नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार वर्षा र कटानका कारण कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही जोखिमपूर्ण खण्डहरूमा राति सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
पूर्ण रूपमा अवरुद्ध सडक खण्डहरूः
मेची राजमार्गः इलाम नगरपालिका–९ स्थित सडकखण्ड अत्यधिक वर्षाका कारण हिलाम्मे भई आवागमन पूर्ण रूपमा ठप्प बनेको छ।
अरनिको राजमार्गः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
पासाङ ल्हामु राजमार्गः रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि आवतजावत बन्द भएको छ।
लामासाँघु–रामेछाप सडकः दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गर्दा सवारी सञ्चालन हुन सकेको छैन।
लार्के–बेनीघाट सडकः गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा खसेको पहिरोले कच्ची सडक अवरुद्ध पारेको छ।
रात्रिकालीन यात्रामा प्रतिबन्धः
बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही सडकमा निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छः
बीपी राजमार्गः खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कान्ति लोकपथः यस सडकखण्डमा पनि बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ।
मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेको छ। त्यसैले यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न नेपाल प्रहरीले सबैमा आग्रह गरेको छ।