प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो। आयोगद्वारा स्वीकृत कुल बजेटमध्ये ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजन भएको हो भने बाँकी ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ आयोगको आन्तरिक स्रोतबाट व्यहोरिनेछ। आयोगका अनुसार, गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आर्थिक वर्षमा विभिन्न स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ आन्तरिक मौज्दात रहेको छ। सोही मौज्दामधयेबाट चालु वर्षका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय बैठकले गरेको छ।
आन्तरिक स्रोतबाट खर्च हुने बजेटमध्ये चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो बजेटले चिकित्सा शिक्षाको गुणस्तर सुधार, नियमन र आयोगका प्रशासनिक एवं विकासका कामहरूमा खर्च गरिने आयोगले जनाएको छ।
प्रधानमन्त्री शाहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री, सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
बजेट स्वीकृत भएसँगै चिकित्सा शिक्षा क्षेत्रका शैक्षिक कार्यक्रमहरू र छात्रवृत्ति सम्बन्धी योजनाहरू कार्यान्वयन गर्ने बाटो खुला भएको छ।