बुधवार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गरे । आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै उनले यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिए । घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने बताउँदै उनले कुनैपनि अफवाह वा ‘कन्स्पिरेसी’ को पछि नलाग्न आग्रह गरे । विगतमा कुन परिस्थिति र विषयलाई लिएर आन्दोलन भएको थियो र अहिलेको अवस्था के हो भन्नेकुरा बुझ्न जरुरी रहेको बताए । बैठकमा राजनीतिक दलका शिर्ष नेताहरूले वर्तमान घटनाक्रमको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । प्रधानमन्त्री र गृहमन्त्रीले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गरिरहेको बताउँदै उनले राजनीतिक दलहरूले एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाउनुपर्ने बताए ।
उहाँले सामाजिक सद्भाव नभड्कियोस् भन्नेतर्फ सञ्चारकर्मीहरूलाई समेत संवेदनशील हुन र जिम्मेवारीपूर्वक सूचना संप्रेषण गर्न आग्रह गरे ।