आईपीओ निष्कासनको तयारीमा एग्री केयर नेपाल, संस्थागत परामर्शदातामा नेपाल लाइफ क्यापिटल

Aug 14, 2026 01:53 PM Merolagani



कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आफ्नो पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि शेयर निष्कासनको तयारीलाई थप व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको हो।

चितवनको भरतपुर–४ स्थित एग्री केयर नेपालको कार्यालयमा सम्पन्न कार्यक्रममा कम्पनी र नेपाल लाइफ क्यापिटलबीच कर्पोरेट एडभाइजरी सर्भिसेस सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एग्री केयर नेपालका तर्फबाट अध्यक्ष रविन अधिकारी र नेपाल लाइफ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।

कम्पनीका अनुसार यो सम्झौतासँगै पूँजी बजारमा प्रवेश गर्ने तयारीलाई थप व्यवस्थित बनाइनेछ। साथै, सम्भावित आईपीओको आकार निर्धारण, पूँजी संरचनामा आवश्यक सुधार, कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र नियामकीय प्रक्रियाका लागि आवश्यक समन्वयलगायतका काममा नेपाल लाइफ क्यापिटलले परामर्श सेवा उपलब्ध गराउनेछ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट आफ्नो व्यवसाय सुरु गरेको जनाएको छ। सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएपछि कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको थियो।

पछिल्ला वर्षमा कम्पनीले क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्स मार्फत किसानलाई सेवा दिँदै आएको छ।

कम्पनीले किसानको उत्पादकत्व र बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य तथा दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको बताएको छ। किसानलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराउन विभिन्न प्रशिक्षण तथा किसान कल सेन्टर जस्ता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कम्पनीको भनाइ छ।

अब नेपाल लाइफ क्यापिटलसँगको परामर्शमार्फत एग्री केयर नेपालको पूँजी संरचना, वित्तीय अवस्था र सम्भावित आईपीओको तयारी अघि बढ्ने भएको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।