो सम्पत्ति गुमाएपछि भनेका थिए। “म आकाशीय पिण्डहरूको गतिको गणना गर्न सक्छु, तर मानिसहरूको पागलपनको होइन।’ यो भनाइ आजको नेपाली बजारका लागि पनि उत्तिकै सान्दर्भिक छ। धेरै सफल व्यक्तिहरू पनि बजारको हल्ला र लोभमा फसेर आफ्नो मिहिनेतको कमाई गुमाउन पुग्छन्। शेयर बजारमा सफल हुन आईक्यू भन्दा बढी ईक्यू अर्थात् आफ्ना भावनाहरूलाई नियन्त्रण गर्ने क्षमताको आवश्यकता पर्छ।
ऋणको जोखिम र २००८ को वित्तीय संकट
सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीको मुख्य जड नै अत्यधिक ऋण थियो। लेहम्यान ब्रदर्स जस्तो विशाल बैंक ढल्नुको कारण आफूसँग भएको पूँजीभन्दा ३० गुणा बढी ऋण लिएर लगानी गर्नु थियो।नेपालमा पनि शेयर धितो कर्जा लिएर लगानी गर्ने चलन व्यापक छ। बजार बढ्दा ऋणले नाफा त बढाउँछ । तर बजार घट्न थालेपछि यही ऋण मार्जिन कलको रूपमा काल बनेर आउँछ। त्यसैले, आफ्नो तिर्न सक्ने क्षमता भन्दा बढी ऋण लिएर शेयर बजारमा जुवा खेल्नु खतरनाक हुन सक्छ।

सामाजिक सञ्जालको भ्रम र गेमस्टप काण्ड
सन् २०२१ को गेमस्टप काण्डले देखायो कि कसरी इन्टरनेट र सामाजिक सञ्जालले बजारलाई प्रभावित पार्न सक्छन्। नेपालमा पनि अहिले फेसबुक, भाइबर र टिकटकका ग्रुपहरूमा ‘फलानो शेयर यति पुग्छ, आजै किन्नुस’ भन्दै हल्ला फैलाउने गिरोहहरू सक्रिय छन्। साना लगानीकर्ताहरू प्रायः यस्तै हल्लाको पछि लागेर उच्च बिन्दुमा शेयर किन्छन् र पछि बजार घट्दा फस्छन्। गेमस्टपमा साना लगानीकर्ताले जितेको देखिए पनि, अन्ततः धेरैले आफ्नो पूँजी गुमाएका थिए। त्यसैले, कसैको टिप्समा होइन, आफ्नै अनुसन्धानमा विश्वास गर्नुपर्छ।
धैर्यताको शक्ति र ब्ल्याक मन्डेको सिकाई
बजारमा चरम उतारचढाव हुँदा यसलाई अझ बढी व्यवस्थित र पारदर्शी बनाउनुपर्छ। प्रविधिको खराबीले गर्दा लगानीकर्तामा डर नफैलियोस् भन्नेमा सजग हुनुपर्छ। सन् १९८७ को ब्ल्याक मन्डे घटनाबाट केहि सिक्नु पर्छ। बजार जतिसुकै नराम्ररी घटे पनि त्याे अन्त्यत फर्कन्छ । सो दिन अमेरिकी शेयर बजार घटे पनि केही समयमै बजारले नयाँ रेकर्ड कायम गर्याे । नेपालको बजारमा पनि ११०० को विन्दुबाट १८०० र ३२०० सम्मको विन्दु हामीले देखिसकेका छौँ। बजार सधैं एउटै दिशामा जाँदैन। घट्दो बजारमा नआत्तिने र बढ्दो बजारमा नमात्तिने व्यक्ति नै वास्तविक लगानीकर्ता हो।
लगानीकर्ताले के गर्दा हुन्छ ?
१. दीर्घकालीन सोचः शेयर बजारलाई छोटो समयमा पैसा दोब्बर बनाउने ठाउँका रूपमा होइन। दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने माध्यमका रूपमा हेर्नुपर्छ। चक्रवर्ती ब्याजको फाइदा लिन धैर्यता अनिवार्य छ।
२. कम्पनीको विश्लेषणः शेयर किन्नु भनेको कुनै व्यवसाय वा कम्पनीको स्वामित्व लिनु हो। त्यसैले कम्पनीको व्यवस्थापन, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात र नेटवर्थ जस्ता सूचकहरूका विषयमा जानकार हुने।
३. विविधीकरणः दोस्रो बजारमा लगानी कर्ता सधै लगानी विविधिकरणमा ध्यान पुर्याउनु पर्छ । सबै अण्डाहरू एउटै बास्केटमा नराख्नु भन्ने उखान शेयर बजारमा पूर्ण लागू हुन्छ। आफ्नो लगानीलाई विभिन्न क्षेत्रहरूमा बाँडफाँड गर्दा जोखिम कम हुन्छ।
४. नियमित बचत र लगानीः एकै पटक ठूलो लगानी नगर्ने । बजारको उतारचढावलाई अनुमान गर्न गाह्रो हुन्छ। त्यसैले नियमित रूपमा थोरै–थोरै लगानी गर्नेअभ्यास गर्दा मूल्य औसत हुन्छ र जोखिम घट्छ।
५. नियामकको भूमिकाः लगानीकर्ताले बजारका नियमहरू नीति तथा निर्देशनहरू बुझ्नुपर्छ। शेयर बजारमा अवसर र जोखिम दुवै सँगै हुन्छन्। नेपाली बजार परिपक्क हुँदैछ। बुझेर लगानी गर्ने लगानीकर्ता सफल छन् । विश्वका ठूला घटनाहरूले सिकेको कुरा बजारको विषयमा जानकार नभई गरिने लगानी जुवा हो, र ज्ञान सहितको लगानी सम्पत्ति हो। नयाँ प्रविधि र नयाँ लगानीकर्ताहरूको आगमन भइरहेको छ। यस्तो बेला छिटो लाभ लिने हतारोमा धेरै जोखिम लिनु हुदैन । बजार घट्दा आत्तिने र बढ्दा हौसिने स्वभावलाई त्यागेर अध्ययनशील र धैर्यवान लगानीकर्ता बन्नु पर्ने देखिन्छ ।