सोल्टी र कालिञ्चोकको चमकमा होटल उद्योगको मिश्रित चित्र: गत वर्ष अधिकांश पर्यटन कम्पनी ठूलाे दबाबमा

Aug 17, 2026 06:02 AM Merolagani



समग्र पर्यटन व्यवसाय नै थला पर्दा पनि सोल्टी र कालिञ्चोकले भने नाफाको नयाँ रेकर्ड रचेका छन्। होटल तथा पर्यटन समूहमा सूचीकृत कम्पनीहरूको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक हुँदा यस्ताे देखिएकाे हाे।

यस समूहका कम्पनीहरूले प्रस्तुत गरेको विवरणअनुसार समग्र पर्यटन तथा आतिथ्य क्षेत्रको व्यापारिक तथा वित्तीय प्रगतिमा मिश्रित चित्र देखिएको छ। केही सीमित कम्पनीहरूले आफ्नो नाफा र आम्दानीलाई आकर्षक रूपमा वृद्धि गर्न सफल भएका छन् भने अधिकांश कम्पनीहरू अझै पनि घाटाको अवस्थाबाट गुज्रिरहेका छन्।

समग्र समूहको औसत स्थिति हेर्दा होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको औसत चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ भने प्रतिशेयर आम्दानी समग्रमा ऋणात्मक देखिएको छ। समीक्षा अवधिमा यस क्षेत्रका कम्पनीहरूको औसत सञ्चालन आम्दानी ७३ करोड ७३ लाख रुपैयाँ रहेको छ भने औसत खुद नाफा पनि दबाबमा परेको छ।

यस त्रैमासमा सोल्टी होटल लिमिटेडले आफ्नो व्यावसायिक वर्चस्व कायम राख्दै सबैभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। सोल्टी होटलले यस अवधिमा ७६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४८ प्रतिशतले बढी हो। सोल्टीको कुल सञ्चालन आम्दानी पनि बढेर ३ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ६ दशमलव ४८ रुपैयाँ र रिजर्भ फण्डमा २ अर्ब १७ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ।

त्यस्तै, कालिञ्चोक दर्शन लिमिटेडले आफ्नो वित्तीय सूचकहरूमा अभूतपूर्व प्रगति हासिल गरेको छ। समीक्षा अवधिमा यस कम्पनीको खुद नाफा १०७ दशमलव ४८ प्रतिशतले बढेर ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको खुद नाफा २ करोड ७८ लाख रुपैयाँ मात्र रहेको थियो। कालिञ्चोक दर्शनको प्रतिशेयर आम्दानी बढेर ९ दशमलव १६ रुपैयाँ पुगेको छ भने यसको सञ्चालन आम्दानीमा पनि १२ दशमलव ५६ प्रतिशतको वृद्धि देखिएको छ।

चन्द्रागिरी हिल्स लिमिटेडको वित्तीय विवरण भने केही कमजोर देखिएको छ। समीक्षा अवधिमा चन्द्रागिरीको खुद नाफा ६० दशमलव ८९ प्रतिशतले घटेर ८ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले २१ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यसको कुल सञ्चालन आम्दानी पनि १३ दशमलव ८४ प्रतिशतले घटेर ७७ करोड ७५ लाख रुपैयाँमा झरेको छ। चन्द्रागिरीको प्रतिशेयर आम्दानी ५ दशमलव १२ रुपैयाँ रहेको छ।

सूचीकृत अन्य होटल तथा पर्यटन कम्पनीहरूको अवस्था भने यस त्रैमासमा घाटामा रहेको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले समीक्षा अवधिमा १ करोड ३६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ, यद्यपि यसको सञ्चालन आम्दानीमा भने १७२ दशमलव ४८ प्रतिशतको उच्च वृद्धि देखिएको छ। त्यसैगरी, सिटी होटल लिमिटेडले यस त्रैमासमा १७ करोड ३० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ भने होटल फरेस्ट इन लिमिटेडको घाटा २४ करोड ४५ लाख रुपैयाँ रहेको छ।

ओरियन्टल होटल्स लिमिटेडले पनि समीक्षा अवधिमा ४ करोड ७४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ, जबकि अघिल्लो वर्ष यसले २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो। यस समूहमा सबैभन्दा बढी घाटा तारागाउँ रिजेन्सी होटल लिमिटेडको देखिएको छ। तारागाउँ रिजेन्सीले समीक्षा अवधिमा ७० करोड ५७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ भने यसको वार्षिक प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ।

समग्रमा हेर्दा, सोल्टी होटल र कालञ्चोक दर्शनबाहेकका अन्य होटल तथा पर्यटन व्यावसायिक संस्थाहरूले चुनौतीपूर्ण आर्थिक वातावरण र उच्च खर्चका कारण नाफा आर्जनमा ठूलो दबाब महसुस गरेका छन्। पर्यटक आगमनमा भएको उतारचढाव र सञ्चालन खर्चको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।